साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महेन्द्र उपाध्यायको उपन्यास ‘मिन्झारी’ सार्वजनिक हुँदै

‘मिन्झारी’ मालिकको आँखाबाट, मालिककै सोचबाट र रबैयाबाट कमैयाहरूमाथि गरिने अत्याचारको दुरूस्त चित्रण गरिएको उपन्यास भएको प्रकाशन गृह काबु क्रियसनका प्रबन्ध निर्देशक रसिक राजले बताए ।

Nepal Telecom ad

काठमाडौं, २७ माघ २०७९ । थारू संस्कृतिलाई पृष्ठभूमि बनाएर लेख्दै आएका युवा स्रष्टा महेन्द्र उपाध्यायको औपन्यासिक कृति ‘मिन्झारी’ माघ २८ गते सार्वजनिक हुने भएको छ ।

‘मिन्झारी’ मालिकको आँखाबाट, मालिककै सोचबाट र रबैयाबाट कमैयाहरूमाथि गरिने अत्याचारको दुरूस्त चित्रण गरिएको उपन्यास भएको प्रकाशन गृह काबु क्रियसनका प्रबन्ध निर्देशक रसिक राजले बताए ।

‘काबु क्रियशन ‘मिन्झारी’ मार्फत बजारमा आउन लागेको छ,’ उनले भने, ‘कथानक, लेखन शिल्प, मुद्दा सबैमा उत्कृष्ट उपन्यास हो मिन्झारी । जसले पाठकको मन जित्नेमा हामी ढुक्क छौं ।’

तराईमा पहाडियाको प्रवेश भएपछि आदिवासी जनजाति थारुहरूमाथि अत्याचारको शृङ्खला सुरु भएकाले पनि थारु संस्कृति लेखनको पृष्ठभूमि बनाउन थालेको लेखक महेन्द्र उपाध्यायले बताए ।

‘पहाडियाहरू मधेस झर्नुभन्दा पहिला थारूहरूका घरमा ताला लगाउँने प्रचलन थिएन । त्यस्तो शान्त बसेका थारुहरू र सिंगो थारु समुदाय आतङ्कित बन्यो । यो कुरा बुझेसँगै मैले यसैलाई लेखनको विषय बनाएको हुँ’ उनले भने ।

उपाध्यायका अनुसार पछि पहाडीले भैंसीको मानो घिउ दिएर जमिन खोस्न थाले । विस्तारै तराईको फाँटिलो भू-भाग र जंगलका मालिक थारूहरू भूमिहीनताको दुस्चक्रबाट पिसिन थालेका हुन् ।

‘टिकापुर घटनालाई पृष्ठभूमि बनाएर लेखिएको उपन्यासमा सुदूरपश्चिमको समथल भू-भाग टिकापुरदेखि कर्णालीको उबडखाबड भू-भाग दैलेख र त्यहाँको संस्कृति समेत ‘मिन्झारी’ उपन्यासमा समेटिएको छ’ लेखक उपाध्यायले थपे ।

कैलालीमा जन्मिएका लेखक पेशाले इन्जिनियर हुन् । गजल लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका उनले आख्यान विधामा आफ्नो परिचय स्थापित गरेका छन् । उनका दर्जनौ कथा सिर्जना प्रकाशित भैसकेका छन् र युवा पुस्ताबीच लोकप्रिय बनेका छन् ।

साहित्यमा किनारीकृत समाजलाई उतार्ने उपाध्यायले सामाजिक, राजनीतिक, सांस्कृतिक लगायतका मुद्दालाई लेखनको केन्द्रमा राखेको भेटिन्छ ।

उपन्यास माघ २८ गते शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा दिउँसो तीन बजे सार्वजनिक हुँदैछ ।

०००
– महेश नेपाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x