प्रेम ओली ढकलपुरेहात्ती आउँदैछ रे !
परबाट माउते गुड्दै आएको थियो, पाङ्ग्रामा ब्रेक थिएन ! कानुनले तराजु छाड्यो बाउले अझै ऋण गन्दैछन् छोराले विदेशको नक्सा हेर्दैछ ! ओइ माउते ! खोई हात्ती आएको ?

जीवनपानी :
माउतेहरू आवाज फलाक्दै आए-
“हात्ती आउँदैछ !”
सुनेर हामीले,
गाउँभरि दीपावली गर्न थाल्यौँ !
घरका ढोका बन्द थिए- खोल्यौँ,
सपना झिक्यौँ,
भकारी रित्तायौं,
र सबै आजै पकायौँ !
“विश्वास गर्नुपर्छ”
यो हाम्रो संस्कार थियो,
अतः हामीले-
आफ्नै भाग्यलाई मतपेटिकामा हाल्यौँ !
माउतेहरूले भनेका थिए-
“अब न्यायका लागि गोर्खा जानुपर्दैन”
भोको पेटलाई देख्ने-
“महिन्द्र मल्ल”का आँखा,
जनता स्वयंले पाउनेछन्,
र -मनका घाउहरूले मलम पाउनेछन् !
यसो भन्दै-
जब ती कुर्सीमा पुगे,
कुर्सी नै देवता बन्दियो,
यसर्थ,
औषधि किन्न आमाले-
हिजो खोर रित्याएर बाख्रा बेचिन् !
स्कुलमा-
भाषण बाक्लो हुन्छ,
घोषणापत्रको पढाइ हुन्छ,
त्यहाँ –
जनयुद्धका साध्यहरू सिद्ध हुँदैनन् !
अस्पताललाई-
उद्घाटनका ठूला ब्यानरहरू ओडाइन्छन्,
जहाँ-
बिरामी आउँछन्,
डाक्टर आउँदैनन् !
उता देब्रे आँखाको कुनाबाट,
दर्शन बोल्छ-
लोभले विवेकलाई अन्धो बनाउँछ,
यता दाहिने आँखाको कुनाबाट,
विज्ञान बोल्छ-
शक्ति नियन्त्रण नभए,
ऊर्जा विस्फोट हुन्छ !
हामीले दुवै देख्यौँ-
शक्ति विस्फोट भयो,
विवेक ढल्यो
माउतेहरूको आदर्श
भाषणमै सीमित रह्यो,
संस्कृति पोस्टर बन्यो !
हामीले माउतेलाई भन्यौँ-
हामीले रगत होइन,
विश्वास बगाएका थियौँ
खोइ हात्ती ?
हाम्रो विश्वास
नाफाको हिसाब होइन,
खोई हामीले दिएको मत-
कुन प्रयोगशालामा हरायो ?
विज्ञानले आँसु पुछ्दै,
गाउँलेलाई भन्यो –
“मानव चेतना
पतन भइसक्यो !”
“हात्ती आउँदैछ !”
हल्ला आयो,
हात्ती फुस्सा !
भित्तामा हात्तीको ऐना झुण्डियो,
ऐनामा पेटहरू मात्रै थिए-
सत्ताधारीका अनुहारहरू थिएनन् !
परबाट
माउते गुड्दै आएको थियो,
पाङ्ग्रामा ब्रेक थिएन !
कानुनले तराजु छाड्यो
बाउले अझै ऋण गन्दैछन्
छोराले विदेशको नक्सा हेर्दैछ !
ओइ माउते !
खोई हात्ती आएको ?
०००
पुरानो कालिमाटी काठमाडौँ- १३
Subscribe
Login
0 Comments
Oldest






































