राजकुमार लामिछानेगणतन्त्रे नीति तथा कार्यक्रम (भाग २)
पूर्व जारी गणतन्त्रे नीति तथा कार्यक्रमले जस्तै प्रस्तुत नीति तथा कार्यक्रमले समेत उच्च सफलता हासिल गर्ने कुरामा हामी पूरापुर विश्वस्त छौ ।

पञ्चायकालमा समेत यस्ता नीति तथा कार्यक्रमहरू सञ्चालन हुन्थे । झट्ट सुन्दा सबैको मन छुन्थे । “हावापानी र माटो सुहाउँदो शासन व्यवस्था“ भन्ने जस्ता नीति तथा कार्यक्रमहरूले तहल्का नै मच्चियो । तर जति तहल्का मच्चाए पनि अन्तमा राजतन्त्र नै थच्चियो । पञ्चायत गयो अनी बहुदलीय प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रको उदय भयो । सबैको लोकप्रिय मानिएको गणतन्त्रमा समेत यस्ता नीति तथा कार्यक्रमहरू सार्वजनिक हुँदै आइरहेका छन् ।
यसै सन्दर्भमा हामीद्वारा प्रकाशित पहिलो हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह “पुतलाको पावर“ मा पहिलो गणतन्त्रे नीती तथा कार्यक्रम (२०७४-०७९) लागू भएकोमा सो नीति तथा कार्यक्रमले जनताको पोल्टो र देशले कोल्टो फेर्न सफल भएकोले खुशीले अत्यन्त झुसी हुँदै दोस्रो गणतन्त्रे नीति तथा कार्यक्रम (२०७९- ०८४) तय गरी मुलुकभर लागू गरेका छौं । पूर्व जारी गणतन्त्रे नीति तथा कार्यक्रमले जस्तै प्रस्तुत नीति तथा कार्यक्रमले समेत उच्च सफलता हासिल गर्ने कुरामा हामी पूरापुर विश्वस्त छौ । नीति तथा कार्यक्रम यसप्रकार रहेको छ-
१. चालु अवस्थामा रहेका स्वदेशी उद्योगहरू सञ्चालन गरिरहँदा वैदेशिक व्यापार तथा कुटनैतिक सम्बन्धमा समेत चिसोपन आउन सक्ने अवस्थातर्फ मध्ये नजर राखी त्यस्ता उद्योग, कलकारखानाहरू क्रमशः बन्द गर्दै जाने नीतिलाई अग्राधिकार दिइने छ । बन्द भइसकेका उद्योगका मालसामानहरू “खाली सिसी पुराना कागज” सँग सम्पर्क राखी कबाडीको मूल्यमा बिक्री गर्नेतर्फ आवश्यक नीति अवलम्बन गरिनेछ ।
२. शिक्षातर्फ सरकारी स्कूलहरू कति छन् ? सो सर्च गरी बिस्तारै तिनीहरूलाई प्राइभेट बोर्डिङतर्फ मर्ज गरिनेछ । नेतागणहरूमा अंग्रेजी उच्चारणमा परेको कठिनाईलाई मध्यनजर राखी अंग्रेजी शिक्षकहरूद्वारा होम ट्यूसन पढाउने र शैक्षिक योग्यताको मानार्थ प्रमाणपत्र उपलब्ध गराउने कार्यक्रमलाई तिव्रताकासाथ अघि बढाइनेछ ।
३. दलिय व्यवस्थामा स्वतन्त्र व्यक्तिहरूले उम्मेदवारी दिई अनेकौं छलछाम गरी पार्टीका उम्मेदवारलाई हराउने र उल्टै पार्टीहरूको दोष देखाएर कराउनेहरूलाई हरेक ठाउँमा असहयोगको नीति अवलम्बन गरिनेछ । यति गर्दा पनि स्वतन्त्र जनप्रतिनिधिहरू नसच्चिई अझै लोकप्रिय हुँदै गएको अवस्थामा पार्टी हितलाई ध्यानमा राखी त्यस्ता स्वतन्त्र व्यक्तिहरूले पार्टीहरूको अनुमतिबिना कुनै पनि चुनावमा उम्मेदवारी दर्ता गर्न नपाउने गरी कानुनी रूपमा नै बन्देज लगाउने तर्फ आवश्यक पहल गरिनेछ ।
४. आफ्नो पार्टीले गरेका गलत कामको समेत ढाकछोप गर्दै जसले पार्टी र लिडरको निडरताका साथ वकालत गर्छ, त्यस्ता कार्यकर्ताहरूको पहिचान गरी पार्टीको तर्फबाट सम्मान स्वरूप एकएकवटा पट्टु र झोलासमेत उपहार दिइने छ ।
५. बेरोजगारी समस्या हल गर्न उच्च शिक्षा हासिल गरेका युवा युवतीहरूलाई म्यादी प्रहरीमा भर्ना खुलेका बखत पहिलो प्राथमिकता दिइनेछ । यसका अतिरिक्त खाडी मूलुक तथा विदेश गमनको लागि खुला गरिएको मार्गहरू अझ व्यापक बनाउन आवश्यकता अनुसार म्यानपावर कम्पनीहरू बढाउनका लागि ’ट्वान्टी फोर आवर, म्यान पावर’ नारा अघि बढाई सम्बन्धित निकायलाई स्वीकृति प्रदान गरिनेछ ।
६. खेलकुदतर्फ म्यूजिकल चियरलाई लोकप्रिय खेलका रूपमा स्थापित गरिनेछ । यसका साथै चियर ब्रेक, माइक ब्रेक खेललाई पनि उतिकै रोचक बनाउदै लगिनेछ । सिधै जमिनमा दौडिने म्याराथनको रेसलाई रूपान्तरण गरी बुरूक्क उफ्रेर काधैकाधमा दौडने नयाँ प्रकृतिको संसद भवनमैं खेलिने इनडोर खेललाई प्राथमिकताका साथ लागू गरिनेछ । यसअघिका राष्ट्रपति रनिङ शील्ड, प्रधानमन्त्री फलानो कपलाई बेवास्ता गर्दै यसलाई भाँडभैलो खेलकूद प्रतियोगिताका रूपमा विकास गरिनेछ । बेलाबखत नाराबाजी होहल्ला गरेर सो खेल सुचारु रूपमा चल्न नदिए पनि सुबिधा र भत्तालाई भने छल्न दिने छैन । खोजीखोजी र रोजीरोजी रकम गोजीमा हालिने छ ।
७. धेरै पटक प्रधानमन्त्री हुने भाग्यमानी नेपालीलाई खाली रहेको गिनिज बुकको पानामा नाम लेखाउन पहल गरिनेछ । सोका लागि वृद्धभत्ता खाने र लौरो टेकेर सत्तामा जाने उमेरसम्म टिकिरहनु पर्ने भएकोले मञ्चमा बस्दासमेत छट्पटी लाग्नु र मुखे ओढारबाट र्याधल चुहिनु स्वभाविकै हो । हुन त रूमाल नभएको कारण तरर चुहिएको र्याीललाई हातैमा सरर गर्नु पनि अस्वभाविक होइन । अचानक आइपर्ने यस्तो गम्भीर अवस्थालाई ख्याल राखी विश्वसामु नेपालीको इज्जत र गौरव बढाउने त्यस्ता महान प्रधानमन्त्रीका लागि उच्च कोटीको र्याोले र रूमालको व्यवस्था मिलाइने छ । जुन हेटौंडा कपडा उद्योगको उत्कृष्ट उत्पादन हुनेछ ।
८. “सबै नेता सांसद, सांसद सबै मन्त्री” भन्ने मूल मन्त्र मानेर मन्त्री र मन्त्रालयको विस्तार गरिनेछ । मन्त्रालयको संख्या अपुग भएमा मन्त्रालय फुटाएर समेत संख्या थप गरिनेछ । मन्त्री पद सकभर सबैले प्रयोग गर्न पाउने गरी तीन तीन महिनामा मन्त्री मण्डल हेरफेर गरिनेछ ।
९. खानेपानीतर्फ, भएका खोलानालाहरूलाई विदेश भ्रमण गर्न पठाइने छ । प्रत्येकका भान्छा, बैठक, सेमिनार, मन्त्रालय, कार्यालय, विद्यालय, पार्टी, क्वार्टर सबैतिर मिनरलवाटर पुर्या इनेछ । हिमालमा हिउँ पर्नबाट कुराइनेछ भने पानी प्रशोधन केन्द्रलाई दिनदहाडै घुराइनेछ । त्यसमा पनि विदेशी अनुदान जुराइनेछ ।
१०. पानी जहाजका हकमा नदिनालाहरू छिमेकी मुलुकसंग बढी रमाउने, आफ्नो भविष्य उतै जमाउने भए पनि विभिन्न तालहरू हालसम्म स्वदेशमा अडेका र हिउँदमा सुके पनि वर्षातमा हलक्क बढेका हुँदा पानी जहाज र तालको सम्बन्धलाई अत्यन्त गाढा बनाउँदै लगिनेछ । यसका अतिरिक्त “नेपालका नगरी सडकमै पोखरी“ हुने भएकोले जलमार्गको लोकप्रियतालाई व्यापक बनाउँदै लगिनेछ ।
११. वायुमार्गका हकमा “ओल्ड इज गोल्ड” भन्ने विश्वव्यापी सिद्धान्त अनुसार सकभर ४० वर्ष पुराना भरपर्दा र ठेलठाल गर्दा स्टार्ट हुने अत्यन्त उच्च कोटीका हवाई जहाजहरूलाई प्राथमिकताका साथ उडान कार्यमा प्रयोग गरिनेछ । त्यसैगरी सबैको मनभित्र पसेको रेलगाडी प्रदर्शनी भइसकेको अवस्था भए पनि हाल विविध कारण त्रिपाल ओडेर बसेको हुँदा निकट भविष्यमा यो यात्रालाई अघि बढाइनेछ । रेलगाडी गुड्दै जान थालेपछि नेपाल लोकबाट गरिबी, भोकमरी एवम् असहायहरूको दुख पीडा स्वत उड्दैजाने अपेक्षा गरिएको छ ।
१२. रक्तचन्दन, गाजा लगायतका जडिबुटीहरू विदेश पैठारी गरिनेछ । उक्त पदार्थ पैठारीबाट आयातित रकम पार्टी कोषमा जम्मा गरिनेछ । सो रकम पार्टी हितमा अहोरात्र खटिने, नाका नजिक लठिने, सबैसंग पटिने, हाटहुटे, चाट्चुटे र पाटपुटेहरूलाई पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
१३. कृषिमा क्रान्ति ल्याउनको लागि खेतीवारी पुरपार गर्न, सम्म्याउन डोजर जस्ता मेसिनहरूको व्यापक प्रयोग गरिने छ । खेतीपातीको अनुगमन गर्न बीच बीचमा ढलान, पीच आदि गर्नुको साथै आली र डिलमा पोल गाडेर बोल बालिने छ ।
१४. प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसारको धर्म अवलम्बन गर्न, धार्मिक स्थल तथा गुठी संचालन, संरक्षण गर्नपाउने हक भए पनि त्यस्तो धार्मिक स्थल तथा धार्मिक गुठीको संचालन एवम् सम्पत्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पार्टीको नियन्त्रण रहने छ । धार्मिक स्थलमा चढाएको जिन्सी तथा भेटी रकम खाएर, खर्च कटाएर बाँकी रहेको सार्वजनिक गरिने नीतिलाई कायम राखिएको छ ।
१५. विदेशी सम्बन्धलाई दिगो र अझ गाढा बनाउन भएका सिमास्तम्भहरू क्रमश हटाउदै लगिनेछ। कुनै सन्धि सम्झौता गर्दा छिमेकीको हितलाई बढी ध्यान दिइनेछ । कुटनैतिक भ्रमणमा जादा सकभर दुईचार सय जतिको लर्को लागेर जाने र बिहेमा भतेर खाएझै खाने नीतिलाई यथास्थितिमा राखिएको छ । कर्मशील बनेर जाग्नु भन्दा पनि विदेशतिर लाग्नु र लम्पसार परेर माग्नु श्रेयकर भएकोले सबै मित्र राष्ट्रसामु लम्पसार भएर हात फैलाउने नीतिलाई जोड दिइनेछ ।
१६. हात मिचिमिचि धुनको लागि पानीको अभाव हुनुको साथै साबुन किन्दा खर्चिलो समेत हुने भएकोले सो कुरालाई मध्येनजर राखी खाना खाने प्रयोजनका लागि प्रत्येक घरमा प्लास्टिकको चम्चा र पुछपाछका लागि पुराना कागजात पुर्याइने कार्यलाई प्रभावकारी ढंगबाट लागू गरिनेछ ।
१७. चन्द्रमा र मंगल ग्रहमा जानको लागि भर्याङको व्यवस्था गरिने छ । त्यहाँ बस्ती बसाउन र प्लटिङ गर्न मिल्ने नमिल्ने जाँचबुझ गरि प्रतिवेदन पेश गर्न उच्च स्तरिय प्लटिङ कमिशन समिति गठन गरिने।
१८. नेपालबाटै विश्व छर्लङ्ग देखिने भ्यूटावरहरूको निर्माण गरिने छ । उक्त टावरहरूको फेदमा लौका, घिँरौला, काँक्रो जस्ता लहरेदार तरकारी रोपिने छ । टावरबाट गरिबीको अवस्था हेर्न सहज हुनुको साथै थाँक्रोको समेत काम गर्ने भएकोले तरकारी व्यवसायमा यसले नयाँ क्रान्ति ल्याउने छ ।
१९. भ्रष्टाचार नियन्त्रण एवम् सुशासन कायम गर्न महत्त्वपूणर् पदमा सकभर छोरा, छोरी, बुहारी, श्रीमती, साला, साली,सम्धी, सम्धिनी र नातागोताहरूलाई मनोनयन वा नियुक्ति गरिने वा चुनावमा टिकट दिने व्यवस्थालाई अझ प्रभावकारी ढंगबाट लागु गरिने छ ।
२०. स्वास्थ्य क्षेत्रतर्फ अक्सिजनको अभावका कारण कोरोना जस्ता महामारीबाट धेरैले ज्यान गुमाउन परेको तथ्यलाई मनन गरी पिपलका बृक्षहरू व्यापक रूपमा रोपिने छ । अक्सिजन कम भएको महसुस हुनासाथ उक्त बृक्षको नजिक गएर स्वास लिन सल्लाह दिइनेछ । साथै एकदिन सबैले यो लोकबाट परलोकको यात्रा गर्नु पर्ने ध्रुव सत्यलाई दृष्टिगत गरि भएका अस्पतालहरूमा सुधार गर्नु भन्दा पनि “मरौँमरौँ लाग्ने आर्यघाटहरूको निर्माण कार्यमा जोड दिइनेछ ।
२१. जेष्ठ नागरिकका हकमा बृद्ध अवस्थामा टहल्लिन वा दिन काट्न गाह्रो हुने गरेको तथ्यलाई मनन गरीर स्थानीय क्षेत्रमा ठाउँठाउँमा चौतारो निर्माण कार्यलाई अग्राधिकार दिइनेछ । वृद्धावस्थाका दौँतरीहरू सोही चौताराहरूमा भेलाजम्मा भएर दुख सुखका गफ छाट्न र दिन काट्न हुन अनुरोध गरिनेछ ।
२२. “हरियो वन नेपालको धन“ भन्ने उक्ति सार्थकताको लागि वन जंगल फडानी गरेर अर्थ उपार्जन गर्न जुक्ति निकालिने कार्यलाई उच्च प्राथमिकताका साथ लागू गरिनेछ ।
२३. यस नीति तथा कार्यक्रममा समावेश गर्न छुट भएका एवम् समयसापेक्ष संशोधन वा थप गर्न आवश्यक देखिएका अन्य कार्यक्रमहरू तेस्रो नीति तथा कार्यक्रममा थप गर्दै लगिनेछ । इति ।
(लेखक सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।)
Subscribe
Login
0 Comments
Oldest







































