सुलसुलेमन्जनका १५ पुस्तक लोकार्पित
काठमाडौं । छोरी विज्ञता कार्कीको १५ औँ जन्मोत्सवका अवसरमा साहित्यकार विनोद मन्जनले आफ्ना १५ वटा कृतिहरू एक समारोहको बीच लोकार्पित गर्नुभयो । शब्दपथ विश्व साहित्य समाज, नेपालले आयोजना गरेको मन्जनका लोकार्पित कृतिहरूमा नाटक, समालोचना, दैनिकी, कविता, गीत, गजल, मुक्तक, हाइकु, निबन्ध, यात्रा निबन्ध, अनुसन्धात्मक लेख, भूमिका संग्रह आदि विषयहरू रहेका छन् ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, एमालेका महासचिव ईश्वर पोखरेल, पोलिटव्युरो सदस्य महेन्द्रबहादुर पाण्डे, एमाले नेता रघुजी पन्त, डा. मोदनाथ प्रश्रित, नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, साहित्यकार निनु चापागाई, कथाकार माया ठकुरी, राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई आदिको सहभागिता थियो ।
कार्यक्रममा मन्जनका अभिशाप, सम्यक दृष्टि, दैनिकीका दृश्यहरू, जीवनको जून, प्रेमको पिङ, एक्काइसौं शताब्दीको मान्छे, कला भनेर सिर्जनाबाट टाढा र विचार भनेर जनताबाट टाढा हुन सक्छ र ?, मनको धुन, पूmलको आवाज, मानस चित्र, मस्तिष्कको मधानी, शास्त्रको शास्त्र, सिर्जनाको साथी, भावालु दृष्टिकोण, विज्ञताको जन्मोत्सव र स्थाली पुलाक न्याय समेत गरी १५ वटा कृतिहरू विमोचन गरिएको थियो ।
विमोचन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, एम्बिसन एकेडेमीका प्रिन्सिपल विष्णु घिमिरे, विमला नेपाल र निलम सापकोटा लगायतले स्रष्टा विनोद मन्जन र उनका कृतिका बारेमा प्रकाश पार्नुभएको थियो । विशेष गरी निबन्ध र समालोचनाका विषयमा बढी कलम चलाउनुहुने मन्जनका हालसम्म ३९ वटा कृतिहरू प्रकाशित भइसकेका छन् ।
Subscribe
Login
0 Comments
Oldest












































