डा. टीकाराम पोखरेलमलाई बधाई छ !!!
आफ्नै गुणगान गाउन थालेँ । आफ्नै गाथाहरू लेख्न थालेँ । अरुलाई पटमूर्ख र आफूलाई महाज्ञानी देख्न थालेँ ।

मैले सानैदेखि बुद्धका कथाहरु सुनेको थिएँ ।
सिद्धार्थ गौतमले आफ्नो घरबार छोडेर हिँडेको, बुद्धत्व प्राप्त गरेको, अनुयायीहरुलाई उपदेश दिएको सबै कथा मेरा मानसपटलमा ताजै थिए ।
नेपालमा जन्मेर पनि बुद्धले कसरी यत्रो नाम कमाए ? मलाई अलिकति इष्र्या पनि थियो र अलिकति बुद्ध हुने लोभ पनि पलाएको थियो ।
बुद्ध घरपरिवार छोडेर हिँडेपछि बुद्ध बनेछन् भन्ने कथाले म प्रभावित थिएँ । अनि बुद्ध बन्न मैले पनि घर छोड्ने निधो गरेँ । बुद्ध भारत पुगेछन् र बुद्ध बनेछन्, म चाहिँँ बुद्धभन्दा पनि ठूलो बुद्ध बन्ने सोचेर घरपरिवार छा्डेर सोझैँ भारतभन्दा पनि टाढा र ठूलो देश अमेरिका हानिएँ ।
बुद्ध पैदल हिँडेर भारत गएर त ज्ञान प्राप्त गरेका थिए भने म त हवाइजहाज चढेर अमेरिका पो पुग्ने त । ज्ञान नफुर्ने कुरै थिएन ।
नभन्दै अमेरिका पुग्नासाथ मलाई अकस्मात ज्ञानको वर्षा भैहाल्यो । म ज्ञानको सागरमा डुबेँ । बुद्ध बन्न त ज्ञानको सागरमा आफू मात्र डुबेर भएन, अरुलाई पनि डुबाउनु पर्यो । आफ्ना उपदेशले अनुयायी बढाउनु पर्यो । तर आजको जमानामा बुद्धको समयको जस्तो अनुयायी एक ठाउँमा जम्मा गरी उपदेश दिन संभव थिएन । समय परिस्थिति अनुसार चल्नै पर्यो । म सामाजिक सञ्जालमार्फत विद्युतीय ज्ञान र उपदेश बाँड्न थालेँ ।
अमेरिका बसेर सामाजिक सञ्जालमा नेपालका नेताहरूलाई गाली गर्न थालेँ । कठै, मेरो देशको दुर्गति ! भन्दै देशलाई व्यंग्य गर्न थालेँ । देश कसरी बनाउने भनेर अमेरिकाका उदाहरण दिन थालेँ । कसैको समर्थन र कसैको विरोधमा मैले दिनदिनै अर्ति उपदेश वर्षाउन थालेँ ।
बुद्धका अनुयायी बढे झैँ मेरा उपेदशमा पनि दिनप्रतिदिन भ्युअरहरू बढे । लाइक र कमेण्टको वर्षा भयो । म दङ्ग परेँ । अरुलाई गाली गर्न सके अझ बढी लाइक र कमेण्ट आउने थाहा पाएपछि म त्यसतर्फ बढी आकर्षित भएँ ।
मेरा विद्युतीय उपदेशमा लाइक र कमेण्टका वर्षा देखेपछि मलाई आफू बुद्ध मात्र होइन, महाबुद्ध नै भएँ झैँ लाग्यो । आफैँप्रति गर्व लाग्यो । आफ्नै गुणगान गाउन थालेँ । आफ्नै गाथाहरू लेख्न थालेँ । अरुलाई पटमूर्ख र आफूलाई महाज्ञानी देख्न थालेँ ।
र, अन्यमा आफैँले आफैँलाई बधाई दिएँ- “महाबुद्ध बनेकोमा तँलाई बधाई छ !!!”
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































