सुलसुलेसुरभि साहित्य प्रतिष्ठानको पुरस्कार वितरण समारोह सम्पन्न
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपककुमार रिसालको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई अभिनन्दन, सम्मान तथा पुरस्कार अर्पण गरिएको थियो ।

गोकर्णेश्वर, काठमाडौं, २०७९ माघ २१ । सुरभि साहित्य प्रतिष्ठान, बेसीगाउँ, जोरपाटीले आफ्नो पन्ध्रौं स्थापना दिवश सम्पन्न गर्यो । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपककुमार रिसालको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई अभिनन्दन, सम्मान तथा पुरस्कार अर्पण गरिएको थियो ।
गोकर्णेश्वर नगरपालिका बेसीगाउँस्थित ढोल्खाधारो कुटीमा आयोजना गरिएको सो कार्यक्रममा गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार वरिष्ठ आख्यानकार श्री हरिहर खनाललाई, सुरभि बाजुराम आख्यान साधना पुरस्कार वरिष्ठ आख्यानकार श्री भाउ पन्थीलाई, सुलेख आख्यान प्रतिभा पुरस्कार श्री विश्व कुइकेललाई प्रदान गरिएको छ ।
यसैगरी सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार श्री रञ्जना पराजुलीलाई, सुरभि अच्युतराम लघुकथा पुरस्कार डा.श्री रवीन्द्र समीरलाई र सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार श्री लक्ष्मण खतिवडालाई प्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक श्री गोपीकृष्ण शर्मालाई अभिनन्दनसमेत गरिएको थियो ।
प्रत्येक महिनाको तेस्रो शनिवारलाई आख्यानवाचन कार्यक्रमको रूपमा लिएको प्रतिष्ठानले १४५ औं आख्यानवाचनको निरन्तरतास्वरूप पुरस्कृत आख्यानकार विश्व कुइकेलबाट कथावाचन समेत गरिएको थियो । प्रतिष्ठानका संरक्षक एवम् वरिष्ठ साहित्यकार श्री विजय चालिसेको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा काँठ क्षेत्रका चर्चित आख्यानकार श्री नारायण ढकाल, वरिष्ठ हास्यव्यङ्ग्यकार मुकुन्द आचार्य, वरिष्ठ कथाकार श्री नरेन्द्रराज पौडेल तथा प्रतिष्ठानका संरक्षक तथा वरिष्ठ समालोचक श्री युवराज मैनाली समेतको उपस्थिति थियो ।
कार्यक्रमका विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका जडा नं ८ का वडा अध्यक्ष श्री नन्दलाल श्रेष्ठले सुरभि साहित्य प्रतिष्ठानले गर्दै आएका कार्यहरूको सराहना गर्नु भएको थियो । प्रतिष्ठानले सुलेख साहित्यिक मासिक नामको साहित्यिक पत्रिका नियमित रूपमा प्रकाशन गर्दैआएकोमा सोही कार्यक्रममा जोरपाटी आरुबारीमा जन्मिएर साहित्यिक शिखरमा पुग्नुभएका साहित्यकार रमेश विकलप्रति समर्पण गर्दै आफ्नो १२५ औ अङ्क रमेश विकल विशेषाङ्कको रूपमा प्रकाशन गरेको जानकारी गराउँदै उक्त अङ्कको विमोचन समेत गरिएको थियो ।
०००
– प्रमोद प्याकुरेल
Subscribe
Login
0 Comments
Oldest












































