चट्याङ मास्टरजाँच फेललाई उपहार
माननीय सभासद ज्युको छोरो
कक्षा पाँचमा छ पटक फेल भयो
सात वर्ष लगातार एउटै कक्षामा बस्ने पक्का भयो ।
बाउले झपार्दै छोरालाई भने–
छ छ बर्ष लगातार फेल भएर
सात वर्ष लगातार एउटै कक्षामा बस्नुपर्दा
तँलाई लाज लाग्दैन ?
छोराले मुसुमुसु हाँस्दै भन्यो–
फेल भएको संविधान सभामा
सात सात वर्ष लगातार माननीय भएर बसिरहँदा–
बुवालाई पनि त लाज लागेन ?
माननीय बाउले सोच्दै भने–
छोरा ! म त फेल भएर कमाइ रहेको छु
तँ फेल भएर खर्च गरिरहेछस्
कमाउनु र खर्च गर्नु बिचको फरक तँ बुज्छस् ?
छोराले भन्यो–
माननीय बुवा ज्यु !
फेल भए पो हरेक वर्ष नयाँ नयाँ विद्यार्थीसँग
एक वर्ष बिताउन पाइन्छ
पछि ती आफ्ना सबै सहपाठीसँग भोट माग्न पाइन्छ
भोट पाएपछि पो नोट कमाउन पाइन्छ
पास भएता सहपाठी नै थोरै अनि भोट पनि थोरै पाइन्छ
थोरै भोट ल्याउनेले कहाँ कमाउन पाइन्छ ?
बुवा, तपाईं नै भन्नु होस्–
पैसा कमाउन मास्टरले दिने
नम्बर चाहिन्छ कि साथीले दिने भोट चाहिन्छ ?
छोराको कुरा सुनेर जुँगा मुसार्दै माननीय बाउले भने–
स्याबास बाबु, यस्तो ज्ञानी छोरा कहाँ पाइन्छ !
ल भन बाबु, फेल भएको उपलक्षमा
तँलाई उपहार के चाहिन्छ ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































