साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँबुखैरेनीमा आदिमूल शरदकालीन काव्योत्सव

तनहुँको आँबुखैरनी गाउँपालिकाद्वारा हालै गठित आँबुखैरेनी वाङ्मय परिषद्ले आफ्नो पहिलो कार्यक्रमका रूपमा आदिमूल शरदकालनी काव्योत्सव शनिबार सम्पन्न गरेको छ ।

Nepal Telecom ad

पोखरा । तनहुँको आँबुखैरनी गाउँपालिकाद्वारा हालै गठित आँबुखैरेनी वाङ्मय परिषद्ले आफ्नो पहिलो कार्यक्रमका रूपमा आदिमूल शरदकालनी काव्योत्सव शनिबार सम्पन्न गरेको छ ।

आँबुखैरेनीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र आदिमूलमा आयोजना गरिएको कार्यक्रममा देशभरका ४० भन्दा बढी साहित्यकारहरू निम्त्याइएका थिए । आदिमूलले प्रशस्त पर्यटकीय सम्भवना बोकेको भन्दै साहित्यकारहरूले साहित्यका माध्यमबाट पर्यटकीय क्षेत्रको उजागरमा गाउँपालिकाले खेलेको भूमिकाको प्रशंसा गरे ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले साहित्यमा आमाको भाषा लेखिनुपर्नेमा जोड दिए । ‘आफूले मात्रै बुझ्ने साहित्य लेखेर के काम ?’ उनले भने, साहित्यिक सिर्जना आमा मानिसले बुझ्ने गरी सामाज परिवर्तनका लागि लेखिनुपर्छ । त्यसमा पनि कवि होइन, कविता स्वयम् बोलोस् ।’ उनले गाउँपालिकाले भौतिक विकासका अलावा मानवीय चेतना उकास्नका लागि वाङ्मय परिषद्को गठन गरिएको जनाए ।

आदिमूलले सिङ्गो गाउँपालिकालाई नै ठुलो फाइदा दिन सक्ने भएकाले यसको विकासका लागि योजनाहरू निर्माण गरिएको जनाउँदै उनले नेपालकै सबैभन्दा अग्लो झोलुङ्गे पुल आँबुखैरेनीमै भएको दाबी गरे । बागलुङ-पर्वत जोड्ने पुललाई अग्लो झोलुङ्गे पुलका रूपमा चिनिँदै आएकोमा चुमानले भने नेपालकै अग्लो झोलुङ्गै पुल आँबुखैरेनीको आदिमूल क्षेत्रमा रहेको जिकिर गरे । परिषद्मार्फत् यस आर्थिक वर्षमा वाङ्मयिक कार्यक्रमका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

परिषद्का समेत अध्यक्ष रहेका कार्यक्रमका अध्यक्ष अनिल श्रेष्ठले परिषद्मार्फत् वाङ्मयका विभिन्न विधागत कार्यक्रमहरू गरिने जानकारी दिए । ‘सुरु मात्रै भएको छ, अब क्रमशः रचना, बहस र प्रकाशनका कार्यहरू गर्ने छौँ’ अध्यक्ष श्रेष्ठले भने, ‘गाउँपालिकाको सकारात्मक सोचबाट यो प्रयास सम्भव भएको छ ।’

कार्यक्रममा गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष डा. कृष्णराज अधिकारीले वाचित रचनाहरूको समीक्षा गरेका थिए । उनले आँबुखैरेनीले नेपाली साहित्यिक क्षेत्रमा ऐतिहासिक महत्त्व राख्ने खालको योगदान गरेको भन्दै गाउँपालिकाको प्रशंसा गरे ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल दुर्गा अर्याल, डा. खुमनारायण पौडेल, काजी रोशन, अनुराग अधिकारी, भीम रानाभाट, नारायण मरासिनी, रमेश प्रभात, सरेन्द्र अस्तफल, शैलज पौडेल, तेजविलास अधिकारी, कमल सापकोटा, खगेश्वर सापकोटा, बलराम भण्डारी, श्रीराम भट्टराई, कमल सुवेदी, सानुकाजी थापा, अम्बिका अर्याल, शारदा पराजुली, लक्ष्मण बगाले, सिर्जना अधिकारी, माणिकरत्न शाक्य, सुवास गजुरेल, आकाश अधिकारी, शिव आर्य, मणिराज सिंह, सुरेन्द्र देवकोटा, चिन्तु गिरी, अर्जुन ढकाललगायतले रचना वाचन गरेका थिए ।

सो अवसरमा स्थानीय आँदिमूल आमा समूह र क्लबले कौरा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन परिषद्का सचिव युवराज बगालेले गरेका थिए ।

०००

– रुपिन्द्र प्रभावी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x