युगल बसेलमेरा नातिनातिनाले गुरु / गुरु आमाबाट के सिकून् ?
मेरा लालावालाको दिव्य चक्षु जसको लाठी उसैको भैँसी हुन्छ भन्ने दिव्य ज्ञानले उघारीदिनुहोस् । यो एक्काइसौं शताब्दीमा ज्ञान , विवेक र तर्कले हैन बरु बलमिच्याईँले प्रतिस्पर्धीको वा विरोधीको रामधुलाई गरेर अघि बढ्नुपर्छ भन्ने अमृतमय जीवनकला सिकाइदिनुहोस् ।

युगल बसेल :
सावाँकोभन्दा ब्याजको माया भन्छन् । मलाई पनि छोराछोरीको भन्दा अझ बढी माया आँखाका नानी बनेका नातिनातिनाको लाग्छ । उनीहरुले विभिन्न कौशल सिकून् भन्ने मेरो तीव्र इच्छा छ। उनीहरूको पहिलो पाठशाला अर्थात् घरमा मैले चाहेका खुबी उनीहरूलाई हासिल गराउन म र मेरो परिवार कामयाब नभएकै हो, असफल भएकै हो । यो तीतो सत्यलाई स्वीकार्दै मैले तपाईँ गुरु गुरुमाका हातमा यी कलिला मुना सुम्पदै छु । अरुका इच्छालाई तुच्छ र मेरो इच्छालाई उच्च ठानिदिनुहोला भन्दै यो फरमान जारी गर्दैछु, पढी बाँची बुझी लिनुहोला ।
मेरा नातिनातिनाले शिक्षक सेवा आयोग पास गरी प्रतिस्पर्धामा खरो उत्रेर आएका गुरुगुरुमा भएको पाठशालामा भन्दा २० किलो तौलका किताब भएको झोला केटाकेटीलाई बोकाउने र चर्को शुल्कले अभिभावकको ढाड सेकाउने निजी पाठशालाहरू नै गुणस्तरीय शिक्षा दिन सक्षम छन् भन्ने सिकून् । जिन्दगीको अनेक थरी बोझ उठाउने अभ्यासको सुरुवात शिशुहरूले किताबको भारी बोकेर गरून् र ज्ञानको तौल बढाउने कलामा पछि परे पनि उनीहरूका सन्तान पुस्तकको तौल उठाउने कलामा पछि नपरून् भन्ने कुरामा उनीहरुलाई सतर्क गराइदिनुहोस् । मूल्य नतिरी सित्तैमा पाइने कुरा कहिल्यै पनि स्तरीय हुन्न भन्ने कुराको छाप उनीहरूको कलिलो दिमागमा राम्ररी पारिदिनुहोस् ।
मेरा भुराले स्वाभिमानी बन्ने चेष्टा कहिल्यै नगरून् किनकि त्यस्ता मनुवाको मुलुकमा खैरियत छैन । खुसामदी, चापलुसी र चाकरीमा प्रवीण नभई शक्तिमानहरूको प्यारो भएर आफ्ना काम पटाउन सकिन्न वा भनौ अरूको मन जित्न सकिन्न भन्ने कुरा तपाईँहरूबाट उनीहरुले राम्ररी बुझून् । तपाईँहरूले उनीहरूलाई यस्तो चापलुसी कलाले युक्त बनाइदिनुहोस् कि उनीहरू आफूलाई जमानाअनुसार सामर्थ्यवान्, भूमिकावान् र भाग्यवान् बनाउन सकून् । प्रज्ञा र कौशल अनुसार , आफूभित्रको ल्याकत र क्षमता अनुसार, विवेचन र तर्क क्षमता अनुसार सामर्थ्यवान हुन सकिन्छ भन्ने भूल भुलैयामा उनीहरु नपरून् ।
तपाईँहरूले हाम्रा मसिनाहरूलाई सानैदेखि नै १२ पासपछि विदेशको आसतिर लागिहाल्नुपर्छ भनेर सिकाइदिनुहोस् । यो मुलुकमा बसेर अरूले उन्नति गरेको टुलुटुलु हेर्नेतिर नलागी घरबारी बेचेर वा रिनपान गरेर , उफ्रिएर, घुस्रिएर जसरी हुन्छ मुग्लानी हुने विवेक उनीहरूको खप्परमा घुसाइदिनुहोस् । अत्यन्त महत्वाकांक्षी उनीहरूका बाजेबजै र बाबुआमाका जोरीपारी बैरी विरोधीको मेख मार्नका लागि महँगा मोबाइल र अटोमोबाइल किनिदिने दायित्व तिमीहरूकै हो भनेर उनीहरूलाई राम्ररी दीक्षित बनाइदिनुहोस् । ससुराल जाँदा मागेका जुत्ता खोकिलामा च्यापी ससुराली गाउँ आइपुगेपछि मात्र खोकिलाका जुत्ता पाउमा सिउरीने तिनका बाजेलाई बिएमडब्लु १२ ब्रान्डको गाडी किन चाहिएको होला भन्ने खुल्दुली उनीहरूको मनमा कदापि रगमगिन नदिनुहोस् । भलै विदेश गएर कमाउन थालेपछि उनीहरूले यता सुको नपठाउन् तैपनि तिमीहरूले आफ्ना अभिभावकहरूको लागि डलरका बिटा कमाइदिनुपर्छ भनेर उनीहरूको दिमागमा शुल्का भर्न नछुटाइदिनुस्।
यी लालाबालालाई ओठको दुध नसुक्दै विभिन्न हतकण्डा जानेका, इमान जमानलाई अनावश्यक ठानेका संगठनहरूमा लाग्न र झालेमाले समूहमा बाँडिन सिकाइदिनुहोस् । राजनीतिक दलका कार्यक्रममा सानैदेखि सहभागी हुने तीव्र लालसा उनीहरूमा जगाइदिनुहोस् । सुकिला लुगा लाएको, मिठोमसिनो खाएको र धन जताततै बिछाएको कल्पनामा रमाउन उनीहरूलाई सिकाइदिनुहोस् । नेताहरूले खटाएको बेला आफ्ना सँगीसाथीका खप्पर खोजी खोजी फोर्न समेत पछि पर्नुहुन्न भनेर उनीहरुलाई दह्रो पारी उभ्याइदिनुहोस् । बालालाई जङ्कफुड जहर हो भनेर कहिल्यै अर्ती नदिनुहोस् । चाउचाउ, चिप्स र चिजबल जस्ता दोकानीका माल रित्ताउने कला उनीहरूमा राम्ररी खाँदिदिनुहोस् ।
हाम्रा आलाकाँचालाई सानैदेखि माया प्रितिका गान बजानामा कम्मर मर्काउन सिकाइदिनुहोस् अझ सकेसम्म बढी छिमेकी मुलुकका फिल्मी गीतमा उफ्रिन उनीहरूलाई काबिल बनाइदिनुहोस् । अरली काँडैले मलाई च्वास्सै च्वास्सै वा मलाई बिस्तारले पोल्यो, मलाई पल्लारे साइँलोले … भन्ने जस्ता गीतमा मट्की मट्की नाच्न उनीहरुलाई अभ्यस्त बनाइदिनुहोस् । राष्ट्रिय गीतमा वा बालगितमा नजानी नजानी हल्लिए मात्रै पुग्छ भन्ने सत्यवचन उनीहरूको दिमागमा घुसाइदिनुहोस् ।
यी बच्चाबच्चीमा हाम्रो नेपाली भाषा संस्कृति बेकम्मा हो भन्ने छाप राम्ररी पारिदिनुहोस् । भाषा माध्यम हो,साध्य होइन भन्ने सत्य तथ्य भुलेर पनि उनीहरूको दिमागमा नरोपीदिनुहोस् । टुटेफुटेको भए पनि वा व्याकरणबाहिरको भए पनि अंग्रेजी फलाक्न सक्नु नै ठूलो खुबी हो भन्ने पराइ भाषा प्रतिको दासता भाव उनीहरूमा राम्ररी जगाइदिनुहोस् ।
मेरा नानीहरूको व्यावहारिक पाटोमा पटक्कै चासो नराखिदिनुहोस् । खाँचो परेको बेला एउटा मामुली निवेदन लेख्न पनि खेतालो खोज्ने विशिष्ट कला उनीहरूमा खाँदीखाँदी भरिदिनुहोस् । चाहिएमुताबिकको कागजपत्रको सृजना गर्न नसके पनि रटिरटाउका नमुना ढाँचाहरू फरर भन्न सक्ने उत्कृष्ट कौशलमा उनीहरुलाई प्रवीण बनाइदिनुहोस् । राज्यको शिक्षा नीति नै सैद्धान्तिक पाराको छ भने आफूहरू राज्यको नीतिमा बाधक बन्नु हुँदैन, व्यावहारिक पाटोमा जोड दिनु हुँदैन भन्ने कुरा तपाईँहरूले नभुलिदिनुहोस्।
मेरो अनुनय विनय के छ भने परिवार र समाजको सामिप्यताको साटो सबै कुरा छोडी पुच्छरमा हात भनेझैँ गरेर बाह्र घण्टा इन्टरनेटमा भुल्न, केही घण्टा फ्री फायरमा रमाउन र केही घण्टा पब्जीमा रमाउन उनीहरूलाई दक्ष बनाइदिनुहोस् । तपाईँहरुले पनि बनको काँढालाई तिखार्नु पर्दैन आफै तिखारिन्छन् भन्ने कथन आत्मसात गरिरहनुहोस् ।
बाजे बजैलाई छोराछोरी भन्दा पनि बढी नातिनातिनाको माया हुन्छ भन्ने मान्यतालाई निरन्तरता त दिनुहोस् तर नातिनातिनालाई बाजेबजैका सामिप्यमा बस्न, हाँस्न र उनीहरुका बाजेबजैबाट बानी बेहोरा सिक्न दन्ते कथा सुन्न नबहकाइदिनुहोस् । केटाकेटीले बहुमूल्य समय मोबाइल, टिभी, कम्प्युटर जस्ता विद्युतीय सामग्रीमा सानका साथ रनभुल्ल पर्दै गुजार्नुपर्छ भन्ने छाप उनीहरूको मगजमा पारिदिनुहोस् ।
व्यवहार निर्माणका लागि सामाजिक अन्तरक्रिया ,सांस्कृतिक हस्तान्तरण र पुर्ख्यौली पेसागत सिपको आन्तरिकीकरण बेतुकका फाल्तु कुरा हुन् ; फोस्साका किस्सा हुन् ; नालायकले अलाप्ने गथासा हुन् भन्ने कुरा मगजमा असाध्यै राम्रोसँग घुसाइदिनुहोस् । मेरा नानीलाई संस्कारको झमेलामा नअलमलाई दिनुहोस् ।संस्काराद् द्विज उच्चते अर्थात् कर्मबाट जन्मेको मान्छे संस्कारबाट परिमार्जित भएपछि दोस्रो जन्म लिन्छ वा भनौँ द्विज बन्छ अर्थात् पूर्ण हुन्छ भन्ने कुरा तिनका कानमा नपारिदिनुहोस् । एकान्तमा बसेर कोठेराजा वा कोठेरानी बनेपछि संसार जितिन्छ , सम्राट बनिन्छ भन्ने दिव्य ज्ञानले उनीहरूको हृदय चम्काइदिनुहोस् । प्रत्यक्ष वार्ता होइन स्न्याप च्याट वा अन्य च्याट अत्यन्त उपयोगी र साह्रै प्रभावशाली छन् भन्ने सत्य सन्देश उनीहरूलाई सुनाइदिनुहोस् । शक्तिको अभ्यास गर्ने राजनितिक तहमा तपाईंको पहुँच पुग्यो भने काँचो माटोको रूपमा रहेका केटाकेटीका लागि सबैभन्दा कम रकम बजेटमा विनियोजन गर है भनेर उनीहरूको कान भरिदिनुहोस् ।
मेरा लालावालाको दिव्य चक्षु जसको लाठी उसैको भैँसी हुन्छ भन्ने दिव्य ज्ञानले उघारीदिनुहोस् । यो एक्काइसौं शताब्दीमा ज्ञान, विवेक र तर्कले हैन बरु बलमिच्याईँले प्रतिस्पर्धीको वा विरोधीको रामधुलाई गरेर अघि बढ्नुपर्छ भन्ने अमृतमय जीवनकला सिकाइदिनुहोस् ।
कदाचित मेरा सन्तान सामुदायिक पाठशालाका शिक्षक बने भने तिनीहरूलाई आफ्ना छोराछोरी आफूले पढाउने विद्यालयमा कदापि नपढाउनका लागि सतर्क बनाइदिनुहोस् । आफूले पढाउने विद्यालयमा पढाएर उनीहरुले सन्तानलाई हीनतताबोधले कर्कलो गलाएझँ नगलाऊन् ।
आदरणीय गुरु गुरुमाहरू ,मेरा बच्चाहरूको भविष्य निर्माण गरिदिने गहन जिम्मेवारी तपाईँहरूलाई सुम्पेको छु । जमाना सुहाउँदो सबै कला तपाईँहरूबाट उनीहरूले सिकून् । छल, प्रपञ्च, धुर्त्याईँ जेजति मात्रामा चाहिन्छ त्यतित्यति मात्रामा सिकेर उनीहरू युगसापेक्ष बनून्, माहिर बनून्, काबिल बनून् योग्य बनून् । मेरो अर्जी यही नै छ ।
०००
सन्धिखर्क, अर्घाखाँची
Subscribe
Login
0 Comments
Oldest






































