साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौँडा बाल कला-साहित्य महोत्सव २०७९ आयोजना गरिने

हेटौँडा उप-महानगरपालिका, प्याब्सन मकवानपुर, सर्जक सञ्जाल मकवानपुर, बुक ल्याण्ड, नेपाल बालसाहित्य समाज, सृजनालय, कारखाना, बाल उदयको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुनेछ ।

Nepal Telecom ad

माघ २१, हेटौंडा । नवोदय शिशु सदन विद्यालय, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौँ पब्लिकेसनले तेस्रो हेटौँडा बाल कला-साहित्य महोत्सव २०७९ आयोजना गर्न लागेको छ ।

हेटौँडा उप-महानगरपालिका, प्याब्सन मकवानपुर, सर्जक सञ्जाल मकवानपुर, बुक ल्याण्ड, नेपाल बालसाहित्य समाज, सृजनालय, कारखाना, बाल उदयको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुनेछ ।

विद्यालयले सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने तथा कलाको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउने उद्देश्य लिएको छ । कार्यक्रममार्फत् कलाको विविध पक्षहरूको सम्मिश्रित शिक्षण प्रविधि र प्रक्रियाको विकास गराउनाले बालबालिकामा पहिचानसहितको आत्मनिर्भरता, समय सापेक्षित विचारसहितको तार्किक क्षमता, मौलिक रचना तथा शैक्षिक क्षेत्रको आमविकासमा सहयोग पुग्ने विद्यालयले जनाएको छ ।

तेस्रो हेटौँडा बाल कला-साहित्य महोत्सव २०७९ विद्यालयको प्राङ्गणमा माघ २७ र २८ गते गर्ने विद्यालयले जानकारी दिएको छ । मिडियालाई दिएको जानकारीमा गत वर्षहरूको महोत्सवमा करिब ३ हजार ५ सय व्यक्तिहरूको प्रत्यक्ष सहभागी भएको र यसपाली करीब ६ हजार बढी व्यक्तिहरूको सहभागिता रहने अपेक्षा समेत राखिएको छ ।

जसअन्तर्गत शिक्षक, कलाकार तथा साहित्यकारबाट कला-साहित्यका विभिन्न विधामा कार्यशालाहरू सञ्चालन गरिने छ । उक्त कार्याशालाबाट शिक्षक, अभिभावक, विद्यार्थीवर्ग तथा विद्यालयहरूले आफूलाई सिर्जनात्मक तरिकाले निखार्ने मौका पाउने विद्यालयको अपेक्षा छ ।

यस महोत्सवका मुख्य आकर्षक व्यक्तित्वका रुपमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका मूर्धन्य कलाकार मदनकृष्ण श्रेष्ठ, त्यस्तै पाकिस्तानी लेखक, कलाकार, तथा शिक्षाविद् रुमना हुसेन, भारतीय लेखक, वृत्तचित्र निर्देशक समिना मिश्र तथा बाल साहित्यकार अनुराधा, सर्वनाम थिएटरका संस्थापक, निर्देशक, नाटककार अशेष मल्ल सहभागी हुनु हुनेछ ।

महोत्सवमा माघ २७ गते बिहान १०ः०० बजेबाट दिउँसो १२ः३० बजेसम्म तथा माघ २८ गते विहान ९ः०० बजेबाट दिउँसो ३ः३० बजेसम्म विभिन्न लिखित कार्यशालाहरू हुने पनि जानकारी गराइएको छ ।

साथै माघ २८ गते नै विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि कार्यशालाहरू, औपचारिक कार्यक्रम, समसामयिक विषयमा, साहित्यकार, सञ्चारकर्मी, विद्यार्थी तथा स्थानीय निकायसँग प्यानल डिस्कसन लगायत विभिन्न कला संस्कृति झल्कने खालका पञ्चेबाजा, माझीबाजा, धिमेबाजा, सारङ्गी, खैजडीबाजा, लाखे नाच, नेवारी बाँसुरी तथा मारुनी नृत्य, थारु नृत्य, नेवारी नृत्यहरू हुनेछन् । विभिन्न खाना स्टल, पुस्तक प्रदर्शनी, आत्मकथा वाचन, चित्र प्रदर्शनी, रोबोटिक्स लगायत अन्य स्टलहरू रहनेछन् ।

बालकला-साहित्य महोत्सवमा पठन संस्कृतिको विकास, घर, विद्यालय र पुस्तकालयमा ज्ञानोपयोगी पुस्तकको अभिबृद्धि गराउँदै नयाँ पिँढीलाई जागरुक गराउने, स्थानीय कला-साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउने, नयाँ सर्जक र प्रतिष्ठित राष्ट्रिय सर्जकहरूमाझ पुलको निर्माण गर्दै सहकार्य गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चसम्म भूमिका खेल्न सक्ने बौद्धिक जनशक्ति निर्माण लगायतका उद्देश्य राखिएको छ । कार्यक्रमको संयोजन सिएम रिमालले गर्नुहुनेछ ।

०००
– हेटौँडा प्रतिनिधि संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x