सुलसुलेकविता आवृति प्रतियोगिता तथा सम्मान कार्यक्रम
प्रत्येक वर्ष मनाइँदै आएको सो दिवसको अवसर पारेर मिरिकको साहित्यिक गौरव स्वर्गीय कवयित्री कमला राईको स्मरण गर्दै उक्त आवृत्ति प्रतियोगिता आयोजना गरिएको हो ।

मिरिक, भारत । यही मङ्सिर १० गते शनिवार २०७९ तदनुसार २६ नोभेम्बर २०२२ का दिन दार्जिलिङ जिलाअन्तर्गत मिरिक नगरपालिकाको पनि महकुमा क्षेत्रभरि रहेका विभिन्न सरकारी प्राथमिक पाठशाला (विद्यालय) अन्तर्गत कक्षा चार र पाँचका भाइबहिनीहरूलाई सहभागी गराई कविता आवृत्ति प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो ।
देशको मूल कानून मानिएको संविधान र भोलिका कणर्धार बालबालिकाका संरक्षण र सम्वर्धनका निमित्त प्रत्येक वर्ष मनाइँदै आएको सो दिवसको अवसर पारेर मिरिकको साहित्यिक गौरव स्वर्गीय कवयित्री कमला राईको स्मरण गर्दै उक्त आवृत्ति प्रतियोगिता आयोजना गरिएको हो ।
मुहकमा शासक कार्यालयको सभाहलमा आयोजना गरिएको सो कार्यक्रममा मूलतः महकुमा क्षेत्रका करिब २५ वटा पाठशालाका करिब ४० जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए । मिरिक क्षेत्रमा रहेका प्राथमिक पाठशालाहरूको पुरानो चौतर्फी (साहित्य, सङ्गीत, कला-संस्कृति) गरिमालाई पुनस्र्थापना गर्ने उद्देश्यले सिर्जनावाचनको केन्द्रीयतामा अरू पनि विविध कार्यक्रमका साथ यो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सहजीकरणकर्ता, थर्बु उच्चतर माध्यमिक विद्यालयका कुशल शिक्षक एवम् कथाकार दीप प्रधानले थप जानकारी दिए ।
कार्यक्रममा गणेश बराईलीको अध्यक्षता, पीके स्याङ्बोको प्रमुख आतिथ्य र विशिष्ट अतिथिहरूमा एसडीओ मिरिक, डीएमडीसी मिरिक, बीडीओ मिरिक, २४ नं.समष्टिका सभासद मिलेस राई, साहित्य सुनौँ परिवारका अध्यक्ष आरबी राई, नागरिक मञ्चका अध्यक्ष ग्याल्बो लामा र प्रतिनिधि शिक्षक वर्गसमेतको उपस्थिति रहेको थियो ।
त्यसो त भारतीय भूगोलका सिर्जनशील कार्यक्रमहरू प्रायः बृत्ताकारीय र बहुआयामिक त हुने नै गर्दछ त्यसमा पनि कार्यक्रमको उद्देश्य र व्यवस्थापनको तालमेलमा पनि उत्तम गुण आएको अनुभूति हुन्छ । स्रष्टा र सिर्जनाको बगैँचामा अनुज पुस्तादेखि अग्रज पुस्तासम्मका सिर्जना मोहले प्रष्फुटन हुने वा प्रस्तुत गर्ने अवसरको खुल्ला प्लेटफर्म हुन् यी र यस्ता किसिमका साहित्यिक वा गैरसाहित्यिक कार्यक्रमहरू ।
कार्यक्रममा साहित्यलाई केन्द्र बनाइएको भए तापनि यहाँ बालबालिकाका ऊर्जास्वरूप बाल वृत्तचित्र, साँस्कृतिक चेतनाको लागि कला संरक्षणार्थ वाद्यवादन, नेपाली नृत्यकला तथा दिवङ्गत स्रष्टाहरूको सम्मानार्थ प्रतिनिधित्व गर्न कवयित्री कमला राईको वृत्तचित्र पनि प्रस्तुत भएका थिए ।
अतिथिहरूबाट खादा ग्रहण गरेपश्चात दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उदघाटन गरेपछि क्रमशः ज्ञातअज्ञात स्रष्टाहरूप्रति मौन धारण, राष्ट्रप्रति समर्पित राष्ट्रगान र विद्याकी देवी सरस्वतीको बन्दना पनि प्रस्तुत भएका थिए । त्यसैगरी बालदिवस र संविधान दिवसको अवसरमा प्रतियोगी नानीबाबूहरूबाट बालमनोविज्ञानको उर्वर हृदयबाट कलिला चेतनाको खुसबुदार लय प्रस्तुत भए भने सो प्रतियोगितामा मूल्याङ्कनको ब्रह्मचित्त प्रयोगार्थ नारी हस्ताक्षर कमला तामाङको संयोजकत्वमा तीन सदस्यीय निणर्ायक टोलीअन्तर्गत विनोद खाती र छन्दोबद्ध कवि विष्णुकुमार बराइलीको ऐक्यबद्धता रहेको थियो ।
यसरी मूल्याङ्कनको घेराभित्र विजय प्राप्त गर्ने नानीबाबूहरूमा- अभिमन्यू राई (सिङ्बोली प्राथमिक पाठशाला मिरिक) प्रथम, जस्मिन गुरुङ (मिरिक प्राथमिक पाठशाला, मिरिक) दोस्रो, जोसेफ लामा (सिङ्बोली प्राथमिक पाठशाला) तेस्रो रहेका छन् । त्यसपछि प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने नानीबाबूहरूलाई ऊर्जास्वरूप आयोजकको तर्फबाट पुरस्कार र प्रमाण-पत्र हस्तान्तरण गरिएको थियो ।
समाजमा असल कार्य गर्ने र गराउने व्यक्तित्वहरूको चित्त खुस गर्नाको निमित्त र योगदानको उचित कदर गर्दै (पारितोषिक) सम्मान पनि हस्तान्तरण गरिएको थियो । सम्मान पाउने व्यक्तित्वहरूमा पुस्तकालय सम्बन्धी क्रमशः पुस्तकालयका असल कर्मचारी तथा जमिनदाता कुमार प्रधान, पुस्तकालयकै नियमित पाठकद्वय ज्ञानोदा राई र पुष्पकमल राई तथा बाग्राकोटबाट आएर पनि यो कार्यक्रमलाई थप सफल बनाएबापत सरोजा थापालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यतिर कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिको तर्फबाट मन्तव्य पनि प्रस्तुत भएपछि कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको अनुभूति उपस्थित सबैले सुनाएका थिए ।
कथाकार दीप प्रधान र अम्बिका थापाद्वारा सहजीकरण गरिएको कार्यक्रममा पुस्तकालयका अधिकारी शीला गुरुङको स्वागत मन्तव्य रहेको थियो भने नगरपालिकाका पुस्तकालय सचिव एस.बी गजमेरले कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रकाश पारेका थिए ।
०००
– मिरिकबाट नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest












































