बालकृष्ण खनालझोले भएको छु म
पैसाले सब थोक मिल्दछ भने, झोले भने के भयो। पैसा हुन्छ जहाँ तहा त सबले, चिम्लेर आँखा गयो।। झोला बोक्छु सधै कमाउछु अझै, भन्ने हरू जे भन। झोले बन्न कहाँ थियो र सजिलो, सक्छौ बने लौ बन।।

बालकृष्ण खनाल :
झोले जागिर खान्छु राजनितिको, पैसा कमाऊँदछु।
नेताको म हुँ भक्त सेवक ठुलो, गोडा दबाऊँदछु।।
छोडी काम सबै गधा सरहको, बन्दैछु यो चाकर।
अर्को काम गरौ भने पनि कतै, लाग्दैन खै जाँगर।।
खोजी काम अरू बिना सिपतको, छोडेर जाने कहाँ ।
नेताको सगमा बसेर ठगको, गर्दैछु धन्दा जहाँ।।
ठेक्का लिन्छु र कामकाज नगरी, सम्पन्न देखाउँछु।
नेताको घरमा गएर कमिसन्,आधा त टक्र्याउँछु।।
झोले नाम दिए त के बिगरियो, चिन्छन् सबैले यहाँ।
झोले नाम रह्यो र पोत दुनिया, ठग्दैछु मैले जहाँ।।
जे राख्दा पनिभो लुकाइ सजिलै, झोला भएमा सँगै।
झोला हेर्दछ को चिने मकन जो, ठोक्ला सलामी अझै।।
झोलामा सुनका भरेर गहना, भन्दिन्छु यो हो नुन।
मेरो सामु खडा भएर सजिलै, यो हैन भन्ला कुन।।
यस्तो स्वर्ग समान जागिर छ यो, झोले भने नी भनुन्।
झोले हो भनि जो मरेर रिसले, आरीस गर्दै मरुन्।।
पैसाले सब थोक मिल्दछ भने, झोले भने के भयो।
पैसा हुन्छ जहाँ तहा त सबले, चिम्लेर आँखा गयो।।
झोला बोक्छु सधै कमाउछु अझै, भन्ने हरू जे भन।
झोले बन्न कहाँ थियो र सजिलो, सक्छौ बने लौ बन।।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































