सुलसुले‘नारायण ढकालका कथा’ विमोचन
काठमाडौं, जेष्ठ २८, २०७३ । सिमसिम झरीमा काठमाडौंका लेखक, पत्रकार र साहित्य अनुरागीहरू अनामनगरको मण्डला थिएटरभित्र थिए । कुनै नाटक हेर्न होइन, ‘नारायण ढकालका कथा’ नामक संग्रहको विमोचनमा । २०३३ देखि २०६१ सालभित्र ढकाललले लेखेका कथाहरूलाई छानेर फोनिक्स बुक्सले प्रकाशन गरेको हो ।
उपन्यासको विमोचन लेखक अर्चना थापा, टिप्पणीकार उज्जवल प्रसाई , पत्रकार बसन्त बस्नेत र कथाकार स्वयंम नारायण ढकाललले गरे । लेखक अर्चना थापाले नारायण ढकालका कथामा नारी पात्रहरू छायामा परेको, एकै किसिमले प्रस्तुत गरिएको टिप्पणी गरिन् । ढकालको त्यस बेलाको कथामा काठमाडौं उपत्यकाभित्रको जनजीवन प्रतिविम्बित भएको, कतिपय पात्रले सीमान्तकृत र तल्लो वर्गको प्रतिनिधित्व गरेको टिप्पणी थापाको थियो । पत्रकार बस्नेतले वाल्यकालदेखी नै आफुले ढकालका कथा र रचना पढदै हुर्केको बताउदै भने, ‘कथाकार श्याम व्यङ्ग्यका कथा लेख्न खप्पिस छन् ।’ बस्नेतले ढकालका कथामा समाज व्यवस्थाको प्रभावशाली चित्रण भएको मात्रै बताएनन्, उनको लेखनले गम्भीर बहसको खोजी गर्ने समेत बताए ।
अर्का बक्ता उज्जवल प्रसाईले पछिल्लो समयमा कि त रुवाउने कि त हँसाउने खालका साहित्य मात्रै बजारमा आईरहेको टिप्पणी गरे । उनले यस्तो साहित्यले बजारमा प्रभाव जमाएका बेला ढकाल फरक खालको लेखनीमा रहेको बताए । प्रसाईले भने, ‘गम्भीर विषयहरू साहित्यको मुलधार नबनेर हल्काफुल्का विषयहरू साहित्यको मुलधार बन्ने खतरा छ । तर ढकालका कथाले भने गम्भिर प्रश्नहरू उब्जाएको छ ।’ कथाकार ढकाललले आफ्ना प्रकाशित कथाहरूलाई प्रकाशकको आग्रहमा छानेर संगृहीत गरेको बताए । उनको पछिल्लो कथा संग्रह इन्द्रजालमा प्रकाशित कथा भने यो संग्रहमा समेटिएका छैनन् ।
Subscribe
Login
0 Comments
Oldest












































