साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शताब्दीपुरुष वाङमयसेवी सत्यमोहन जोशीको निधन

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान ७.०९ बजे निधन भएको छ ।

Nepal Telecom ad

काठमाडौं, ३० असोज, ०७९ । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान ७.०९ बजे निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीकाे मुटु र प्रोष्टेटको समस्या थियो । उहाँमा कमजोरी बढेपछि गत असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उहाँमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

वि.सं. १९७७ वैशाख ३० गते जन्मिनु भएका जोशी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आउनुभएको थियो । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुनुहुन्छ । उहाँका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेकाे  थियाे ।

उहाँको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निणर्य गरेको थियो ।

२०७१ सालमा त्रिमूर्ति निकेतनले उहाँलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।

२०७० सालमा उहाँ पद्मश्री साधनाबाट सम्मानित हुनुभएको थियो । नेपाल सरकारले उहाँलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निणर्य समेत गरेको थियो ।

नेपाली संस्कृतिका विविध विषयक्षेत्रमा घन्टौँ व्याख्यान गर्ने क्षमताका जोशीको पार्थिव शरीर उहाँ आफैले शरीर दान गर्नुभएको हुँदा दाहसंस्कार नगरिने उहाँको परिवारिक श्रोतले जानकारी दिएको छ ।

जोशीको पार्थिव शरीर अन्तिम दर्शनका लागि ललितपुर नगरपालिका परिसरमा साँझ ४ बजेसम्म राखिने र त्यसपछि मेडिकलेज लगिने नगरपालिका श्रोतले बताएको छ ।

राजनीतिक, शैक्षिक, सांस्कृतिक सामाजिक क्षेत्रका विशिष्ट व्यक्ति एवम् सर्वसाधारणले ललितपुर महानगर परिसर पुगेर अन्तिम दर्शन गरिरहेका छन्

वाङमयसेवी शताब्दीपुरुष सत्यमोहन जोशीप्रति हार्दिक शब्दश्रद्धा ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x