नरनाथ लुइँटेलअर्घाखाँचीका असिम उत्कृष्ट

कार्तिक १९, २०७४ । धरानमा जमघट भएका कविहरूको माहोलमा सन्धीखर्क अर्घाखाँचीका असिम सागर अब्बल दरिए । {{read_more}}
अर्घाखाँचीबाट कविता वाचन गर्न धरान आएका असिम सागरको ‘चक्र’ शीर्षकको कविता विमल गुरुङको ४३ औं जन्मजयन्ती तथा विमल स्मृति पुस्तकालयको २७ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित राष्ट्रिय कविता प्रतियोगितामा अब्बल दरिएसँगै नगद २० हजार र प्रमाणपत्र पाए । उनले भने, ‘कविता लेख्नु मेरो लागि जीवनलाई आनन्दित बनाउँदै समाजप्रतिको दायित्व पूरा गर्नु पनि हो । प्रथम पुरस्कार प्राप्तिसँगै मैले अब अझै खारिएका शक्तिशाली कविता लेख्नु जरुरी ठानेको छु ।’
धरान–१८ बुद्धचोकस्थित पुस्तकालयको भवनमा आयोजित प्रतियोगितामा तनहुँका प्रकाश रम्घाली द्वितीय भए । रम्घालीले नगद १५ हजार प्राप्त गरे भने मोरङ रतुवामाईका मनोज मुस्किल तृतीय भए । मनोजले नगद १० हजार पाए ।
मुलुकभरका कविहरूबाट प्राप्त १ सय ६५ कवितामध्ये उत्कृष्ट १५ कविता पहिला छनोट गरी स्वयम् कविले वाचन गरेका थिए । प्रतियोगिताका निर्णायहरूमा मनु मन्जिल र बद्री भिखारी थिए ।
विजेता कविहरूलाई बरिष्ठ कवि अनिल पौडेल, आयोजक पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णवहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा अग्रज कविद्वय धरानका वम देवान र मोरङ उर्लाबारीकी मिश्र वैजयन्तीलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो । उनीहरूलाई नेपाली साहित्यमा दिएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो । संस्थागतरूपमा माउण्ट हर्मन स्कुललाई सम्मान गरिएको थियो ।
१९ वर्षको कलिलो उमेरमै कविता लेखेर चर्चा कमाइरहेको बेला सवारी दुर्घटनामा परी मृत्यु भएका एक्लो छोरा विमलको स्मृतिमा लाहुरे बाबु पुर्णवहादुर गुरुङले ०४८ सालमा छोराले अध्ययन गरेका पुस्तकहरू र लेखेका कविताहरू समेटेर पुस्तकालय स्थापना गरेका हुन् । पुस्तकालयले गत बर्ष ५० लाख रूपैयाँको अक्षय कोषसमेत स्थापना गरेको छ ।
–प्रदीप मेन्याङ्बो, धरान
Subscribe
Login
0 Comments
Oldest








































