वासुदेव गुरागाईंसक्कली समस्या अक्कली समाधान
शारीरिक रूपमा कुनै खोट नभएकादेखि कुनै न कुनै किसिमको अपाङ्गता भएका व्यक्तिहरू पनि यहाँ हुन्छन् । ती सबैको यात्रा सुरक्षित र भरपर्दो हुनुपर्छ ।
वासुदेव गुरागाईं :

माथिको तस्बिर फोटोग्राफर अनुप प्रधानले आफ्नो क्यामेरामा सुरक्षित गरेर सार्वजनिक गर्नुभएको हो । यसभित्र समस्या पनि छ, आवश्यकताअनुसारको अक्कली समाधान पनि छ । तर, व्यक्तिको तत्कालीन आवश्यकता परिपूर्तिका लागि यो अक्कली समाधान उपपोगी जस्तो देखिए पनि राज्यका सामु लाजमर्दो समाधान हो । यो फोटो एजिङ नेपाल काठमाडौं नेपाल र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (NFPJ-Nepal) काठमाडौं नेपालले यसै वर्ष अर्थात् वि. सं. २०८० असोज १३ गते पाटन दरबार क्षेत्र ललितपुरमा तस्बिरमा ज्येष्ठ नागरिक फोटो प्रदर्शनीमा प्रदर्शित विभन्न फोटोमध्येको एक हो । आफूले टेक्ने लौरीमा रातो बत्तीको सङ्केत स्वरूप रातो रुमाल झुन्ड्याएर गाडी आवतजावत भइरहने जेब्रा क्रसिङ समेत भएको व्यस्त सडकमा सडक पारका लागि तोकिएबमोजिम जेब्रा क्रसिङ मार्फत सडक पार गर्दै गरेका एक ज्येष्ठ नागरिकलाई यस फोटोमा देखाइएको छ । फोटोमा देखाइएका ज्येष्ठ नागरिक अनुमानमा साढे सात दशक वा अझ त्यसभन्दा पनि बढी उमेर आसपासका देखिन्छन् । नेपालका सन्दर्भमा साढे सात दशक अर्थात् ७५ वर्ष वा सोभन्दा बढीको उमेर भनेको चानचुने उमेर होइन । अरूलाई सामान्य जस्तो लागे पनि ज्येष्ठ नागरिकका आँखाले यसलाई निकै मार्मिक अवस्थाको फोटो ठान्दछ । यस दृश्यले कुन स्थानमा यस फोटोले क्यामेरामा प्रवेश पाएको भन्ने स्पष्ट नभए पनि नेपाल हो भन्ने कुरामा कुनै द्विविधा राख्दैन । यस किसिमको अनौठो र त्यत्तिकै दयनीय अवस्थामा सडक पार गरिरहेका एक वृद्ध बटुवाप्रति दृष्टि दिएर त्यो कुरो सार्वजनिक गर्ने फोटोग्राफरलाई धन्यवाद दिनैपर्छ । यो वृद्धवयका मानिसप्रतिको सद्भावी हेराइ र चासो दुवै हो ।
फोटो प्रदर्शनी आयोजकमध्येको एक एजिंग नेपाल एक यस्तो संस्था हो जुन संस्था बुढेसकालीन अवस्थामा रहेका बुढाबुढीहरूको जीवनस्तर सुधारका लागि गैर सरकारी संस्थाका रूपमा समर्पित छ । यस संस्थाका संस्थापक पछिल्लो समय चट्याङ मास्टरका नामले समेत ख्याति कमाएका कृष्ण मुरारि गौतम हुन्, जसलाई नेपाल सरकारले ज्येष्ठ नागरिक दिवसको अवसर पारेर यसै वर्ष अर्थात् वि. सं. २०८० को ज्येष्ठ नागरिक वर्ष पुरुषको रूपमा समेत पुरस्कृत गरेको छ । एजिंग नेपाल नामक उनको यस संस्थाले सन् २०२० मा युनेस्को किंग सेजोंग साक्षरता पुरस्कार समेत प्राप्त गरेको थियो । माथि उल्लेख गरिएबमोजिम एजिंग नेपाल र राष्ट्रिय फोटो पत्रकार समूह नेपालले गरेको तस्बिरमा ज्येष्ठ नागरिक फोटो प्रदर्शनी वृद्धवृद्धाप्रतिको सम्मानका सन्दर्भमा नमुना प्रदर्शनीमध्येको एक हो । तस्बिरमा ज्येष्ठ नागरिकलाई उभ्याएर गरिएको यस फोटो प्रदर्शनीका लागि यी दुवै संस्था धन्यवादका पात्र छन् । साङ्केतिक रूपमा वृद्धवृद्धाका विविध अवस्थालाई तस्बिरमा उतारेर गरिएको यस फोटो प्रदर्शनीले बुढाबुढीको मन जितेको छ भने अरू सरोकारवालालाई पनि सकारात्मक रूपमा झस्काएको छ ।
अब कुरा गरौँ सवारी आवागमनले ढाकेका सडकमा सडक पार गर्ने पदयात्रीहरूका सन्दर्भमा । सवारी साधन आवागमनका हिसाबले सहरिया जीवन पैदल यात्राका लागि खतरनाक साबित हुँदै छ । खतरनाक यस अर्थमा कि सडकमा सवारी विधिको शासन सुशासनमा परिणत भएको देखिन्न । एकातिर सवारी साधनको पेलापेल अर्कातिर पैदल यात्रुको बढ्दो चाप । सहरका मुख्य मुख्य भागका चौबाटो, त्रिबाटो आदिमा ट्राफिक प्रहरीको उपस्थिति देखिन्छ । उनीहरू सवारी साधनलाई व्यवस्थित गराएर सवारी आवागमनलाई सुचारु गर्न लागिपरिरहेका हुन्छन् । धुलो, धुवाँ र अन्य प्रकृतिजन्य कठिनाइका बाबजुद पनि उनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न भरमग्दुर प्रयास गरिरहेका हुन्छन् । यति गर्दागर्दै पनि उनीहरूका आँखा छल्न सवारी चालकहरू पनि त्यत्तिकै हानथाप गरिरहेका हुन्छन् । सडक बत्तीले काम गरिरहेको हुँदैन । यस्ता अवस्थामा सवारी चापलाई हेरेर ट्राफिक प्रहरीहरू समय समानतामा नलागी आफ्नो तजबिजले सवारी साधनलाई पार गराइरहेका हुन्छन् । यता पैदल यात्रुपट्टि उनीहरूको दृष्टि परेकै हुँदैन त किन भन्नु तर असाध्यै कम परेको हुन्छ, जो नपरे बराबर नै हो । यस्तो अवस्थामा पैदल यात्रुले आफ्नै जोखिममा सडक पार गर्नुपरिरहेको हुन्छ । आफ्नै जोखिम यस अर्थमा कि उनीहरू, अर्थात् सवारी चालक र प्रहरी दुवैले पैदल यात्रुको आवागमनलाई प्राथमिकतामा राखेका हुँदैनन् ।
सडकको बिच भागका सवारी रोकिए पनि बायाँतिर मोडिने सवारीले पैदल यात्रुको सडक पार गराइको कामलाई मज्जैले बाधा पुर्याइरहेको हुन्छ । पैदल यात्रुको हितलाई ध्यानमा राखेर यतिखेर न सवारी चालकले आफ्नो गतिलाई कम गर्छन्, न प्रहरीले नै ती सवारी साधनलाई रोकेर पैदल यात्रुलाई सडक पार नै गराउँछन् । अझ कतिपय अवस्थामा त बिच सडकमा पैदल यात्रुले सडक पार गर्दागर्दै रोकिएका सवारी साधनलाई बोलाइदिन्छन् र पैदल यात्रुका अगाडि पछाडि दुवैतिरबाट हानथाप गरेर पैदल यात्रुको वास्तै नगरी सवारी कुद्न थाल्छन् । यतिखेर सडक पार गर्ने पैदल यात्रुको हबिगत के होला ? तपाईं आफैँ अनुमान लगाउन सक्नुहुन्छ । यसैले यो भन्नै पर्छ कि पैदल यात्रु सडक पारका अवस्थामा आफैँ जोखिम मोलेर सडक पार गरिरहेका हुन्छन् ।
अब कुरो रह्यो वृद्धवृद्धा जस्ता अशक्त यात्रुको सडक पार गराइको स्थिति । ट्राफिक प्रहरी पनि पर्याप्त सङ्ख्यामा हुदैनन् । पर्याप्त नै हुँदा पनि सडक पार गर्ने पैदल यात्रुलाई त्यतिविधि वास्ता कहाँ गर्छन् र ! उनीहरू पनि । उनलाई गाडीको व्यवस्थापनले नै पसिना चुहाइरहेको हुन्छ, अनि पैदल यात्रुले कहाँबाट प्राथमिकता पाउनु ? गाडी रोकिएपछि सडक पार गर्न खोज्यो माथि भनिए झैँ बायाँतिर मोडिने सवारी साधन पैदल यात्रुको वास्तै नगरी त्यत्तिकै मिचेर आइदिन्छ । प्रहरीको कुनै वास्ता हुँदैन । अरू त अरू भए प्रहरी वा जो कोही सुरक्षाकर्मीहरू सवार प्रहरी भ्यान नै पनि यसरी मिचेर आउनेमा अग्रपङ्क्तिमा पर्छन् । उनीहरूलाई लाग्दो हो हामी त हामी नै हौँ नि । हाम्रो सवारीलाई कसले रोक्ने ? अनि यस्तो अवस्थामा नियम विपरीत मिचिएर बलजफ्ती सडक पारको प्रयास गर्नु कुनै पनि पैदल यात्रुका लागि बाध्यता बन्छ । यस्तै बाध्यताका बिचमा ठडिएका हुन्छन् वृद्धवृद्धा पनि । कसैले वास्ता नगर्ने र आफैले जोखिम मोलेर सडक पार गर्नुपर्ने स्थिति आएपछि अनुप प्रधान जस्ता सकारात्मक सोच भएका फोटोग्राफरले अवसर छोपिहाल्छन् र तिनको दयनीय अवस्थालाई चित्रमा उतारेर उजागर गरिदिन्छन् सबैका सामु ।
यसो भनेर सबै सुरक्षाकर्मीलाई एउटै बास्केटमा हालेर मूल्याङ्कन गरिनु पनि उचित हुन्न । कुरो केही दिनअघिको हो । म काँधमा नियमितको हाते झोला र हातमा एक ढक आलु रहेको झोला झुन्ड्याएर एकातर्फको सडक पार गरेर अर्कातर्फको सडक पार गर्न सडकको बिचभागको रेखामा उभिइरहेको थिएँ । सडकमा गुड्ने सवारीले प्राथमिकता दिइरहेका थिएनन् । प्राथमिकता दिन मिल्ने ठाउँमा पनि ती आफ्नो गतिलाई कम गर्नुको साटो अझ तेज गतिमा दौडाइरहेका थिए । यत्तिकैमा प्रहरीको भ्यान आयो । त्यसको अगाडि सिटमा सिभिल डे्रसमै भए पनि सायद प्रहरीका कुनै उच्च पदस्थ (मानसिकता पनि उच्च भएका) व्यक्ति थिए । उनले आफू सवार गाडी रोकाएर मलाई सडक पार गर्न इशारा गरे । मनमनै धन्यवाद दिँदै मैले सडक पार गरेँ । सडक पार गरिसकेपछि पनि मलाई लाग्यो सबै सुरक्षाकर्मीको मानसिकता हरकुरामा यस्तै सकारात्मक किसिमको भइदिए कत्ति मज्जा हुन्थ्यो ।
कुरो जति गरे पनि यस्तै हो । यी अक्षरमा सडकका सबै यथार्थ चित्रण गर्न सकिन्न । यी अक्षर र माथिको चित्र त साङ्केतिक मात्र हुन् । प्रतिनिधि चित्र मात्र हुन् यी । सडकको यथार्थ थाहा पाउन त पैदल यात्रु भएरै सडकमा पटक पटक पाइला टेकेको हुनुपर्छ । प्रसव वेदनाको पीडा प्रसवित महिलाले मात्र बोध गर्न सक्छन्, अरूले जतिसुकै प्रयास गरे पनि सक्तैनन् । कसैले गरे भने पनि त्यो साङ्केतिक मात्र हुन्छ, यथार्थताको नजिक मात्र हुन्छ, यथार्थ हुँदैन । सडक यात्राको यो वणर्न पनि त्यस्तै हो ।
यथार्थमा सडक सबैको हो । सार्वजनिक हो । यहाँ सवारी साधनका अतिरिक्त पैदल यात्रुहरू हुन्छन् । पैदल यात्रु पनि एकै किसिमका नभएर विभिन्न किसिमका हुन्छन् । शारीरिक रूपमा कुनै खोट नभएकादेखि कुनै न कुनै किसिमको अपाङ्गता भएका व्यक्तिहरू पनि यहाँ हुन्छन् । ती सबैको यात्रा सुरक्षित र भरपर्दो हुनुपर्छ । विनाभेदभाव राज्यको दृष्टिमा परेको हुनुपर्छ । घरबाट बाहिर निस्कँदा घरका मानिसले सडक पार गर्दा राम्रोसँग दायाँ बायाँ हेरेर मात्र बाटो काट्नुस् है ? भनेर निरन्तर सम्झाइरहनुपर्ने स्थिति कोही कसैका हकमा पनि रहनुहुन्न । सुन्ने र देख्ने क्षमतामा ह्रासलगायत शारीरिक अशक्तताका कारण वृद्धवृद्धाका सडक यात्राका हकमा त राज्य झनै चनाखो र बढी सम्वेदनशील हुनुपर्छ । कानुनका काला अक्षर र भाषणका मिठा शब्दले मात्र वृद्धवृद्धा सम्बोधित हुँदैनन् । कानुनका काला अक्षर र भाषणका मिठा शब्दलाई व्यवहारमा उतारेको अवस्था सिर्जना हुन सके मात्र सुशासनी सभ्य समाजको परिचायक बन्न सक्छ त्यो स्थिति । होइन भने ‘काग कराउँदैछ पिना सुक्तै छ’ भन्ने आहानभन्दा माथि हामी कहिल्यै उठ्न सक्ने छैनौँ, जुन स्थितिमा माथि तस्बिरमा देखाइए जस्तै समस्या बराबर हाम्रा सामु हाम्रो नियति बनेर हामीलाई नै गिज्याइरहेका हुनेछन् र प्रत्येक समस्यामा यी वृद्धले जस्तै नयाँ नयाँ अक्कल र जोखिमका बिचबाट जीवन गुजारी रहनुपर्ने हुन्छ ।
०००
काठमाडौं
२०८०/९/१३
Subscribe
Login
0 Comments
Oldest









































