मूर्खहरू हो नहाँस !
प्रधानमन्त्री ओलीले जनताको घरघरमा खाना पकाउने ग्यासको पाइप फिट गरिदिन्छु, स्विच खिटिक्क पारेर ग्यास अन गर्ने, फिटिक्क पारेर अफ गर्ने व्यवस्था गरिदिन्छु भन्दा अरू त अरू, उनकै कार्यकर्तासमेत पेट मिचीमिची हाँसेछन् । प्रतिपक्षीहरूले प्रधानमन्त्री वा सरकारको खिल्ली उडाउनुलाई उनीहरूको धर्म भन्न सकिएला, फेसबुके उरन्ठ्यौलाहरूले मजाक उडाउनुलाई मूर्खता भन्न सकिएला तर आफ्नै पार्टीका कार्यकर्ताले यसरी खिसीट्युरी गर्दा तिनीहरूलाई अनुशासनहीनताको कारबाही किन नगर्ने ?
असभ्य समाजमा नौलो काम गर्न खोज्नेलाई अज्ञानी र मूर्खहरूले उल्याउँछन्, उडाउँछन्, असहयोग गर्छन् । हाम्रोमा भयो त्यस्तै । नपत्याउनुपर्ने कुरा के थियो र प्रधानमन्त्रीको घोषणामा ? बेडरुम बेडरुममा इन्टरनेट आएको छ । घरमुनि मेलम्चीको पाइप छिरिसक्यो । कोठाकोठामा पत्रपत्रिका आउँछन् । ढोकाढोकामा ग्वाला आउँछन् । आँँगनआँगनमा खाली सिसी पुराना कागजवाला आउँछ । उसो भए भान्साभान्सामा नाथे ग्यासको पाइप किन आउँदैन ? दुई–तीन वर्षको समय दिनूस्, म बाँस र मालिंगाबाट बनेका पाइपबाट ग्यास सप्लाई गर्दिन्छु भनेको भए पनि म त पत्याउँथेँ ।
एक जना प्रधानमन्त्रीले २५ वर्षअघि नै काठमाडौँको सडकलाई मेलम्चीको पानीले पखाल्छु भनेका थिए, त्यो बेला पनि मूर्ख नेपालीहरू गलगलाएर हाँसे र पानी आएन । हाम्रा सडक आजसम्मै मैलाका मैलै रहे । केही वर्षअघि पनि एक जना नेताले देशमा चमत्कार गर्छु भन्दा मान्छेहरू हाँसेर चमत्कार गर्न दिएनन् । वर्तमान प्रधानमन्त्रीले एक वर्षमा लोडसेडिङको अन्त गर्छु भन्ने सामान्य घोषणा गर्दा पनि मानिसहरू हाँसे । मूर्खहरू हाँसेकैले लोडसेडिङ झन् झन् बढ्यो । हाँस्यो कि नास्यो भनेको यही हो । सरकारका प्रमुखले नै काम गर्छु भन्दा किन हाँसेर मर्छन् यी असत्तीहरू !
वर्तमान सरकारका मन्त्रीहरूले थुप्रै यस्ता घोषणाहरू गरिरहेका छन् । हरेक सेवालाई घरघरमा र्पुयाउने उनीहरूको अठोट छ । कति नौला र अग्रगामी घोषणाहरू गर्न बाँकी नै छन् तर प्रतिगामीहरूले हाँसेर अवरोध गरिरहेका छन् ।
ग्यासका सिलिन्डर मात्र होइन, चामलका बोरा पनि बोक्नुपर्ने दिन समाप्त गर्ने सरकारको घोषणा हुन बाँकी नै छ । पाइपबाटै भान्सामा चामल, तरकारी, खाने तेल सबैथोक झार्ने कुरो छ । मोबाइलबाट पिँडालु स्पेस एक किलो टाइप गरेर ४२० मा एसएमएस गरेपछि भान्सामा एक किलो पिँडालु फुत्रुक्क झर्नेछ । ४२०४२० मा एसएमएस गरेर रेडिमेड तरकारी पनि मगाउन सकिनेछ । ‘जिम्मुले झानेको स्वादिलो कालो दाल’ टाइप गरेर ४२०४२०४२० मा एसएमएस गर्नुभयो भने दालको बटुको डाइनिङ टेबुलमा झ्याप्पै आइपुग्नेछ । खेत जोत्ने रोबोटहरूको उत्पादन देशमै हुनेछ ।
सिँचाइका लागि नहर खन्नुको सट्टा बादललाई आकर्षण गरेर आवश्यकता अनुसार पानी वर्षाउने तकनिकीको विकास हुनेछ । आइन्दा एक जना पनि नेपालीले चिसो वा बाढीका कारणले अकालमा मर्नुपर्ने छैन । जति हिउँ र्पयो, उति न्यानो हुने र बाढीमा तैरिने घरहरू निर्माण गरिनेछन् । केही महिनामै मुलुकमा सौर्य ऊर्जाबाट चल्ने गाडीहरूको उत्पादन सुरु गरिनेछ । डेड वर्ष्भित्रमा पूर्व–पश्चिम हुलाकी मार्गलाई आठ लेनको बनाएर त्यसको अन्डरग्राउन्डमा रेल कुदाइनेछ ।
यस्ता थुप्रै आश्चर्यजनक र अज्ञानीहरूका लागि अविश्वसनीय लाग्ने कार्यक्रम घोषणा हुने सम्भावना छ । धैर्य गर मूर्खहरू हो, नहाँस । मुलुकको कार्यकारी प्रमुखलाई र आफ्नै सरकारलाई यसरी नउडाऊ ।
नेपाल, माघ ८, २०७२