चट्याङ मास्टरआउनुहोस, कवि र पाठक हात मिलाउँ
तपार्इंको कार्यालय भवनमाथि ठुलो अक्षरमा तपाईंको नाम लेखिएको छ भने
तपाई ठुलो मान्छे
तपाईंको कार्यालय कोठा बाहिर या टेबलमाथि तपाईंको नाम लेखिएको छ भने
तपाईं मध्यम मान्छे
तपाईंले लगाउने कमिज या कोटमा तपाईंको नाम लेखिएको छ भने
तपाईं साधारण मान्छे
तपाईंको कोटमा सरकारको लोगो र राष्ट्रिय झण्डा छ भने
तपाईं के मान्छे ?
हो म मान्छु, यो माथिको मेरो कविता राम्रो भएन
यसको त कुनै गहिरो अर्थ नै भएन
अब,
मैले पनि नलेख्नु लेखिसकेँ
तपाइले पनि यो नपढ्नु पढी सक्नु भयो
अर्थ न बर्थको कविता रहेछ भन्नु भयो भने म कविको इज्जत त जाला
तर यस्ता अर्थ न बर्थका कविता पढ्ने तपाईंको इज्जत चै कहाँ रहला ?
त्यसैले आउनुहोस् कवि र पाठक मिलौँ
माथिको कविताको गहिरो अर्थ पत्ता लगाउँ
तपाईं दिमाग खोस्रनुहोस्
म पनि दिमाग खोस्रन्छु
दुई जना मिलेर खोस्रँदा खोस्रँदा खाल्डो गहिरै बनिहाल्ला
अनि त जे अर्थ पत्ता लाग्छ त्यो त गहिरै लाग्ला !
गहिरो अर्थपूर्ण कविता लेख्ने म महान कवि कहलाउँ
कसैलाई नलागेको अर्थ लगाउन सक्ने तपाईं पनि विद्वानमा नाम दर्ता गराउँ
आउनुहोस् कवि र पाठक हात मिलाउँ
एकले अर्काको इज्जत जोगाउँ
कविता जस्तोसुकै बकम्फुसे होस्,
तर कवि र पाठक मिलेर एकले अर्काको प्रशंसामा गीत गाउँ
आउनुहोस् कवि र पाठक हात मिलाउँ
ताल न तुइका यस्ता कविताको गहिरो अर्थ लगाउँ !
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































