निशान निष्कर्षहुन बाँकी एउटा जुलुस !
अचेतनाको सम्पूर्ण शून्यतालाई चिरेको भन्दै
हामीले बाँचेको युग
खोजिरहेछ हाम्रै सामू परिवर्तनको लाम ।
इतिहास भत्काउनुलाई ठानिन्छ
आजको पहिलो उपलब्धि
र त भ्रमित आकांक्षाको पराकाष्टा चुलिएको छ
चुनौती दिँदै सगरमाथालाई ।
टिप्नुपर्ने के हो र सिँगारिनु पर्ने को हो
देख्दैन भ्रमको आँखाले समयको गति,
हेरिरहेछ गुमनाम आफ्नो अपनत्वको अपहरण
तर पनि मान्छे मान्छे हुनुमा गर्व गर्छ र
उक्लिरहन्छ अहम्ताको शिखर ।
क्लिष्टताको परिभाषालाई सँच्याउने बहानामा
निरत बगाएर अश्रुधारा
अचानो बनाउँछ आफ्नै छाती,
खोजिरहन्छ टुप्पोबाट पलाएको सभ्यता ।
सरलताको गाम्भीर्य कहिल्यै जानेन वा
गरेन चेष्टा खोज्नलाई सिमलको भुवाजस्तै कोमल भावना ।
आफूलाई आफैबाट उपेक्षाको डोरीमा
आत्महत्या गराइरहेछ — आजका समयको मान्छे ।
यो विश्व साँघुरो गराएर खुसी हुँदै गर्दा
स्वतन्त्रताका नाममा फहराएको झण्डा तल्तिर
किन अटाउन सकेका छैनन् सबै,
र किन बेचिन्छ मान्छेलाई आज पनि
पशुवत् मुल्यको निर्धारणमा ।
चिन्तनलाई बसाईँ सारिएको छ पृथ्वीबाट ।
काकाकुले पानी खान आकाशतिर हेरेझैँ
हरेक हेराइ फर्किरहेछन् उपलब्धिहीन स्वार्थ्तिर ।
आज पनि
जो आकाशको च्यादर ओढेर बिताइरहेछन् कालपरिवेश ।
जसले आफन्त बनाइरहेका छन् — डेन्ड्राइडका गन्धहरू
र माटोको कोमल बिछ्यौनामा पल्टिएर गाइरहेछन्
उदासीनताको संगीत ।
त्यही उदासीनताको संगीतबाट उठाउनु छ —
एउटा अस्तित्वको सवाल
र निकाल्नु छ मौन जुलुस
बोकेर स्वतन्त्रताको आवाज,
च्यात्नु छ मान्छेबिचको भेदलाई
त्यसैले, मलाई आजकल खुब मन पर्न थालेका छन् —
यिनै भुईँमान्छेका कथाहरू ।
तन्द्राङ, गोरखा
Subscribe
Login
0 Comments
Oldest








































