साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढकाल स्मृतिग्रन्थ लोकार्पित

Nepal Telecom ad

समाजसेवी एवम् ज्येष्ठ नागरिक अधिकार प्राप्तिको सङ्घर्षका अथकित योद्धा सीताराम ढकालको देहावसान भएको एक वर्षमा उहाँका परिवारजनले ‘सीताराम पदमकुमारी फाउन्डेसन’ दर्ता गरेर सोही फाउन्डेसनको सक्रियतामा तयार पारिएको ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ ग्रन्थको पुस २४ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष सामारोहको अध्यक्षता सीताराम पदमकुमार फाउन्डेसनका अध्यक्ष विश्वमणि गौतमले गर्नुभएको थियो भने सञ्चालन देवीप्रसाद घिमिरेले गर्नुभएको थियो । समारोहमा विशिष्ट अतिथिका रूपमा पूर्व मन्त्री टङ्कप्रसाद ढकाल उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा पूर्व मन्त्री एवम् साहित्यकार शङ्करप्रसाद कोइराला, पूर्व राज्यमन्त्री पदम राई, संविधानसभा सदस्य सीताकुमारी लुइटेल, वरिष्ठ साहित्यकार एवम् स्मृतिग्रन्थका प्रधान सम्पादक कुलप्रसाद पराजुली, प्राज्ञ डा.देवी नेपाल, प्राज्ञ शशी लुमुम्बू, राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला, डा.विप्लव ढकाल, पूर्व सचिव चन्द्र घिमिरे, साहित्यकार महेशविक्रम शाह, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकाल, प्रा.डा.गोविन्दमानसिंह कार्की, प्रा.डा.शैलेन्दुप्रकाश नेपाल, ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठ, राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारी, ग्रन्थका सम्पादक रमेश पोखरेल, शान्ति टोल सुधार समितिकी अध्यक्ष इन्दु सापकोटालगायतको उपस्थिति रहेको थियो ।

समारोहमा उपस्थित विशिष्ट व्यक्तिहरूलाई फाउन्डेसनकी उपाध्यक्ष एवम् साहित्यकार विन्दु अधिकारी ढकालले स्वागत गर्नुभएको थियो भने ‘पाकाको भाका’ शीर्षकको कविता सुन्दर वाचन गरेर मन्त्रमुग्ध बनाएकी थिइन् एम्बिसन एकेडेमीको विद्यार्थी बहिनीले ।

प्रमुख अतिथिले ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ ग्रन्थको र सीताराम ढकालका सहोदर कान्छा भाइ गङ्गाप्रसाद ढकालद्वारा रचित ‘निगालझाप्राका सुसेली’ कविता तथा गीतसङ्ग्रहको लोकार्पण गर्नुभयो भने लोकार्पित स्मृतिग्रन्थका बारेमा प्रा.डा.गोविन्दमानसिंह कार्की, प्रा.डा.शैलेन्दुप्रकाश नेपाल र रमेश पोखरेलले विविध कोणबाट टिप्पणी गर्नुभएको थियो ।

समारोहमा ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले शुभकामना दिनुभयो, डा.विप्लव ढकालले कविताकै माध्यमबाट शुभकामना व्यक्त गर्नुभयो र ज्येष्ठ नागरिकको योगदानको चर्चा गर्नुभयो । प्रधान सम्पादक कुलप्रसाद पराजुलीले ग्रन्थ प्रकाशनका बारेमा प्रकाश पार्नुहुँदै सबैको प्रयत्नले महत्त्वपूणर् ग्रन्थ तयार भएको समीक्षा गर्नुभयो । डा.देवी नेपालले ज्येष्ठ नागरिकको सम्मानमा कविता वाचन गर्नुभयो भने हास्यकलाकार मनोज गजुरेल र शङ्करप्रसाद कोइरालाले शुभकामना व्यक्त गर्नुभयो । भोजपुरे चेलीहरूले सङ्गिनी गाउनुभयो भने ढुण्डीराज अधिकारीले हाक्पारे गाउनुभएको थियो ।

समारोहमा ज्येष्ठ नागरिक ९२ वर्षीय गोपाल प्रजापतीलाई सम्मान गरिएको थियो भने फाउन्डेसनका आजीवन सदस्यलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ स्मृतिग्रन्थको लोकार्पणको आजको यो विशेष समारोहको व्यवस्थापन निकै राम्रो लागेको; आफ्ना पिता, सामाजसेवी व्यक्तित्वको सम्मानमा परिवारजनको विशेष पहलमा उहाँले गर्नुभएका सत्कर्मको अभिलेखन गर्ने महत्त्वपूणर् कार्य भएको छ । गु्णग्राही परिवारजनका तर्फबाट आफ्ना अभिभावकले समाजसेवाका माध्यमबाट, ज्येष्ठ नागरिकका अधिकारप्राप्तिका लागि गरेका सङ्घर्ष र प्राप्त उपलब्धि सबैलाई अभिलिखित गर्ने यो सत्कार्य आफैँमा अनुकरणीय रहेको छ । ज्येष्ठ नागरिक सीताराममा भोजपुरे चेतनाको प्रभाव परेको, कृषि अर्थतन्त्रको विकासमा वैज्ञानिक खेती प्रणाली आवश्यक छ भन्ने चेतना समुन्नत रहेको, समाज विकासका माध्यमबाट समुन्नत राष्ट्र बनाउनुपर्छ भन्ने मान्यता राख्ने अभिभावकलाई गुमनाम हुन नदिन र समाज रूपान्तरणका अभियन्ता तथा देशभक्त समाजसुधारकलाई चिनाउने र उहाँले गर्नुभएका सत्कर्मलाई अभिलिखित गर्न गरिएको यो प्रयत्न अत्यन्तै अनुकरणीय रहेको छ । अब सीताराम पारिवारिक अवस्थाबाट माथि उठेर राष्ट्रिय व्यक्तित्व यसै कृतिका माध्यमबाट बन्नु हने छ । यो स्तुत्य कार्य असल संस्कारको उपज पनि हो । यो सत्कार्यका लागि तपाई परिवारजनलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु भन्नुभयो ।

उपस्थित व्यक्तित्वहरूलाई र ग्रन्थ प्रकाशनमा रचना उपलब्ध गराइदिनेहरू, सम्पादन गरिदिनेहरू, प्रकाशनको चरणमा पुर्याइदिनेहरू, निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिने प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिज्यूहरू आदि सबै सबैलाई फाउन्डेसनका तर्फबाट भीमप्रसाद ढकालले धन्यवाद अर्पण गर्नुभयो भने सभाध्यक्षले सबै सबैलाई आभार व्यक्त गर्दै समारोहको समापन गर्नुभयो ।

रमेश पोख्रेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x