सुलसुलेसञ्जालको आयोजनामा भाषा दिवस मनाइयो
नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले अमानक वणर्विन्यास खारेज गरी सञ्जाललाई पत्र प्राप्त भएको दिनलाई सञ्जालले भाषादिवसका रूपमा मनाउँदै आएको छ ।

काठमाडौं, २०७९ चैत २९ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलका अध्यक्षतामा भाषा दिवस भव्य रूपमा मनाइयो । सरकारी तहबाट नै नेपाली भाषामाथि भएका आक्रमणहरूका विरुद्घ सञ्जालको नेतृत्वमा सशक्त दबावस्वरूप नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले अमानक वणर्विन्यास खारेज गरी सञ्जाललाई पत्र प्राप्त भएको दिनलाई सञ्जालले भाषादिवसका रूपमा मनाउँदै आएको छ ।
कार्यक्रमको उद्घाटनपश्चात् सञ्जालका अध्यक्ष प्रा.डा. लुइटेलले सञ्जालका उपलब्धि एवं प्रगति विवरण पेस गर्दै भाषा दिवसको औचित्यमाथि विस्तृत रूपमा प्रकाश पार्नुभयो । उहाँले नेपाली भाषाको मानकीकरणका निम्ति सञ्जालले देशका विभिन्न भागमा र विभिन्न मुलुकमा आफूले मानक नेपाली भाषासम्बन्धी प्रशस्तै कार्यक्रममा प्रशिक्षण तथा कार्यपत्र प्रस्तुत गरी वस्तुस्थितिबोध गराएको बताउनुभयो । उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गराई मानक वणर्विन्यासमा नयाँ शब्दकोश प्रकाशन गराइएको, नेपाल सरकार शिक्षा मन्त्रालय राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट विद्यालय तहका पाठ्यपुस्तक तथा उच्चमाध्यमिक शिक्षा परिषद्बाट प्रकाशित सबैको नेपाली (२०६७) पुस्तकमा प्रयुक्त अमानक वणर्विन्यास खारेज गराई मानक वणर्विन्यासअनुरूप प्रकाशन गराइएको तथा त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) खारेज गराइएको कुरा बताउनुभयो ।
यसैगरी सञ्जालले कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय लागु गराएको, विभिन्न टेलिभिजनमा प्रयुक्त अमानक वणर्विन्यास सच्याउनाका साथै नेपाल राष्ट्र बैंकमार्फत सबै बैंकका एटिएमहरूमा नेपाली भाषा अनिवार्य गराई मानक नेपाली भाषाको जगेर्ना गरेको कुरा उहाँले बताउनुभयो । अध्यक्ष प्रा.डा. लुइटेलले मानक नेपाली भाषाको जगेर्नाका लागि नै अन्तर्राष्ट्रिय सञ्जालको स्थापना गरिएको बताउँदै मानक नेपाली भाषाको संरक्षण, सम्वर्धन र विकासका लागि सञ्जाल जस्तासुकै मूल्य चुकाउन पछि नपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले नेपालका सवारीसाधनहरूमा नेपाली भाषामा रहेको नम्बर प्लेट हटाएर अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट लागु गर्ने सरकारी निणर्यका विरुद्घ यस सञ्जालले सुरुदेखि नै सशक्त विरोध र प्रतिकार गर्दै प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, यातायात व्यवस्था विभागलगायतका सम्बद्ध सबै निकायमा स्पष्ट अवधारणासहित विरोधपत्र दिने, विज्ञप्ति जारी गर्ने, प्रत्यक्ष भेटेर स्पष्ट अवधारणाका साथ दबाब दिनेजस्ता कार्यहरू गरेको बताउनुभयो ।
पहिलेपहिले सञ्जालले गर्न खोजेका कामको जानकारी सार्वजनिक गर्दा भाषा विरोधी व्यक्तिहरूले कार्यक्रम असफल पार्ने दुष्प्रयास गरेको पाइएकाले केही समययता सञ्जालले सार्वजनिक नगरी चुपचाप काम गर्दै आएको र कार्यान्वयन भएपछि मात्र सार्वजनिक रूपमा जानकारी दिने रणनीति अपनाएको कुरा अध्यक्ष प्रा.डा. लुइटेलले बताउनुभयो ।
सञ्जालको निरन्तर विरोध र समन्वयात्मक भूमिकाका कारण सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गरिने भन्ने हालै नेपाल सरकारद्वारा गरिएका निणर्यको स्वागत गर्दै तत्काल कार्यान्वयनका लागि सञ्जाल हार्दिक आग्रह गर्नुभयो । यति हुँदाहुँदै पनि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट नेपाली र अङ्ग्रेजीमा राख्ने, प्रदेशको नाम नेपालीमा तथा अरू अक्षर र अङ्क अङ्ग्रेजीमा राख्ने आदि अनेक खालका अस्पष्ट समाचारहरू हाल विभिन्न सञ्चार माध्यममा आइरहेका सन्दर्भमा सञ्जालको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सवारीसाधनमा लामो समयदेखि प्रचलित र सर्वसाधारण नेपालीसमेत अभ्यस्त भइसकेको रङ्गअनुरूपकै इम्बोस्ड नम्बर प्लेटमा माथि ठूला अक्षरमा देवनागरी लिपि र त्यसका मुनि साना अक्षरमा रोमन लिपिका अक्षर र अङ्क प्रयोग गरिनुपर्छ भन्ने सञ्जालको सुरुदेखि नै स्पष्ट दृष्टिकोण रहेको कुरा पहिले नै सम्बद्ध सबै निकायलाई अवगत गराएको बताउनुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई प्रदेशको नाममा मात्र सीमित गरी नेपाली भाषाको उपेक्षा गरिएमा त्यो कसैलाई पनि स्वीकार्य नहुने कुरामा जोड दिनुभयो ।
उहाँले इम्बोस्ड नम्बर प्लेट नेपाली र अङ्ग्रेजीमा राख्न लगाएरै छोड्ने तथा नेपाली विषय शिक्षक सञ्जाललाई देशभर विस्तार गर्ने सञ्जालको भावी योजना रहेको बताउनुभयो ।
कार्यक्रममा सञ्जालका वरिष्ठ उपाध्यक्ष डा. भरतकुमार भट्टराईले कार्यक्रममाथि प्रकाश पार्दै स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा महासचिव प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सञ्जालका गतिविधिलाई समेटेर वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सञ्जालका कोषाध्यक्ष डा.नारायणप्रसाद गैरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । दुवै प्रतिवेदन सर्वसम्मतबाट पारित गरियो ।
सञ्जालका महासचिव प्रा.डा. गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्जालका उपाध्यक्ष नरनाथ लुइटेल, कोषाध्यक्ष डा. नारायणप्रसाद गैरे, सदस्य केशव सिग्देल, लीला लुइटेललगायतले मानक नेपाली भाषाको औचित्यमाथि प्रकाश पार्नुभयो ।
लामो समयदेखि प्रचलित र सर्वसाधारण नेपालीसमेत अभ्यस्त भइसकेको रङ्गअनुरूपकै प्लेटमा माथि ठूला अक्षरमा देवनागरी लिपि र त्यसका मुनि साना अक्षरमा रोमन लिपि प्रयोग गरी इम्बोस्ड नम्बर प्लेट निर्माण गर्नाका लागि सम्बद्ध निकायलाई तत्काल निर्देशन दिई निणर्य कार्यान्वयनका लागि सञ्जालले नेपाल सरकारलाई सचेत गराएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest












































