साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महिलादिवस र ‘शब्दोपहार’ कवितासङ्ग्रह लोकार्पण

कवयित्री र परिवारको तर्फबाट दीप प्रज्ज्वलन गरी घुम्टी खोलिएको कार्यक्रममा प्रमिला मुखिया, पुष्कर सिँगर, प्रभात राई ‘चिसो’ याकुब प्रणय थुलुङ, मनोज बोगटी, सानु भट्टराई, किरण ब्लोन र छेवाङ गोलेले रचनावाचन गरेका हुन् ।

Nepal Telecom ad

दार्जिलिङ, ८ मार्च २०२३ । भारतीय भूमि कालेबुङस्थित जाल्सा बङ्लोको सभाहलमा अन्तर्राष्ट्रिय श्रमिक महिलादिवस ( नारीदिवस) को अवसरमा कलैनबारी साहित्य मञ्च मनसोङ कालेबुङको आयोजनामा कवयित्री भूमिका राईकृत पहिलो कृति ’शब्दोपहार’ कवितासङ्ग्रह लोकार्पण भएको छ । यसैको केन्द्रियतामा केही नृत्य प्रस्तुति र कवितावाचन पनि सम्पन्न भयो ।

हुन त भारतीय भूगोलका नेपालीभाषी साहित्यस्रष्टाहरूको कर्मको वणर्न शब्दमा भन्न सकिन्न, यस्ता कार्यक्रमहरू बग्रेल्ती भइरहेका हुन्छन् । यसका कारक तत्व त्यहाँका सृजनशील स्रष्टाहरूको अनवरत खटाइ र तीब्र सृजनामोह नै प्रमुख रहेको छ । सृष्टि, मातृवात्सल्य र देवीकी प्रतीक नारीको पूजा मानवीय जीवनमा अवणर्नीय रहेको चर्चा गर्दै भूमण्डलीकरण जहाँ पुगे पनि वर्तमान अवस्थामा नारीको अवस्था भने सोचनीय रहेको उपस्थित विद्वान् विदूषीहरूले चर्चा गरेका थिए ।

स्थानीय ठाउँकी नवोदित नारी हस्ताक्षरको पहिलो कृति भएर होला सम्पूर्ण सृजनशील आफन्तबाट अनन्त शुभकामना, सद्भाव र प्रेमको वर्षासहितको गर्वबोध सबैले गरेका थिए । नारीकै कृति विमोचन हुनु, नारीदिवसकै सन्दर्भ हुनु र समावेसी अग्रज तथा समकालीन स्रष्टाहरूबाट कवयित्री भूमिका राईको कृतित्व र व्यक्तित्वसमेत ऊर्जास्वरूप पाउनु पनि स्रष्टाको अहोभाग्य सावित भएको छ ।

आयामिक पाटोबाट सम्पन्न गरिएको कार्यक्रममा कृतिको र सम्पूर्ण कार्यक्रमको समेत समीक्षा गरिएको थियो भने बीचबीचमा नृत्य, गायन, मन्तव्य तथा रचनावाचनले कार्यक्रम रोचक नबनेको होइन । नवोदित कवयित्री भूमिका राईलाई केन्द्रमा राखेर गुरुचेलाको सम्बन्ध नवीकरण गर्दै पूर्व शिक्षक पीएल जोशीले शुभकामना तथा आशीर्वाद प्रदान गरेका थिए भने सुदिप्सन प्रकाशन मिरिकको तर्फबाट पुनः कवयित्रीको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना पत्र पनि कथाकार दीप प्रधानद्वारा पढी पीएल जोशीकै बाहुलीबाट हस्तान्तरण गरिएको थियो ।

कवयित्री र परिवारको तर्फबाट दीप प्रज्ज्वलन गरी घुम्टी खोलिएको कार्यक्रममा प्रमिला मुखिया, पुष्कर सिँगर, प्रभात राई ‘चिसो’ याकुब प्रणय थुलुङ, मनोज बोगटी, सानु भट्टराई, किरण ब्लोन र छेवाङ गोलेले रचनावाचन गरेका हुन् । त्यसैगरी साना नानीहरूले नृत्य प्रस्तुत गरे भने सरीफ राई र हर्क गुरुङले नेपाली गीत गाएर कार्यक्रमलाई मन्त्रमुग्ध बनाए ।

भारतीय भूगोलका नेपाली साहित्यस्रष्टा मूलतः हास्यव्यङ्ग्यका मूल खाँबो, समालोचक, नाटककार र अझ चर्चाको केन्द्रमा अनुवादकसमेत रहेका सिलिगुडी प्रधाननगरका कृष्ण प्रधानको अध्यक्षता, ३९ नम्बर समष्टिका सभासद् वीरे राईको प्रमुख आतिथ्य, पूर्व शिक्षक पीएल जोशी, विदूर क्षेत्री, सुभद्रा वंजनको विशिष्ट अतिथि र अतिथिहरू दीप प्रधान, दीप थापा, गीतिका राई र समीर राईलगायतको उपस्थितिमा कार्यक्रम भव्य र सभ्य भएको थियो ।

उपस्थित मञ्चासिन व्यक्तित्वहरूको बाहुलीबाट कृति ‘शब्दोपहार’को सार्वजनिकीकरण भएपश्चात साहित्यकार जगदीश शर्माले उक्त पुस्तकको कथ्य समीक्षा राखेका हुन् र त्यसैलाई प्राथमिकतामा राखेर व्यङ्ग्यकार कृष्ण प्रधानले साहित्यका कुनै पनि विधागत कृतिहरू प्रकाशन गर्दा तथ्यतथ्याङ्कहरूको आधारमा मात्र लेख्न आग्रहसमेत गरेका थिए । यसको प्रभाव आफ्ना रचनाहरूको सँगालोभित्रका भाव र अर्थ सही र युगीन बन्न सकोस् भन्ने वास्तविकता प्रष्ट्याएका थिए ।

हुन त आफूले जानेको वस्तुगत र भावनात्मक ज्ञान अरूलाई नबाँडे कुनै अर्थ नरहने भएकाले हाम्रा समस्याहरू कविगोष्टीमा मात्र सीमित नराख्न साथै आफू अनुवादकको क्षेत्रमा काम गर्दै आएकाले विभिन्न स्रष्टाहरूको रचनालाई बङ्गला भाषामा समेत अनुवाद गरी पत्रपत्रिकामार्फत सरकारसम्म पुर्‍याउने वचनवद्धता समेत प्रधानले उल्लेख गरेका थिए । साहित्यकार कृष्ण प्रधानद्वारा अभिव्यक्त भएका अति महत्वपूणर् सम्भाषणलाई सम्पूणर् कार्यक्रमकै छोटकरी समीक्षा मान्न सकिने कुरामा दुई मत रहेन ।

यसै क्रममा अन्तर्राष्ट्रिय नारीदिवसको बारेमा बोल्दै अतिथि सुभद्रा वंजनले नारीहरूले अझै पनि बैयक्तिक स्वतन्त्रता नपाएको दावीमूलक अभिव्यक्ति दिइन् भने प्रमुख अतिथि सभासद् वीरे राईले स्रष्टालाई शुभकामना व्यक्त गरेका थिए । अन्त्यमा कवयित्री भूमिका राईद्वारा सम्पूणर् आजोजक टीमप्रति हार्दिक सद्भावसहितको मन्तव्य राखी कार्यक्रम समापन भएको थियो ।

विपल रसाइलीद्वारा उपस्थित सम्पूणर् अतिथि वर्गलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको औचित्यसमेत उल्लेख गरेको कार्यक्रममा आशिका राई, प्रकाश प्रधान र छेवाङ गोलेको सहजीकरण रहेको कथाकार दीप प्रधानले जानकारी दिएका हुन् ।

०००
फित्कौली’ डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x