फित्काैली डटकमलता केसी ‘लघुकथा अभिभावक’ उपाधिबाट सम्मानित
लघुकथा प्रतिष्ठान, नेपालले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा वरिष्ठ लघुकथाकार लता केसीलाई ‘लघुकथा अभिभावक’ उपाधिबाट सम्मान गर्ने भएको खबर सार्वजनिक भएको छ ।

उदयपुर । लघुकथा प्रतिष्ठान, नेपालले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा वरिष्ठ लघुकथाकार लता केसीलाई ‘लघुकथा अभिभावक’ उपाधिबाट सम्मान गर्ने भएको खबर सार्वजनिक भएको छ । मङ्सिर १ गते, सोमबार, २०८२ मा जारी विज्ञप्तिअनुसार नेपाली लघुकथाको विकास, विस्तार र सैद्धान्तिक अग्रगमनमा केसीले पुर्याएको योगदानको कदर गर्दै यो उपाधि प्रदान गरिने जनाएको छ ।
प्रतिष्ठानले केसीलाई लघुकथालाई साधारण तीन-चार अनुच्छेदभन्दा पर उठाइ “मनको चाल, समाजको प्रतिविम्ब र सत्यको सर्वनाम” बनाइदिने सिर्जनशील व्यक्तित्वका रूपमा चित्रण गरेको छ । प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजाल र सन्दर्भ लघुकथा प्रधान पत्रिकाका प्रधान सम्पादक अक्षान्तद्वारा जारी विज्ञप्तिमा केसीको निरन्तरता, समर्पण र मौन साहित्यिक सेवाले आधुनिक लघुकथालाई “उत्तरदायित्वको उज्यालो” देखाइदिएको उल्लेख छ ।
विज्ञप्तिमा, “लघुकथा बाँचिन्छ, बोलिन्छ, रहन्छ; र त्यसलाई समाल्नेहरू युगका उज्यालो हुन्,” भनेर उल्लेख गरिएको छ ।
केसीको लेखनमा ‘कलमको उपहार’, ‘कलमको अनुशासन’ र ‘कलमको संस्कार’ जस्ता तीन गुण झल्किने, कठोर लघुकथा बहसका गल्लीहरूमा नझुकी निरन्तर अगाडि बढ्ने र अँध्यारोमा पनि उज्यालो देख्न सक्ने क्षमता रहेको प्रतिष्ठानले जनाएको छ ।
उपाधि : लघुकथा अभिभावक
सम्मानित व्यक्तित्व : लता केसी
आयोजक : लघुकथा प्रतिष्ठान, नेपाल
अवसर : चौथो वार्षिकोत्सव
नवप्रवेशी लघुकथाकारका लागि केसी प्रेरणादायी मार्गदर्शक मानिने गरेको र अग्रजहरूले पनि उहाँमा “अनुभवको माटोबाट उम्रिएको स्मरण” देख्ने गरेको प्रतिष्ठानको ठहर छ । लघुकथा इतिहास लेखनदेखि सैद्धान्तिक विमर्श र साहित्यिक सक्रियतासम्मको यात्रामा केसीको उपस्थिति “सुगन्धझैँ” अनुभूत हुने उल्लेख विज्ञप्तिमा छ ।
प्रतिष्ठानले यो उपाधिलाई सम्मान मात्र नभई वर्तमान र भविष्यबीचको एउटा “सुक्तिमय सन्धि” भन्दै केसीको योगदानले नयाँ पुस्ताको सिर्जनात्मक क्षमतामा निरन्तर हरियाली थप्ने विश्वास व्यक्त गरेको छ ।
चौथो वार्षिकोत्सवलाई “समर्पण, सामूहिकता र सिर्जनशील जिम्मेवारीको दीपज्वाला”का साथ मनाइएको उल्लेख गर्दै, प्रत्येक कथाले समाजका बन्द ढोका खोलून्, नयाँ हावा भित्र्याओस् र हरेक लघुकथाकार समुदायलाई हेर्ने सचेत दृष्टि बनून् भन्ने प्रतिबद्धता प्रतिष्ठानले व्यक्त गरेको छ ।
०००
यसै सन्दर्भमा नन्दलाल आचार्यद्वारा लिखित ‘लघुकथा अभिभावक’ शीर्षकको लघुकथा तल प्रस्तुत गरिएको छ-
“हजुर, रातभर सुत्नुभएन कि कसो ?” पुरानो टेबलमाथिको ल्यापटपले निस्तब्ध रात चिर्दै सोध्यो ।
उहाँले हल्का मुस्कुराउँदै भन्नुभयो, “म सुतें भने लघुकथाहरू पनि निदाउँथे, बाबु !”
ल्यापटप झसङ्ग भयो- “हजुरले लघुकथालाई सन्तानझैँ हेरचाह गर्नुहुन्छ, तर आफैंलाई कहिल्यै सम्झनुहुन्न । छ दशक वसन्त फुलाउँदा पनि मालीझैँ हजुरले लघुकथाको बगैंचा सिँच्दै आउनुभएको छ ।”
बाहिरको सहर निद्रामा थियो, तर उहाँको कोठा अक्षरको उज्यालोमा बाँचिरहेको थियोे । बत्ती वरिपरि अक्षरका मौरी गुन्जिरहेका थिए । थकित फाइलहरू कुर्सीमा अडेस लागेर निदाउँदै थिए । धुलाको सिरानी लगाएर पुरस्कारहरू श्वास लिइरहेका थिए ।
त्यसैबेला छेउको माउस चिच्यायो; “हजुरले सयौँ लेखक जन्माउनुभयो, तर कहिल्यै आफूलाई लघुकथामा जन्माउनुभएन !”
उहाँ हाँस्नुभयो, “मरेपछि मेरो नाम तिमीहरूको मेमोरीमा अडियोस्, त्यो नै काफी हो ।”
त्यतिबेला ढोकाबाट एक झोक्का हावा पस्यो । ओभरलोड पेनड्राइभका फाइलहरू आफैं खुल्दै गए-
सयौँ लेखकका नाम, असङ्ख्य कृतिका फोटा,
हजारौँ लघुकथाका जीवित अक्षरहरू झिलमिलाए ।
ल्यापटप केहीबेर मौन रह्यो, अनि बिस्तारै भन्यो,
“हजुर, अब आफूलाई पनि लघुकथामा पात्र बनाइदिनुस् न !”
उहाँको अनुहार उज्यालोले भरियो- “म पात्र होइन, पृष्ठभूमि हुँ, जहाँ शब्दहरू सास फेर्छन्, कथाहरू बाँच्न सिक्छन्, र लघुकथा अमर हुन्छ ।”
स्क्रिनको उज्यालो थप फैलियो । ल्यापटपले भावुक स्वरमा भन्यो- “त्यसैले त हजुर लघुकथाको आत्मा मात्रै होइन, भविष्य पनि हुनुहुन्छ- ‘लघुकथा अभिभावक’ !”
०००
रोजिना धमला, मानेडाँडा, उदयपुरद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































