फित्काैली डटकमडा. कार्कीकाे ‘क्षितिजपारि’ कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न
वरिष्ठ साहित्यकार र दर्जनौ पुस्तकहरूका लेखक विश्वराज अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको उक्त कार्यक्रममा सर्जक डा. कार्कीलाई बधाई तथा शुभकामना दिँदै राजेन्द्र अर्यालले कार्यक्रममा सबै अतिथिहरूको स्वागत गर्नु भएकाे थियो।

मे १७, २०२५ शनिबार । डा. अमर कार्कीको हालै प्रकाशित कथा सङ्ग्रह ‘क्षितिजपारि’ कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
जुम प्रविधिबाट सम्पन्न एनआर एन ए युएसए भाषा र साहित्य समितिले आयोजना गरेको यस कार्यक्रमको सभापतित्व यसै समितिका अध्यक्ष तथा वरिष्ठ साहित्यकार राजेन्द्रप्रसाद अर्यालले गर्नु भएको थियो ।
वरिष्ठ साहित्यकार र दर्जनौ पुस्तकहरूका लेखक विश्वराज अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको उक्त कार्यक्रममा सर्जक डा. कार्कीलाई बधाई तथा शुभकामना दिँदै राजेन्द्र अर्यालले कार्यक्रममा सबै अतिथिहरूको स्वागत गर्नु भएकाे थियो।
कार्यक्रमको प्रमुख अतिथि अनेसास बि ओ टी सदस्य, साहित्यकार मुक्कतकमणि तीर्थराज अधिकारी हुनुहुन्थ्यो। उहाँले लेखकलाई बधाई र शुभकामना दिँदै उक्त पुस्तकमा समाबेस गरिएका १२ वटा कथाहरूको विशेषताको चर्चा गर्नु भयो। उहाँले यी कथाहरू पाठकहरूलाई बाँधेर राख्न सक्ने खालका छन् त्यसैले यी लेखकलाई एउटा सफल लेखक भन्न चाहन्छु भन्नु भयो। उहाँका अनुसार यस पुस्तकभित्रका सबै कथाहरूमा प्रकृति र मानवताको अटुट सम्बन्ध दर्साइएको छ।
प्रख्यात गायक तथा सङ्गितकार डा. अजित घिमिरेले क्षितिजपारिका लेखकको व्यक्तिगत र साहित्यिक परिचय गराउनु भएको थियो। साथै उहाँले डा. कार्कीसँगकाे मित्रताको बारेमा पनि चर्चा गर्नु भयो।
कार्यक्रममा दुई जना महिला परिचर्चाकारहरू हुनुहुन्थ्यो। वरिष्ठ साहित्यकार सिता अर्यालले पुस्तकका प्राय सबै कथाहरू पाठकको मन हर्ने र नौलो स्वाद प्रदान गर्ने खालका भएको बताउनु भयो। उहाँले भन्नु भयो, ‘वैधानिक वा अवैधानिक रुपमा जहाँबाट जसरी अमेरिका भित्रिए पनि, भाषा र संस्कृति बेग्लै भए पनि उनीहरूको अन्तरमनमा उब्जने तरङ्ग र मनोदशामा प्रसस्त समानता हुने रहेछ। सङ्ग्रहभित्रको ‘बाको कथा’ नवीन कथ्य शैलीमा प्रस्तुत गरिएको रहेछ। त्यस्तै अर्को ‘घोर अचम्म’ शीर्षकको कथामा ३० वर्षअघि एउटा हवाइजहाज दुर्घटनामा मृत्यु भैसकेको भनेर मानिसकेका आफ्ना बाआमालाई अचानक आफूभन्दा तन्नेरी अवस्थामा भेट्दा अच्चम्ममा परेका अत्यन्त रोमान्चक परिघटना समेटिएको यथार्थको आभाष दिने फेन्टासी टाइपको कथा छ।’ अर्यालले लेखकको उमेर र लेखनको स्तरलाई हेरेर यी लेखकबाट यस्ता पुस्तक अझै पहिले नै आउनु पर्थ्यो भन्नु भयो। कथाहरू मार्मिक र चोटिला भए पनि अलि छोटा भएको भए व्यस्त पाठकहरूलाई अझै मन पर्थ्यो भन्ने उहाँको टिप्पणी गर्नु भयो। आफूलाई मन छोएको भन्दै यसै पुस्तकका कथाभित्र जोडिएकेको एउटा मुक्तक बाचन गर्नु भएकाे थियो:
गाउँघर छाडी शहर पस्दा पनि 
स्वदेश छाडी बिदेश बस्दा पनि
मुस्कुराउनु पर्छ दुबै आँखा छोपी
दुई थोपा आँसु तप्प खस्दा पनि !
त्यसपछिका परिचर्चाकार चर्चित साहित्यकार, समालोचक र समीक्षक ममता मृदुललाई यो पुस्तक पाठकले किन पढ्नु पर्छ र यसको प्रवर्धन कसरी गर्न सकिन्छ भन्ने बारेमा आफ्नो बिचार राख्न अनुरोध गरिएको थियो। ममता मृदुलले भन्नु भयो, ‘धेरै पुस्तकहरूले मेरो मन बाँध्न नसकेकोले मैले आधा पढेर छोडेको छु। तर यो पुस्तकले मलाई यसरी छोयो कि मैले तीन पटक पढेँ। यी दुई प्रमुख कारणहरूले म अरूलाई पनि यो पुस्तक पढ्न अनुरोध गर्छु: पहिलो यो पुस्तक पढेर विश्वकाे कुना कुनाबाट उज्ज्वल भविष्यको खोजीमा क्षितिजपारिको सपना देख्ने र त्यसलाई पछ्याउदै अमेरिका पुग्ने आप्रावासीहरूको वास्तविकता जान्न सकिन्छ। दोस्रो आफ्नो पिताको सम्मान कसरी गर्न सकिन्छ भन्ने कुराको महसुस गर्न सकिन्छ। लेखक त धेरै हुन्छन् तर उहाँ लेखक मात्र होइन एउटा श्रष्टा पनि हुनुहुँदो रहेछ।’
शुभकामना मन्तव्य दिने क्रममा कवि तथा लेखक सुदिप भद्र खनालले डा. कार्कीका कथाहरूमा हरेक पाठकले आफूलाई नै भेट्न सक्ने देखेको कुरा बताउनु भयो। उहाँले पुस्तकको नाम निकै सान्दर्भिक भएको र डा. कार्कीलाई एउटा शक्तिशाली लेखन पस्कन सक्ने लेखकको रुपमा देखेको छु भन्नु भयो।
धेरै पाठकहरुले मन पराउनु भएको निकथा सङ्ग्रह चोभारब्लुजको लेखक विक्रमभक्त जोशीले यस पुस्तकका सर्जक डा. अमर कार्कीसँग आफ्नो परिचय हुँदाको रमाइलो सन्दर्भ सुनाउनु भयो। क्षितिपारि कथा सङ्ग्रह शब्दहरूको थुप्रो होइन भन्ने उहाँको आफ्नै भनाईलाई पुस्टी गर्नको लागि उहाँले यो पुस्तकमा भौतिकशास्त्री लेखक डा. कार्कीले आफ्ना कथाहरूमा विज्ञान र यस क्षेत्रमा भैराखेका अनुसन्धान र उपलब्धीलाई बडो कलात्मक रुप प्रयोग गरेको उदाहरण प्रस्तुत गर्नु भयो। उहाँले यस पुस्तकभित्रका ‘गाउँको कथा’ र ‘घोर अचम्म’ शीर्षकका दुई कथाहरूको निकै चर्चा गर्नु भयो। उहाँले कथाहरू लामा भए पनि हरेक वाक्य र शब्दको सही सदुपयोग भएको पढ्दा अल्छि नलाग्ने बताउनु भयो।
वरिष्ठ लेखक, समालोचक र समीक्षक खेमराज शर्माले क्षितिजपारिको केस्रा केस्रा केलाउनु भयो र भन्नु भयो, ‘यस पुस्तकमा राम्रा कुरा धेरै छन्। मैले यिीभौतिकशास्त्री लेखकलाई भौतिकरुपमा भेटेको छैन। तर उहाँको यो पुस्तक पढ्ने मौका पाएँ। एक लाइनमा यसको विशेषता बताउने हो भने म पूर्कोव मान्छे मेरो भाषामा भन्छु यो पुस्तक झकास छ । कथाहरू मधुर र मनोरन्जनात्मक किसिमले बगेको छ। एकदमै ठेट शब्दहरू प्रयोग भएका छन्। नेपाली भाषालाई खेलाउदै मज्जाले नेपाली उखान टुक्काहरू प्रयोग भएका छन्। हाम्रो आख्यान लेखनमा यसले राम्रो मिठास दिन्छ र कथ्यलाई प्रस्ट्याउछ। कथामा परिवेशको सुन्दर चित्रण गरिएको छ। लेखनीमा अनुप्रास मिलाएर कथानकलाई प्रस्तुत गर्ने र सादृश्य प्रतिक र बिम्बको प्रयोग गर्नु भएको एकदम राम्रो लाग्यो। जस्तो: उनी न्यानो पाउने बित्तिकै फ्रीजबाट निकालेको मासु झै लल्याकलुलुक भए। यो नयाँ प्रयोग हो। यो कृति अनुसन्धनात्मक र अर्गानिक छ। मलाई अझै छोएको कुरा के भने यस पुस्तकमा विश्वबन्धुत्वको भावना प्रस्ट झल्कन्छ। कथाबस्तु र शीर्षकको तारतम्य अति मिलेको छ। तर ‘क्षितिजपारि’ अलि पारम्परिक शीर्षक भयो। धेरै कथाहरू निबन्धको झल्को दिने खालका छन्। लेखाइ सरल भयो। बक्ररेखीय प्रस्तुति भएन। कथा सङ्ग्रहमा कविताहरू अलि धेरै भए जस्तो लाग्यो। घटना पक्ष बढि र बिचार पक्ष कम छ। यो मेरो मनमा लागेको कुरा हो। सबैले मान्नै पर्छ भन्ने छैन ।’
अर्का चर्चित समीक्षक तथा लघुकथाकार डा. कुसुमाकर शर्माले यस पुस्तकका सबल र निर्बल दुबै पक्षलाई छर्लङ्ग पार्नु भयो। पुस्तकको सबल पक्षको बयान गर्दै उहाँले कथाहरूमा ठाउँ, परिस्थिति र काल सुहाउँदा पात्र, नाउँ आदि सबै मिलेको छ। जस्तो क्युबाको कथामा क्युबेली नाम त्यस्तै युक्रेनको कथामा युक्रेनी नाम राखिएको छ। त्यसरी मिलाएर लेख्न सक्नु एउटा खुबी हो। साथै यसमा दृश्टीबिन्दु न्यारेसन असाध्य राम्रो छ। तर कथामा सार वा थिम चाहिँ अलि प्रस्ट नभएको र वर्णानात्मक लेखनशैलीले पाठकलाई बाँधिराख्न सकेता पनि यसबाट दिने खोजेको सन्देश चाहिँ प्रस्ट नभएको आफूले महसुस गरेको कुरा बताउनु भयो। त्यसैगरि भाषा र व्या रणमा केही सुधार गर्नु पर्ने पनि देखिएको बताउदै ‘बाको कथा’ निबन्ध जस्तै भए तापनि कथाको शैलीमा आफ्नो बुबाप्रति एउटा सम्मान व्यक्त गरेको एकदम राम्रो लाग्यो भन्नु भयो।
“कथा कथा जस्तै भैदिए हुन्थ्यो, कथा कथनी नभैदिए हुन्थ्यो, एकचोटी कथाभित्र छिडेपछि अभिमन्यु भैदिए हुन्थ्यो।” साहित्यकार कृष्ण गिरीले आफूले पुस्तक पढ्ने मौका नपाए पनि आजको परिचर्चाकारहरूको विवेचनाबाट यो कथा सङ्ग्रहभित्रका कथाहरूमा व्यक्त गर्नु भएको भाब झल्किएको बुझेँ भन्नु भयो।
क्षितिजपारिका सर्जक डा. अमर कार्कीले समाजलाई थोरै सूचना, थोरै चेतना, थोरै जानकारी र धेरै मनोरन्जन दिने उद्देस्यले यो पुस्तक लेखेर लेखकको पहिलो धर्म निर्वाह गरेको कुरा बताउनु भयो।
कथाकारले कथा लेख्दा घटनालाई अधिक महत्व दिनु उचित हुन्छ वा आफ्नो विचारलाई भन्ने सन्दर्भमा: उहाँले भन्नु भयो, ‘घटना र बिचार सबै प्रकारका साहित्य, समाचार, सिनेमा, नाटक, आदिमा हुन्छ नै। कुनै पनि कथाभित्र घटनालाई लेखकले आफ्नो बिचार र सोचाइ अनुसारनै चयन गरेको हुन्छ र बुनेको हुन्छ। त्यसैले घटनालाई मात्रै बयान गर्दा पनि लेखकको बिचार त त्यहाँ झल्किन्छ तैपनि त्यसलाई अझै प्रस्ट्याउन वा कसैले आफ्नो बिचारलाई लाद्न खोजेको पनि देखिन्छ। कथामा वा लेखमा आफ्नो बिचार थोपर्ने हैन की अप्रत्यक्ष रुपमा सन्देस प्रवाह गर्ने हो। ‘
प्रा. डा. विजय कार्कीले आफ्ना भाइले लेख्नु भएको यस पुस्तकभित्र आफूले भोगेका र देखेका अनि आफ्नो माता पितासँग जोडिएका घटणाहरू पनि समेटिएको र पुस्तकले यसरी चर्चा पाहिरहेको देखेर र सुनेर आफू हर्षित भएको कुरा व्यक्त गर्नु भयो।
अन्तमा कार्यक्रमका सभापति राजेन्द्र अर्यालले आजको सर्जक डा. कार्कीसँग एउटै संस्थाभित्र बसेर नेपाली भाषा र साहित्यको प्रबर्धनमा काम गर्न पाउँदा आफूले गर्व गरेको भन्दै लेखकको व्यक्तित्व र पारिवारिक पृष्ठभूमीको खुलेरै प्रशंसा गर्नु भयो। यति धेरै वर्ष अमेरिकामा बस्दा अंग्रेजी भाषालाई माध्यम बनाएको भए पनि डा. कार्की नेपाली भाषा र साहित्यमा झनै खारिएको भेटेँको कुरा बताउनु भयो। कथाहरूमा हालिएका सान्दर्भिक कविताका अंशहरूबाट प्रभावित भएर उहाँले डा. कार्कीले अब छिट्टै एउटा कविता सङ्ग्रह पनि प्रकाशित गरेको हेर्न चाहेको बिचार व्यक्त गर्नु भयो।
कार्यक्रमका संयोजक विश्वराज अधिकारीले पौराणिक युगदेखि नै पोजिटिभ मोटिभेसनले कुनै पनि व्यक्तिलाई कुनै कार्य सम्पन्न गर्न कति मद्दत गर्छ भन्ने कुराको उदाहारण प्रस्तुत गर्दै यस कार्यक्रमबाट लेखक डा. कार्कीलाई यस्तै मोटिभेसन मिलेकोमा हर्ष व्यक्त गर्नु भयो।
साहित्यकार प्रभा पोखरेल र प्रमोद आमत्यले कार्यक्रममा प्रत्यक्ष उपस्थिति जनाएर साथ दिनुभएको थियो भने धेरै साहित्य प्रेमीहरूले फेसबुकबाट कार्यक्रम प्रत्यक्ष हेर्नु र सुन्नु भएको थियो।
०००
Subscribe
Login
0 Comments
Oldest






































