चट्याङ मास्टरयहाँ अझै मानिस बाँकी छन्
यहाँ गरिब छन्, अशिक्षित छन्,
आफ्नै पसिनाको कमाईले पाल्छन् र पालिन्छन्
अभावसँग हाँसी हाँसी खेल्छन्
आइज नेता यहाँ अझै मानिस बाँकी छन् ।
ढाँट्न जान्दैनन् यी, फटाहालाई चिन्दैनन् यी
“म जान्ने हुँ” भन्नेलाई मान दिन्छन् यी
आफ्नो हृदय जस्तै अरूलाई निस्छल ठान्छन्
आइज नेता यहाँ अझैं मानिस बाँकी छन् ।
आइज यहाँ र आफूलाई “म जान्ने हुँ” भन
भनिदे, अहिले जो सत्तामा छन्
स्वर्गलाई धर्तिमा आउन तिनैले रोकेका छन्
आइज नेता यहाँ अझैं मानिस बाँकी छन् ।
यिनको मनमा सुन्दर स्वर्गको फोटो छ
त्यसप्रति यिनको ठुलो श्रद्धा र मोह छ
त्यसको फाइदा उठा, यिनलाई आफ्नो पछि लाग्नु भन
आइज नेता यहाँ अझैं मानिस बाँकी छन् ।
यिनले पत्याउँछन् तेरा कुरा,
यिनलाई कसैका कुरा नपत्याउँन आउँदैन
स्वभावैले हितैषी यी सबैलाई आफ्नै हितैषी ठान्छन्
आइज नेता यहाँ अझै मानिस बाँकी छन् ।
अनि भन् अब यिनले के गर्नु पर्छ ?
आफू मर्नु पर्छ कि आफ्नालाई मार्नु पर्छ ?
तँ धर्तीमा स्वर्ग ल्याइदिने मानिस !, यिनले तेरो कुरा मान्छन्
आइज नेता यहाँ अझै मानिस बाँकी छन् ।
भनिदे तेरो भनाइ मान्दा मरे सहिद भइन्छ
सहिद भए महान भइन्छ, अनि पो स्वर्ग धर्तीमा आउँछ
धर्तीमा स्वर्ग आउँछ भने यी मर्न मार्न तयार थिए, छन् र रहने छन्
आइज नेता यहाँ अझै मानिस बाँकी छन् ।
आइज आइज यी मानिसलाई राक्षस बनाइदे
मानिसलाई राक्षस बनाउने तन्त्रमन्त्र सुनाइदे
स्वर्गलाइ धर्तीमा लिएर आउँछु भन्, यी पत्याउँछन्
किन भने यिनले तलाई अझै आफू जस्तै मानिस नै ठान्छन्
आइज नेता यहाँ अझै मानिस बाँकी छन् ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































