श्रमिक
फलतः अन्तर्राष्ट्रिय मजदुर कानुन लागू गरे र गराए । आज मे १ का दिन सबै मजदुरले छुट्टी पाए ।
‘आज चाहिँ सास फेर्न पाइयो है ।’ चोक्टाकाजीले लामो सास फेर्दै भने ।
नाम त उनको काजी थियो । अझै पनि उनका बाबुआमाले ‘काजी’ भनेर नै बोलाउँछन् । श्रीरामकहाँ हली बस्न थालेदेखि उनलाई ‘पाजी’ भनेर बोलाउन थाले । बहुदलकालसम्म उनी मन खुम्च्याएर बसेका थिए । गणतन्त्र भित्रेपछि भने असन्तोषी मन देखाइदिए । उनलाई ‘पाजी’ भन्न छाडियो । धनीका दिन सकिए र गरिबका दिन आए भनियो ।
गाह्रो लागे पनि नबोलाई नहुनेले उनलाई ‘काजी’ भनेर बोलाउन थाले । दरिद्रनायकलाई ‘काजी’ भन्न पर्यो भन्न थाले ।
एक दिन खै के घटना भयो । श्रीरामका दलानमा पञ्चायती बस्यो । छोराले लगाएको सुनको टप काजीले नै चोरेको आरोप लगाए । परिबन्दमा पारेर आरोप सत्यमा परिणत गर्न खोजियो । त्यस घटनापछि उनलाई ‘चोरकाजी’ भन्न थालियो । पछिपछि अपभ्रंश गरेर ‘चोक्टाकाजी’ भन्न थालियो ।
उनी जस्तै गाउँठाउँका मजदुरहरूले गोष्ठी गरे । ८/८ घण्टा काम, मनोरञ्जन र आरामको सिद्धान्त बारे भोगाइहरू सुने र सुनाए । मालिकहरू मजदुर एकताबाट डराए । फलतः अन्तर्राष्ट्रिय मजदुर कानुन लागू गरे र गराए । आज मे १ का दिन सबै मजदुरले छुट्टी पाए ।
अचेल उनलाई ‘काजी’ शब्दसँग हैन ‘श्रमिक’ शब्दसँग प्रेम परेको छ । त्यसैले चोक्टाकाजी भन्ने गर्छन्; ‘गरेर खान पाए पुग्यो । दुनियाँको खुनपसिना चुसेर पापको भारी बोक्न नपरोस् ।’
२०७९-०१-१८
कञ्चनरूप-१२, सप्तरी ।
Subscribe
Login
0 Comments
Oldest