साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का

Nepal Telecom ad

१.सर्वाेत्कृष्ट नेता !

माल पाएर के गर्नू, चाल नपाएपछि ! उत्कृष्ट र सर्वाेत्कृष्ट चीजबिज हुँदाहुँदै पनि नेपालीको हालत कस्तुरीले विना खोजेर संसार चाहारेजस्तो छ । भोकै बसे अथवा काँचै खाए हुनेमा खाना पकाउने भन्छन् । पैदल हिँड्न सकिने रै’छ, मोटर खोज्छन् । केही नगरी बस्दा हुने रै’छ, लौन केही गरौँ भन्छन् । बिजुलीको तार हेरेर चित्त बुझाए हुनेमा लोडसेडिङ भो भनेर रोइलो गर्छन् । कतिसम्म भने नेता र मन्त्री गतिला भएनन् भनेर गुनासो गर्छन् । क्यै गरे नसकिने यी नेपालीलाई !

हामीसँग विश्वकै उत्कृष्ट मन्त्री छन् तर चिन्दैनौँ, विदेशीले चिनाइदिन पर्छ, भनिदिन पर्छ । विदेशीले चिनेर नै त रामशरण महतलाई उत्कृष्ट घोषणा गरिदिएका छन् । हाम्रा भूतपूर्व मन्त्रीहरू उत्कृष्ट र बहालवालाहरू सर्वाेत्कृष्ट हुन् भनेर खोइ चिनेको ? यिनलाई विदेशीले चिने, हाम्ले चिनेनौँ, यो दोष मन्त्री र नेताहरूको कि हामी जनताको ? मन्त्रीहरू राम्रै हो, दोषजति हाम्रै हो । नामै उत्कृष्ट, कामै उत्कृष्ट ! उत्कृष्ट र सर्वाेत्कृष्ट मन्त्रीहरू चिन्न सक्दैनौँ भने उनका उत्कृष्ट काम पनि बुझ्न सक्दैनौँ । हामी जनता पो नालायक रै’छौँ । अब कुन दिन विदेशी मिडियाले ‘उत्कृष्ट नेता निकृष्ट जनता भएको देश नेपाल’ भनेर घोषणा गरिदिन बेर छैन, होस गरौँ है !

२.तस्करको लस्कर

नाकाबन्दी सुरु भएपछि देश लस्करमय थियो । यता हेरे लस्कर, उता हेरे लस्कर । नेपालको लस्कर अन्तरीक्षबाट समेत देखिन्थ्यो रे तर त्यसको औपचारिक पुष्टि नहुँदै लस्कर हरायो, तस्कर आयो । तीन महिनामै देश लस्करमयबाट तस्करमय बनेको छ । तस्करको लस्करचाहिँ अन्तरीक्षबाट पनि छर्लंग देखिन्छ रे ! अन्तरीक्षबाट देखिए पनि सरकारले भने देख्दैन । देख्न मिले पो देख्नू !

तस्करको लस्कर कति लामो हुन्छ, त्यो पत्ता लगाउन मुस्किल छ । लस्करको छेउ या टुप्पोचाहिँ देख्न सकिन्छ तर लम्बाइ ठम्याउन सकिन्न । लस्करको एक छेउ कि सिंहदरबारबाट सुरु हुन्छ कि पार्टी कार्यालयबाट । एक जना मानिसले सिंहदरबार कता छ भनेर सोधेछ । उसलाई जवाफ दिइएछ, ‘तस्करहरूको यो लस्कर नछाडी जानू, ठ्याक्कै सिंहदरबार पुगिन्छ ।’

गजब के भने यस्तो लस्करको हाँगाबिगासमेत हुन्छ । तस्करको लस्करको एउटा हाँगा कालाबजारियाको हुन्छ । कालाबजारियाको लस्कर पनि यति लामो हुन्छ कि विगतको पेट्रोलरग्यासको लस्कर बिर्साइदिन्छ । कालाबजारियाको लस्करको छेउ या टुप्पोचाहिँ स्थानीय प्रशासनबाट सुरु हुन्छ भनेर नाकाबन्दी शास्त्रमा उल्लेख छ ।

३. महान् शब्दहरू

नेपाली समाज तथा राजनीतिमा नयाँ नयाँ शब्दावली आइरहन्छन्, हराइरहन्छन् । कतिपय शब्दावली सदाबहार हुन्छन् । जस्तो कि– वार्ता, सहमति, आन्दोलन, बन्द, लोडसेडिङ, महँगी, कालोबजार, भ्रष्टाचार, सरकारको विकल्प, निर्णायक, निष्कर्षहीन, सहमति नजिक, राहत, प्याकेज आदि ।

नयाँ आएका शब्दावली– नाकाबन्दी, नाका सहज, ट्याङ्कर भित्रियो, चीनबाट पेट्रोलियम आउने, दसगजा, उपप्रधानमन्त्री मण्डल, हावा बिजुली, चाँडै समाधान हुने, तस्करी, सङ्केत आदि ।

हराएका शब्दावली– नयाँ नेपाल, नयाँ संविधान, भ्रष्टाचार नियन्त्रण, विकास, राहत, स्थिरता, समाधान ।

यति भनिसकेपछि थप व्याख्या गर्न पर्दैन, एक–दुईवटा शब्दबाटै दुनियाँले सबै कुरा छर्लङ्ग बुझ्छन् । त्यसैले यी महान् शब्द हुन् । लस्कर लागेपछि लाग्यो लाग्यो, अन्त्य हुन्न । नाकाबन्दी खत्तम भयो भने ‘फेरि नाकाबन्दी गरिदेऊ’ भन्दै तस्करहरू लस्कर लाग्नेछन् । अर्थात, तस्कर उही, लस्कर उही तर काम भने फरक हुनेछ ।

४. यो हो, नयाँ नेपाल
कसैले पत्याएका थिएनन् तर बन्यो नयाँ नेपाल ! तपाईं–हाम्रो घर–आँगनमै आयो नयाँ नेपाल ! खल्तीमा दाम छ ? छ भने माम पाइन्छ । ग्यास, पेट्रोल सबै पाइन्छ । अचेल देश कालोबजारीले चलाएका छन्, त्यसैले सबै चीज सर्वसुलभ छ ।

पहिले सहजै ग्यास पाइन्थ्यो ? भन्नासाथ पेट्रोल पाइन्थ्यो ? अहँ, पाइन्नथ्यो । अचेल जे पनि पाइन्छ । सरकारी आपूर्ति व्यवस्था क्रियाशील हुँदा जनतालाई दुख थियो, तस्कर र कालोबजारीहरूले आपूर्ति व्यवस्था सम्हालेपछि आराम छ । लाइन लाग्न पर्दैन, सिफारिस र तोकादेश चाहिँदैन । तस्करहरूले ठामको ठाम ग्यास र पेट्रोलियम दिन्छन् । फुत्त खल्तीबाट दाम झिक्नुस्, उभिएकै ठाउँमा चाहेको चीज पाउनुस् । खल्तीमा दाम भएर पनि अभाव भोग्नुपर्ने पुरानो नेपाल, दाम भएपछि जे पनि पाइने नयाँ नेपाल हो ।

तपाईंले चिताउने, तस्करहरूले दिलाउने ! गजब छैन त प्रणाली ? सारा मिलेर ल्याएको लोकतन्त्रभन्दा केही नेताहरूले ल्याएको तस्करीतन्त्र पो प्रभावकारी देखियो । त्यसैले यही आरामदायी प्रणाली नै हो– नयाँ नेपाल ।

नेपाल, माघ १, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x