साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयको चाल

म काकालाई खोज्न भिडमा यताउता दौडन थालेँ । काका त पर विजयी उम्मेदवारलाई काँधमा बोकेर उफ्रिरहनु भएको पो रहेछ ।

Nepal Telecom ad

मतगणनास्थल बाहिर मान्छेको भिड छ । हरेक पाँच बर्षमा लाग्ने जात्रा लागिरहेको छ यहाँ भन्दा पनि हुन्छ । मैले पनि यो जात्राको हिस्सा बन्ने रहर गरेँ आज । चिनेका भन्दा नचिनेका अनुहार ज्यादा छन् ।

कति विहानैदेखि मदिराको नशामा लठ्ठ देखिन्छन् । कतिलाई मतको अनि कतिलाई मत र मदिरा दुबैको नशाले गाँजेको स्पष्टै देखिन्छ । बाफ रे वाफ ! यहाँ त सबका सब भविष्यवक्ता र राजनैतिक बिष्लेषक ! कोहिसँग कुरा गरेर सकिन्न ।

त्यै भिडमा अलिक पर मैले पुछारघरे काकालाइ देखेँ । खुसी लाग्यो, कमसेकम मुखबोल्ने साथी पाएँ । काकाको बिशेषताः काकालाइ धेरै बोल्नु पर्छ । अरुको सुन्ने धैर्यता छैन उहाँमा । उहाँ आधा सुन्नु हुन्छ,, चौथाइ बुझ्नु हुन्छ र बाँकी आफैँले थपेर भन्नु हुन्छ । संक्षेपमा, उहाँ कम बुझ्नु हुन्छ, ज्यादा बुझाउनु हुन्छ ।

करिब आधा घण्टाको फरकमा अअिलेसम्म गनिएका मतको आधारमा भन्दै माइकबाट मत परिणाम घोषणा भैरहेको छ । कतिले हातमा कागज र कलम पनि बोकेका छन्, मत परिणाम टिप्नलाइ होला सायद । यसको रमाइलो पक्ष चैँ के छ भने आफूले आस्था राखेको दल वा व्यक्तिको मत परिणाम कस्तो आउने हो भनेर उत्तिकै कौतुहलता बनिरहने हरेक पटक !

मेरो राजनैतिक आस्था र बिचार स्पष्ट छ सबैलाइ तर काकाले कुन पार्टीलाई भोट दिनु भो होला भनेर अनुमान गर्न गाह्रो छ । चुनावका मुखमा ठूला भनिएका नेताले त सात सात दिनमा पार्टी बदले भने काका त एउटा सर्वसाधारण । दिनदनै पार्टी फेर्नु हुन्थ्यो र पार्टी खाएर मात्र घरमा आउनु हुन्थ्यो । एक डेढ महिनादेखि काकाले घरको खानु भएको छैन भन्दा पनि हुन्छ ।

“काका एकछिन है !” मैले काकाको गफलाई बिचैमा रोक्दै भनेँ । अहिलेसम्मको मतपरिणामको घोषणा भयो । घोषित परिणाम अनुसार ‘दियो’ चिन्हले अरुलाई उछिनेछ । काका यो सुनेर खुब उफ्रनु भो । मैले सोधेँ “काकाले मतदान गरेकै चिन्ह पर्‍यो कि क्या हो ?” काकाले स्वीकृति जनाउंँदै भन्नु भो “युवाहरूलाई हेर्ने हो के अब, बुढाबुढीको पालो पुग्यो ।”

मैले केहि बोलिन । उहाँले पनि सोध्नु भएन । हामी घोषित परिणामका कारण र परिणामका बिषयमा छलफल गर्दै बस्यौँ । केहीबेरपछि फेरि मत परिणामको घोषणा भयो । “अब थोरै मत मात्र गन्न बाँकी छ, अहिलेसम्मको मतपरिणाम अनुसार ‘मादल’ चिन्हले सर्वाधिक मत प्राप्त गरेको छ । यो सुनेर सायद म पनि मुस्कुराएँ तर मभन्दा काका अझ धेरै खुसी हुनु भयो । “यो मान्छे मलाई पहिल्यैदेखि मन पर्छ, कति स्पष्ट बोल्छ, यस्ताले मौका पाए गर्छन् । र, मौका दिनु पनि पर्छ ।” म दङ्ग परेँ र पनि ढिला नगरि काकाको कुरामा स्वीकृति जनाइहालेँ ।

“अब अन्तिम मत परिणाम घोषणा हुंदैछ । शान्तसँग बसिदिनु होला ।” माइकमा आवाज आयो ।
“काका एकछिन ल !” काकालाई मुस्किलले चुप गराएँ । मतगणनाको अन्तिम नतिजा अनुसार यो निर्वाचनमा ‘दराज’ चिन्हले सर्वाधिक मत प्राप्त गरेकाले सम्बन्धित उम्मेदवारलाई विजयी घोषित गरिएको छ ।

घोषणा सुनेर म त दङ्ग परेँ । कस्तो अप्रत्यासित नतिजा ! काकापट्टि पुलुक्क हेरेँ । “ए, काका खोइ त ? भर्खरै यहिँ हुनुहुन्थ्यो मसँगै । अहिलेको अहिल्यै काँ जानु भो फेरि !” म काकालाई खोज्न भिडमा यताउता दौडन थालेँ ।
काका त पर विजयी उम्मेदवारलाई काँधमा बोकेर उफ्रिरहनु भएको पो रहेछ ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x