हेम अधिकारीभो जीवनी बञ्जर (१८)
बस्छन् ती सुखमा ठुला सहरमा बिर्सेर जन्मस्थल आमाबाबु घृणा गरे अब यसै बिर्सेर गर्भस्थल । आएनन् कहिल्यै बधू सुत फिरी, आएन चाँडै पनि रोगी वृद्ध भए अशक्त अब छन् दारुण्य भो जीवनी ॥

हेम अधिकारी :
जेठो जन्मिनगो बडो रहरको मातापिता हर्षित
कान्छाको अनुहारमा नित रमी सारै ठुलो गर्वित ।
हुर्काए अति हर्षभाव सपना राम्रा उज्याला बुनी
साह्रै उच्च बिचारका र गतिला छोरा बनाऔँ भनी ॥१॥
जेठो भो गतिलो ,भयो अतिठुलो, उच्चा पदासीन भो
साह्रै सुन्दर रूपकी शहरकी हेर्यो बुहारी अहो !
सारा खर्च गरेर आर्जन सबै बाले खन्याई दिए
छाडी चट्ट दुवै बधू सुत मिली बाटो तताई लिए ॥२॥
बस्छन् ती सुखमा ठुला सहरमा बिर्सेर जन्मस्थल
आमाबाबु घृणा गरे अब यसै बिर्सेर गर्भस्थल ।
आएनन् कहिल्यै बधू सुत फिरी, आएन चाँडै पनि
रोगी वृद्ध भए अशक्त अब छन् दारुण्य भो जीवनी ॥३॥
पाको देह उपाय छैन अरु क्यै निर्लिप्त छन् काममा
कान्छो हुन्छ अवश्य सादर भनी बस्छन् सधैँ आसमा ।
कान्छो गर्दछ के भनी युगलका पर्दैन क्यै कानमा
प्यारो लाउँछ धाक मात्र ,उसका आँखा सधैँ दाममा ॥४॥
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest








































