
आमा
आमा हुन् सब दोष माफ छ भनी,भन्छिन् दयाले अनी। बाटो सत्य हिँडाउने सकलकी, साँचो कलाकी धनी।। आमाको जति नै बयान गरियोस्, त्यो हुन्छ पूरा कहाँ ?। आमा हुन् धरती समान गुणकी, श्रद्धा रहोस् है यहाँ।।

के.पी.पौडेल जस्ताघरे :
आमा हुन् धरती धरा र धरणी, संसारकी मालिका।
प्राणी सन्तति हुन् उनी भुवनकी, हुन् विश्वकी नायिका।।
आमा ईश्वरकी र गाउँ घरकी, हुन् सृष्टिकी धारिणी।
आमा हुन् जननी रमा र भवती, यो विश्वकी कारिणी।।-१
आमा हुन् सुन देवकी सरहकी, कल्याणकारी अनि ।
आमा हुन् धनकी कला र मनकी, ताजा मुहानै पनि।।
आमाको ममता यहाँ अवनिमा, चाहिन्न को भन्छर !
गर्छिन् प्रेम खुबै बरोबर यहाँ, छैनन् नि कोही पर।।-२
आफ्नो जीवनको मिठो र रसिलो, राम्रो र धेरै जति।
दिन्छिन् सर्व कुरा दयालु मनले, आफू त रित्तै कति।।
आमाको ममता र काख भरिलो, पाइन्छ न्यानोपन।
आमा हुन् जननी कृपालु मनकी, मातृत्व हाम्रो धन।।-३
आमा हुन् घरकी र विश्वभरकी,हुन् लोककी शारदा ।
आमा नै नभए रहन्छ र कहाँ, यो सृष्टिको काइदा।।
आमा हुन् धरणी उमा भगवती, हुन् चन्द्रघण्टा अनि।
आमा चन्द्रकला दयालु मनकी, दुर्गा र राधा पनि ।।-४
आमाको मन पाउने जनहरू, हुन्छन् खुबै सुन्दर ।
आमाकै प्रिय गर्भबाट थलमा, जन्मे स्वयम् ईश्वर।।
लाखौं लाख दया दिने भुवनमा,आमा सरी को छर?।
धेरै नै प्रिय हुन्छ मातृ ममता, तीतो छ को भन्छर।।-५
आमा हुन् घरकी खुसी वदनकी,बाँच्ने कलाकी धनी।
हाँस्दै हाँस्न सिकाउने भगवती, हाँस्ने कलाकी धनी।।
आमा नाच्न सिकाउने गजबकी, नाच्ने कलाकी धनी।
पढ्दै पढ्न सिकाउने गजबकी, पढ्ने कलाकी धनी।।-६
आमा भज्न सिकाउने तरहकी,राम्री कलाकार हुन्।
सिक्दै सिक्न लगाउने गुणवती, देवी र झन्कार हुन् ।।
आमा बोल्न सिकाउने सरसकी, बोल्ने कलाकी धनी।
गम्दै गम्न सिकाउने सगर हुन्, चोखो कलाकी धनी।।-७
आमा हुन् सब दोष माफ छ भनी,भन्छिन् दयाले अनी।
बाटो सत्य हिँडाउने सकलकी, साँचो कलाकी धनी।।
आमाको जति नै बयान गरियोस्, त्यो हुन्छ पूरा कहाँ ?।
आमा हुन् धरती समान गुणकी, श्रद्धा रहोस् है यहाँ।।-८
०००
बट्टार, नुवाकोट । हाल बालाजु, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest