मुचुल्का
त्यही मुचुल्कालाई मानेर आधार देखाओस् मजदुरप्रतिको दायित्व सरकारले र मनाओस् मजदुर दिवसको उत्सव ।
चाहनाको चाङमा
सल्काएर भूसको आगो
कता भौँतारियो अनुसन्धानको सुस्त गोरेटो ?
बिहानैबाट गाँइगुँइ चलेको हल्ला
बतासले उडाएर लान सकेको छैन
प्रहरीको अनुसन्धान केन्द्रमा ।
लडिरहेछ आवाजविहीनको धड्कनरहित अस्तित्व
सडककिनारमा ।
यतै बोकिहिँड्थ्यो
जीवनका भारीहरु हरक्षण
र तान्न खोजिरहन्थ्यो सुखको सुस्केरा ।
लाग्थ्यो कहिल्यै बगेन
उसको रगतमा र विचारमा प्रवाहको परिकल्पना
कहिल्यै देखिएन अत्यासको आँसु
र कहीँ भेटिएन
उसको भाग्यरेखामा पहिचानको पगरी ।
तागाधारीको बिल्ला भिराउन
कहिल्यै देखिएन जनैको डोरो
झल्लरी कमिजको सहारामा ।
मंयोलियन भनूँ भने
चुच्चो नाकको विरुद्ध छ नियम ।
दलितको सीमारेखामा बाँध्नु अपराध ठहरिन्छ
उसको जीवनरेखालाई;
उसले बोकेको छ
महाजनहरुको दुःखलाई आफ्नो थाप्लोमा
र सजिएका छन् धेरैका सपनाहरु ।
कुन कोप्चाबाट निस्किएर आइपुग्यो
एउटा अनाम मान्छे सहरको रहरमा रुमलिन ?
कसैले सोध्न भ्याएनन्
उसको पहिचानको पत्यारिलो जवाफ
र फुक्दै हिँडेन व्यापारको विज्ञापनझैँ
उसले पनि ।
कतै उसले
पसिनामा पखालेर त बगाएन
आफ्नाहरुको सम्झना ?
कतै
पिठ्युँमा सापो हालेर त
च्यातिएको हैन उसको नागरिकता ?
कतै
खोसिएपछि लालपूर्जा
मुखियाको हातबाट
बिर्सेको हो कि पहिलो पाइला टेकेको माटो ?
सहरमा भाग्य खोज्न
मनजस्तै धुजाधुजा कमिज
कहिल्यै फेरिएको देखिएन
उसको भाग्यजस्तै ।
ओ लेखक आऊ र उठाऊ
यो मृत मजदुरको मुचुल्का
थमाइदेऊ सरकारको हातमा
त्यही मुचुल्कालाई मानेर आधार
देखाओस् मजदुरप्रतिको दायित्व सरकारले
र मनाओस् मजदुर दिवसको उत्सव ।
तन्द्राङ, गाेरखा