तक्दिरका कुरा
चर्च, गुम्बा, मस्जिद र मन्दिरका कुरा हुन्
तिम्रा, मेरा, सबैका तक्दिरका कुरा हुन् ।
नढलोस् भित्तामात्रै, युगलाई चुनौती
जवानीमा खिचेका तस्बिरका कुरा हुन् ।
नाङ्गो, उदाङ्गो छु म, फल्न फुल्न सक्दिन
जरा मेरै लामा छन् शिशिरका कुरा हुन् ।
फूलको शुरुवात, कोपिलाबाट हुन्छ
माहुरी, पुतली र समीरका कुरा हुन् ।
दशाब्दी वा शताब्दी, दिनबार खै के के ?
असोज, कार्तिक अनि मङ्सिरका कुरा हुन् ।