सुलसुलेअनुपमको सिर्जनात्मक गुञ्जन
राजधानीको प्रवेश–नाका कलङ्कीमा गत शनिबार अपरान्ह स्रष्टाका काव्यिक स्वरहरु गुञ्जिए । सन्दर्भ थियो– विगत चार वर्षदेखि निरन्तर रूपमा सिर्जनालाई समाजसँग जोड्ने अभियानमा लागेकोे साहित्यिक संस्था अनुपम सिर्जना प्रतिष्ठानको उनन्तीसौँ शृङ्खलाको । कार्यक्रका प्रमुख अतिथि हुनुहुन्थ्यो वरिष्ठ समालोचक प्रा. राजेन्द्र सुवेदी ।
कवि जगदीश्वर पोखरेलले ‘स्वागतम्’ शीर्षक कवितामार्फत् काव्यिक यात्राको आरम्भ गर्नुभएको थियो । समसामयिक विम्ब टिपेर गरिएको उहाँको यो काव्यिक प्रस्तुतिलाई सबैले ताली बजाएर स्वागत गर्नुभयो । त्यसपछि सुरु भयो रचना वाचन । यस क्रममा स्रष्टाहरू रामचन्द्र वनबासी, पूर्णप्रसाद पन्त, केशवराज अर्याल, भिजन गुरागार्इँ, उदास कार्की, घिमिरे मैदेली, भगवती रोका भूमिका, लक्ष्मीप्रसाद मिश्र, श्यामप्रसाद ढुंगाना लगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
त्यसै गरी वीरेन्द्र विवश, दुर्गा रिमाल अधिकारी, रमेशप्रसाद गौतम, हरि खनाल, डा. जीवन अधिकारी, द्वारिका कुइँकेल, तारा के. सी., वीरेन्द्र पौडेल विवश, रविन भुर्तेल, सुमन वाग्ले, रामशरण श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लीलाराज दहाल, प्रभा अधिकारी, अमृत अर्याल, रिता खतिवडा, कालीकोटे अनिश, हरिप्रसाद काफ्ले, ललित बिष्ट, ठाकुरप्रसाद प्रधान, राजेन्द्रप्रसाद ढुंगाना, श्रीधर पौडेल, डिबी रामकोटे, निराजन मौदगल्य, रामप्रसाद पौडेल, भुवनहरि सिग्देल, तुलसीराम पौडेल, रामशरण खड्का, सूर्यप्रसाद पण्डित, राजेन्द्र लगायतका स्रष्टाले आफ्ना साहित्यिक सिर्जना वाचन गर्नुभएको थियो । सिर्जनामार्फत् स्रष्टाहरूले समसामयिक यथार्थहरू खोतल्ने प्रयास मात्र गर्नुभएन, देशका सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक परिदृश्यसमेतलाई पर्गेल्ने काम गर्नुभयो ।
प्रमुख अतिथिको मन्तव्यका क्रममा समालोचक प्रा.राजेन्द्र सुवेदीले वाचित सिर्जनामा सबै किसिमका विषय र भावधारा पाइएको सन्दर्भ उठाउनुभयो । मन्तव्यकै क्रममा उहाँले थप्नुुभयो ‘असचेत सिर्जना हरेक प्राणीमा हुन्छ । कसैको सोचाइको तहमै सीमित रहन्छ, कसैको लेखाइको तहसम्म आइपुग्छ । अनि कसैको विवेचनाको स्तरसम्म आउने गर्छ ।’
कार्यक्रम संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षता एवं संस्थाका सचिव जितु खड्को सञ्चालनमा सम्पन्न भएको थियो । कविता, गीत, गजल मुक्तकजस्ता साहित्यका विविध विधाको प्रस्तुति रहेको उक्त कार्यक्रममा युवा पुस्ताको सघन उपस्थिति रहेको थियो । कलङ्कीको एडमार्क कलेजको सभाकक्षमा करिब तीन घण्टा चलेको एकाग्र वाचनमा स्रष्टाहरूले विशेषतः देशको समसामयिक वस्तुस्थितिलाई सिर्जना मार्फत पछ्याउने जमर्को गर्नुभएको थियो ।
–जितु खड्का
Subscribe
Login
0 Comments
Oldest












































