लक्ष्मण गाम्नागेगोलमाल गणित
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस नेपालमा पनि गत साता धुमधामका साथ मनाइयो । यसै अवसरमा तपाईंको मनोरञ्जनका लागि गोलमाल गणित विषयका केही प्रश्न प्रस्तुत गरएिका छन् :
१. एउटा राजनीतिक प्राणीले एक प्रभावशाली मन्त्रीलाई उनकी सालीमार्फत एक करोड रुपियाँ भेटी चढाएर दुई वर्षका लागि डुब्न लागेको एउटा संस्थाको प्रमुख पद हत्यायो । निजले फाइनान्स कम्पनीबाट वार्षिक १८ प्रतिशतका दरले लिएको ऋण रकम दुई वर्षभित्रैमा चुक्ता गरी लगानीको पाँच गुणा नाफा कमाउन एक महिनामा औसत कति रकम कुम्ल्याउनु पर्ला ? उक्त संस्था माटोमा मिल्न कति समय लाग्छ ? शंका गणितका आधारमा उत्तर निकाल्नुहोस् ।
२. एक दाता राष्ट्रले प्रौढ शिक्षा सञ्चालन गर्न पठाएको पाँच करोड रकमलाई क्रमशः १५, १०, ८, ७, ६ र ५ प्रतिशत सम्बन्धित मन्त्री, सचिव, शाखा प्रमुख, मन्त्रालयबाट उक्त रकम हत्याउने एनजीओ, एनजीओका अध्यक्ष र कोषाध्यक्षले निजी खातामा जम्मा गरे । बाँकी रहेको ४९ प्रतिशत रकमको १० प्रतिशत कार्यक्षेत्रका डन र क्लबहरूलाई बाँडी बाँकी रहेको रकमबाट एक दशकमा प्रौढ शिक्षाको स्तर कति प्रतिशत वृद्धि हुन्छ ? हाम गणितका आधारमा उत्तर लेख्नुहोस् ।
३. सरकारी नोकरीबाट अवकाश प्राप्त एक पियन आफ्नो ३५ वर्षे नोकरी अवधिमा बचत गरेको ४ लाख ५० हजार रुपियाँ निकाली पहाडको फेदमा घडेरी खरीद गरी पास गर्न मालपोत कार्यालय गएछ । बूढासँग भएको कुल रकममध्ये ३ लाख ७५ हजार जग्गा खरीदमा सकिएछ । काम सकिएपछि निजलाई नाङ्गेझार पारी टकटक्याएर बस भाडाबापत ३८ रुपियाँ छाडी अरू सबै रकम समानुपातिक हिसाबले बाँडचुँड गरिएछ । लेखनदासदेखि हाकिमसम्मका १३ जना व्यक्तिले कति कति रकम खल्तीमा हाले ? माल गणितका आधारमा पत्ता लगाउनुहोस् ।
४. सरकारले बजेटको सर्वाधिक १६ प्रतिशत रकम शिक्षा क्षेत्रमा खन्याएको छ । शिक्षकहरू पनि शिक्षाको स्तर उठाउन मरीमेटेरै लागेका छन् । सरकारी विद्यालयका पाँच प्रतिशत शिक्षक विद्यालय समयमा म्यारिज पढ्छन्, दुई प्रतिशत मदिरा कक्षमा भेटिन्छन् । पाँच प्रतिशत शिक्षक विद्यार्थीलाई चौरमा थुपारेर गाईवस्तु धपाउन जान्छन्, तीन प्रतिशत पुरोहित सेवामा तल्लीन हुन्छन् । ६० प्रतिशत शिक्षकहरू विभिन्न पार्टीका झन्डा बोकेर नेताहरूको लुतो कन्याउँदै हिँड्छन् । बाँकी रहेकामध्ये ११ प्रतिशत पढाउन नजानेर कन्छन् । अब भन्नुहोस्, साँच्चिकै पढाउने शिक्षकको प्रतिशत कति हो रु उक्त उत्तरका आधारमा आगामी एसएलसी परीक्षामा सरकारी विद्यालयबाट उत्तीर्ण हुने प्रतिशत निकाल्नुहोस् ।
५. सरकारले प्रदान गरेका विधवा, वृद्ध, अपांगलगायत भत्ता आफैँ ल्याप्चे लगाएर हसुर्ने गाउँ विकासका सचिव र त्यसमा भागबन्डा गर्ने दलका प्रतिनिधिहरूलाई सेफ्टी ट्यांकीमा ६ महिनासम्म डुबाएर राख्दा उनीहरूको बुद्धि कति प्रतिशतका दरले फर्किन्छ वा फर्किंदैन, नर्क गणितका आधारमा उत्तर निकाल्नुहोस् ।
६. १ सय ५० ग्राम सयपत्री फूलको ३७ रुपियाँ पर्छ । कुनै राजनीतिक दलका कार्यकर्ताहरूले आफ्ना नेतालाई भ्रष्टाचारको कसुरमा जेल जाँदा आधा क्विन्टलको र फर्किदा एक क्विन्टलको सयपत्रीको माला लगाइदिन्छन् भने दुवै मालाको जम्मा मूल्य कति पर्छ ? त्यो माला उचाल्ने कार्यकर्ता र थाम्ने भ्रष्टको गिदीको तौल कतिकति हुनुपर्छ ? झ्वाम गणितका आधारमा उत्तर निकाल्नुहोस् ।
७. तपाईंले निकालेका उत्तरका आधारमा नेपाल देश अब कति वर्षभित्रमा नयाँ नेपाल बन्छ, सत्ता गणितको रसातल फर्मुला प्रयोग गरेर जवाफ पत्ता लगाई रुन थाल्नुहोस् ।
नेपाल साप्ताहिकबाट जस्ताको तस्तै
Subscribe
Login
0 Comments
Oldest






































