लक्ष्मण गाम्नागेग्यास–पत्र
तिमी साता–दस दिन बिराएर फोन गर्दैछौ तर मैले उठाएकी छैन । उठाउने इच्छा पनि छैन, भ्याउँदा पनि भ्याउँदिनँ । हिजो ‘मिस यू’, ‘लभ यू’ लेखेर एसएमएस पनि गरेका रहेछौ । पढेर छोराछोरी हाँस्दै थिए । यस्ता कुरा मलाई अचेल ढोंगजस्ता लाग्छन् । मलाई तिम्रो मायाको ढोंग होइन, ग्यासको सिलिन्डर चाहिएको छ । घरमा ग्यास सकिएको ३० दिन भयो । नयाँ प्रधानमन्त्रीले के के न गर्छन् भन्दै तिमी फुरुक फुरुक गर्र्दैथ्यौ, एक वर्षमा देशबाट लोडसेडिङ हटाउँछु भनेर तिनले खोकेकै दिनदेखि हरेक दिन एक घन्टाका दरले लोडसेडिङ बढ्न थाल्यो ।
जुन दिनदेखि ऊर्जामन्त्रीले भात पकाउने समयमा बिजुली काट्दिन भने, त्यसै दिनदेखि बिहान–बेलुकै बिजुली आउन छाड्यो । आधा राततिर पल्याक् पिलिक् आउँदै थियो बत्ती, उठेर पानी तान्ने, तताउने, दाल पकाउने इत्यादि गर्दै थिएँ, सबै मान्छेले त्यसै गर्न थालेछन्, त्यसका बाजेको ठाँडो त्यो ट्रान्सफर्मर पड्केर एक साता भयो बत्तीको मुख देखिएको छैन । ‘खाए खाओ, नखाए घिच’ भनेर तिम्ले ल्याएर फालेको त्यो इन्डक्सनलाई के गरौँ ? लोहोराले हानेर धुल्याइदिउँ ?
दिनरात ग्यासबाहेक अर्थोक केही सोच्न सक्दिनँ । राती निद्रा लाग्दैन, लागे पनि ग्यास नपाएर विरक्त भएको सपना देख्छु । ब्यूँझेर आफैँलाई सराप्छु– थुक्क मेरो कर्म, जलस्रोतमा संसारकै धनी देशमा बसेर इन्धनका लागि यसरी रुवाबासी गर्नुपर्ने !
नुहाउन नपाएर केटाकेटीलाई लुतो आउन लागिसक्यो । तातो पानी कहाँबाट ल्याइदिनु तिम्रा सन्तानलाई ? काँचो, बासी खानेकुरा खाँदै चाउचाउ र चिसो पानी लिएर लुतो कनाउँदै स्कुल जाँदैछन् । ग्यास नभएर हामी सबैलाई ग्यास्ट्रिक भइसक्यो । ठूला–ठूला गफ हान्छौ, ग्यास्ट्रिक उद्योग खोलेर इन्धनमा आत्मनिर्भर बन्न सकिँदैन ? तिम्रो सरकारलाई सोध न एकपल्ट !
तिमी त बिहानभरि मर्निङवाक गयौ होला । ब्याडमिन्टन खेलेर जीउ ततायौ होला । होटलमा साथीहरूसँग भेला भएर सरकारको आलोचना गर्दै, आन्दोलनको गफ हाँक्दै चिया खायौ होला, दुई–तीन कप । हल्लिँदै हल्लिँदै क्वार्टरमा गएर भान्सेले पकाएको तातो भात खायौ होला । भातसँग दाल, तरकारी, अचार पनि थियो होला, होइन ? तिमीलाई त सरुवा भएर बाह्रै महिना दसैँ आइगो, म पो यहाँ बहुलाउँछु कि जस्तो हुँदैछ । बहुलाइहाल्न पाए ढुक्कै हुन्थ्यो कि बरू !
ब्लडप्रेसरको औषधि दिनको एकपटक खान्थेँ, अब दुईपटक खानू भनेर डाक्टरले लेखिदिएको छ । औषधि नपाएर खान छाडेको एक साता भइसक्यो । बेलाबेला भाउन्न भइरहन्छ । नाकामा धर्नाको रमिता हेर्न जान्छु भन्थ्यौ, त्यता जाँदा रक्सौलबाट औषधि किनेर कसैलाई पठाइदिनू । ग्यास ल्यायौ भने औषधि पर्दैन । दुई थोकमध्ये एक थोक पनि पठाएनौ भने कुन दिन पिर्लिक्क हुन्छु र तिमीलाई यी छोराछोरी घाँडा होलान्, विचार गर्नू !
त्यतातिरबाट आउनेहरूले ग्यासका सिलिन्डर ल्याएको ल्यायै छन् । तिमी भने कालोबजारीमा किन्दिन भनेर गुड्डी हाँक्छौ । सरकार नै कालोबजारी गर्छ, तिमी कुन ग्रहबाट झरेका हौ र ! छोराछोरीलाई भोकै राखेर धेरै ढोंग नगर । मेरो अन्तिम कुरा सुन, तीन दिनभित्रमा ग्यास सिलिन्डर लिएर आउने भए आउनू, नत्र यो घर मेरै नाममा छ, विचार गर्नू । धन्यवाद !
नेपाल, माघ १, २०७२
Subscribe
Login
0 Comments
Oldest







































