रमेश खकुरेलकवि र बुद्ध
भातको कसौडीमा चामल नखस्दा म आकाशतिर हेरेर भन्छु - सन्तोषम् परम् सुखम् ।

जब म कविता लेख्न थाल्छु
श्रीमती रित्ता भाँडा बजाउदै
भान्छामा अभाव राग अलाप्न थाल्छिन्
छोरा विद्यालयको शुल्क नतिरे
घरमै सुतिरहने घुर्की दोहोर्याउन थाल्छ
छोरी नयाँ लुगा नल्याई दिए
नबोल्ने अभिनय गर्न थाल्छिन्
तव म बुद्धत्व प्राप्तिका खातिर
ध्यानमग्न हुन्छु ।
छिमेकी खसी डोर्याउदै दशैं भित्र्याउछन्
म पिढीमा बसेर जप गर्न थाल्छु
-अहिंसा परमो धर्म ।
साहु महाजन ऋण असुल्न आइ पुग्छन्
म हात जोडेर भज्छु
– सेवा हि परमो धर्म ।
भातको कसौडीमा चामल नखस्दा
म आकाशतिर हेरेर भन्छु –
सन्तोषम् परम् सुखम् ।
तव मनमा एउटा प्रश्न जन्मिन्छ –
के कवि र बुद्ध भनेको एउटै व्यक्ति हो ?
gpooja1970@gmail.com
Subscribe
Login
0 Comments
Oldest





































