चट्याङ मास्टरकिन ?
जसले जिन्दगीमा कहिल्यै आफ्नै कमाइको गाँस खाएन र आफ्नै बास बनाएन
उसैले “म देशलाई सम्मृद्ध बनाउँछु” भन्दा पत्याएर त्यसका पछि लागेको किन ?
उसले देशलाई सम्मृद्ध बनाउन थालेदेखि
आफ्नै कमाइ खान थाल्यो र आफ्नै बास पनि बनायो
अब यसले चै देशमा भ्रष्टाचार निर्मुल पार्छ भन्दा नपत्याएको किन ?
आफ्नै श्रीमतीबाट वाक्क भएर घुम्न हिँड्दा हिँड्दै
देखिएकी अर्काकी श्रीमतीसँग आँखा लडाएको किन ?
तातो तेलको कराहीबाट उम्किएर आगोको भुङ्ग्रोमा हाम्फाल्न आँटेको किन ?
साउनमा खोलामा बाढी आउँछ भन्ने जान्दा जान्दै
जेठमा खोला किनारमा घर बनाएको किन ?
पसलेले “तपाइँ त आफ्नो मान्छे भएर पो यतिमा दिएको, अरुलाई भए दिन्न थिएँ” भन्दा
उसको त्यो भनाई पत्त्याएर ङिच्च दाँत देखाएर गमक्क फुलेको किन ?
उसले सबैका कुरा काट्दै हिँड्छ भन्ने जान्दा जान्दै
त्यसैलाई कर गरिगरि घरमा बोलाएर मिठो खाना खुवाएको किन ?
ऊ आफूलाई तपाईं भन्दा ठुलो विशेष मान्छे हुँ ठान्छ भन्ने जान्दा जान्दै
उसैको चाकडी गरेर बाँदरलाई भर्याङ चढाएको किन ?
आफन्तलाई सकीनसकी सहयोग गरेर
सर्पलाई दुध खुवाएको किन ?
घर लेराउनु पर्ने केरा पहिला किनेर पशुपतिदेखि गुह्यश्वरी सप्पै घुम्न गएको किन ?
बाँदरबाट केरा जोगाउन केराको काँइयो आफ्नो टाउकोमाथि राखेको किन ?
हावामा उडेको धुलो हातले छेकेर छेकिँदैन भन्ने जान्दा जान्दै
धुलो उडेको देख्ने बित्तिकै हातले नाक मुख छोप्नु हुन्छ किन ?
किन्नुहुन्छ तपाईं पनि आलु चिप्सको प्याकेट
हावा सित्तै पाइन्छ भन्नु हुन्छ किन ?
चौध रुपियाँ बसभाडा तिर्न दस र पाँचको नोट दिएपछि
कन्डक्टरले “एक रुपियाँ खुद्रा छैन” भन्छ भन्ने जान्दा जान्दै
जाबो एक रुपियाँको लागि त्यो कन्डक्टरको अगाडि त्यो हात पसारेको किन ?
तपाईंलाई नेता बन्नु छैन, राजनीति गर्नु पनि छैन, सत्तामा जाने त इच्छा नै छैन
अनि जुन बेला पनि राजनीतिकै समाचार पढेर, गफ गरेर र गफ सुनेर बिताएको किन ?
नेताले देश बिगारे तपाइँ नै सधै भन्नु हुन्छ
त्यस्तालाई भोट दिएर तपाईंले नेता बनाएको किन ?
जब आधा बोतल पिई सक्दा नै जिब्रो र खुट्टा लर्बराई सके
थप फेरि अर्को सिङ्गै बोतल मगाएको किन ?
भोलिदेखि हाकिम घर बिदा बस्दै छ भन्ने थाहा पाइपाई
“पर्सि म अफिस अलि ढिलो आउँछु” भनेर सुनाउनु परेको किन ?
जीवन बिमा गरायो भने बाँचुन्जेल पैसा तिर्नु पर्छ र मरेपछि एकै चोटी धेरै पैसा आउँछ,
मरेपछि पैसा के काम ? आफ्नै मृत्युसँग बाजी थापेको किन ?
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































