साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँबुखैरेनी वाङ्मय पुरस्कार श्रमजीवीलाई

Nepal Telecom ad

पोखरा, असोज ३ / तनहुँको आँबुखैरेनी स्रष्टा समाजले स्थापना गरेको आँबुखैरेनी वाङ्मय पुरस्कार पहिलो पटक अनुसन्धाता तथा साहित्यकार डिल्लीराम मिश्र ‘श्रमजीवी’लाई प्रदान गरिएको छ ।

आँबुखैरेनीमा आयोजित विशेष कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले नगद १० हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले श्रमजीवीलाई सम्मान गर्नुभयो । कार्यक्रममा सरुभक्तले श्रमजीवीलाई पुरस्कृत गरेर स्रष्टा समाज आफैँ पुरस्कृत भएको धारणा राख्नुभयो । पुरस्कारले प्रतिभालाई तिखार्नका लागि सघाउ पुर्याउने विचार राख्दै उहाँले सही व्यक्तिलाई सही पुरस्कार दिनुपर्नेमा जोड दिनुभयो ।

पुरस्कृत व्यक्तित्व श्रमजीवीले पुरस्कारले आफूलाई थप हौसला दिएको बताउँदै कतिपय पुरस्कार लिनका लागि पटकपटक सोच्नुपर्ने अवस्था सिर्जना भएको भन्दै त्यस्ता विकृति हटाउनुपर्नेमा जोेड दिनुभयो । ‘नेपाल अधिराज्यमा तनहुँ’लगायत दर्जनौँ कृति लेख्नुभएका उहाँले नेपालका पुरस्कारहरूकै विषयमा आफूले निकट भविष्यमा बृहत् आकारको कृति निकाल्ने तयारीमा लागेको सो अवसरमा जानकारी दिनुभयो ।

समाजका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले मिश्रको परिचय दिनुभएको थियो । कवि भूपिनले पुरस्कारले स्रष्टालाई पुनर्बल दिने भए पनि पुरस्कार आदानप्रदानको संस्कार गलत भएको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यव्रmममा डा. ईश्वरचन्द्र वाग्लेले पनि शुभकामना दिनुभएको थियो भने कवि अर्जुन ढकालले कविता वाचन गर्नुभएको थियो ।

सोही अवसरमा आँबुखैरेनी बहुमुखी क्याम्पसका स्नातक तहका उत्कृष्ट विद्यार्थीहरूलाई सङ्गीता श्रेष्ठद्वारा आफ्ना स्वर्गीय पति कलाकार महेशकुमार श्रेष्ठको स्मृतिमा स्थापित महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । दुवै पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

यसै बिच, आँबुखैरेनीको सेरेफेरोलाई समेटेर तयार पारिएको गीतको पनि प्राज्ञ सरुभक्तले सोही कार्यव्रmममा विमोचन गर्नुभएको थियो । अनिल श्रेष्ठको शब्द, नवराज बरालको सङ्गीत तथा कर्म ग्याल्छेनको स्वर रहेको गीतमा आँबुखैरेनीको सांस्कृतिक, प्राकृति र सामाजिक विशेषताहरूको वर्णन गरिएको गीतको उत्पादक अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x