साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वालिङमा साहित्यिक तथा भाषिक गोष्ठी 

Nepal Telecom ad

भेषजराज साहित्य प्रतिष्ठान, स्याङजाको वालिङमा स्थापित संस्कृति, भाषा, साहित्य, कलाको संवृद्धिका लागि विगत एक दशकभन्दा अघिदेखि अनवरत रूपमा क्रियाशील साहित्यिक संस्था हो । पुस्तक प्रकाशन, विविध साहित्यिक तथा भाषिक गोष्ठीहरू, प्रतियोगितात्मक कार्यक्रमहरू गर्दै आएको यस संस्थाले नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडाैंसँगको सहकार्यमा यस पटक आफ्नो तेस्रो अधिवेशनको अवसर पारी काव्य तथा मातृभाषा (मगर र उर्दू) सँग सम्बन्धित गोष्ठी सम्पन्न गरेको छ ।{{read_more}} 

प्रमुख अतिथिका रूपमा रहनु भएका विशिष्ट भाषा तथा साहित्य साधक पीताम्बर शर्मा नेपालीले नेपालमा बोलिने मातृभाषाहरूमध्ये मगर र उर्दू पनि ज्यादै जीवन्त भाषा हुन् । भाषिक दृष्टिकोणले मगरभन्दा उर्दू भाषा सम्पन्न भए तापनि स्याङ्जामा मुस्लिम समुदायको तुलनामा मगरहरू धेरै भएको हुनाले मातृभाषाका रूपमा मगर भाषाको प्रयोग बढी भएको उल्लेख गर्नुभयो । त्यसै गरी मन्तव्यका क्रममा उहाँले थप्नुुभयो– ‘नेपाली भाषालाई संवृद्ध बनाउन पनि मगर र उर्दू भाषाले मनग्गे सहयोग गरेका छन् । त्यसैले यी भाषाहरूका बारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने, यिनका लिपिहरूलाई जोगाउनुपर्ने तथा यी भाषाका वक्ताहरूलाई आफ्नै भाषामा कृतिहरू प्रकाशन गर्नमा प्रेरित गर्नुपर्छ ।’ 
कार्यक्रममा कार्यपत्र प्रस्तोता लोकबहादुर थापाले ‘स्याङ्जामा मगर तथा मुसलमान समुदाय : एक दृष्टि’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै स्याङ्जा जिल्लामा मगर र मुसलमान समुदायहरूको बसोबास लामै समय अघिदेखि भइआएकाले यी भाषाहरू यहाँ जीवन्त छन् । त्यसैले यी भाषाहरूको संवृद्धिका लागि यस्ता खाले कार्यक्रमहरू गर्दै जानुपर्ने कुरा औंल्याउनुभयो ।

कार्यपत्र माथि गुमानसिङ रानाले टिप्पणी गर्दै प्राज्ञ लोकबहादुर थापाले प्रस्तुत गर्नुभएको कार्यपत्र निकै परिश्रमपूर्वक तयार गरिएको, भाषा पनि मीठो एवं यथार्थको नजिक रहेकोले परिवर्तन गर्नु  आवश्यक नरहेको कुरा जानकारी गराउनुभयो । साथै मगरको जस्तै स्याङ्जाबाट प्रकाशित उर्दू भाषाका कृतिहरूको बारेमा पनि उल्लेख गर्न सकेको भए अझ राम्रो हुनेथियो भन्नुभयो । कार्यक्रममा केदार शर्मा ढकाल, पूर्वमन्त्री तथा साहित्यकार त्रिलोचन ढकाल, प्राध्यापक कृष्णप्रसाद अर्याल, साहित्यकार देवीप्रसाद वनवासी, विश्वप्रेम अधिकारी, मित्रलाल पंज्ञानी, चिन्तु गिरी, भुवनहरि सिग्देल, सूर्यप्रसाद डुम्रे, अग्निकुमार पल्लव, नारायणप्रसाद पोखरेल, महाकाव्यकार माधव वियोगी, डा. शुक्रराज अधिकारी, नारयण परिश्रमी, लक्ष्मण हिमाली, लेखनाथ काफ्ले, प्रेमराज लुइँटेल, डिल्लीराम भण्डारी, लक्ष्मी काफ्ले, टिकराज गुरुङलगायतका वक्ताहरूले आ–आफ्ना रचना तथा शुभकामना मन्तव्य राख्दै कार्यक्रम ज्यादै महत्वपूर्ण रहेको बताउनुभयो ।

उक्त कार्यक्रमसँगै काव्यगोष्ठी, भेषजविन्दु साहित्यिक पुरस्कार, भेषजराज साहित्यिक सम्मान, पुस्तक विमोचन आदि कार्यक्रमहरूसमेत समावेश गरिएको थियो । काव्यगोष्ठीमा उपस्थित काठमाडाँै, गोरखा, कास्की, पाल्पा र स्याङ्जाका कवि तथा कवयित्रीहरूले आ–आफ्ना रचना वाचन गरेका थिए । यस क्रममा स्रष्टा भुवनहरि सिग्देलले पद्य कविताको चर्चा गर्दै नयाँनयाँ छन्दहरूको पनि सिर्जना गर्न सकिने कुरामा जोड दिनुभयो । अन्य स्रष्टाहरूले पनि कविताको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा स्याङ्जाका अग्रज स्रष्टा केदार शर्मा ढकाललाई भेषजविन्दु साहित्यिक पुरस्कार–२०७४, साहित्यकारद्वय देवीप्रसाद वनवासी र पीताम्बर शर्मा नेपालीलाई भेषजराज साहित्यिक सम्मान–२०७४, प्रदान गरिएको थियो भने भेषजराज शर्माका बारेमा शोध कार्य गर्ने शोधार्थीहरू श्यामप्रसाद ढुङ्गाना, मेघराज सापकोटा र गीता न्यौपाने कँडेललाई भेषजराज शोध सम्मान प्रदान गरिएको थियो  । यसै प्रतिष्ठानकी सदस्य गायत्री लम्सालद्वारा लिखित हास्यव्यङ्ग्य निबन्धसंग्रह ‘भरपाई’ को विमोचन पनि गरिएको थियो । विमोचित कृतिको समीक्षा स्याङ्जाली स्रष्टा मिलन समीरले गर्नुभएको थियो ।

वालिङ बहुमुखी क्याम्पसको सभाहलमा सञ्चालित यस कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका सदस्य एवम् कार्यक्रम संयोजक यमकान्त खनाल, स्वागत मन्तव्य कोषाध्यक्ष दिनेश अर्यालले, धन्यवादज्ञापन सदस्य विष्णुप्रसाद अर्यालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।

स्थानीय मगर तथा उर्दू मातृभाषीहरू, विद्यार्थी, भाषा साहित्यका साधकहरू, कलाकारहरू, राजनीतिकर्मीहरू, सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको प्रत्यक्ष प्रसारण तथा फाइलटेपको प्रसारण वालिङ टेलिभिजन एवं रेडियो आँधिखोलाबाट भएको थियो भने गोरखापत्र राष्ट्रिय दैनिक, समाधान राष्ट्रिय दैनिक, पब्लिक आवाज साप्ताहिकलगायतका छापा माध्यमहरूबाट पनि विभिन्न शीर्षकमा समाचार सम्प्रेषण भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x