आफ्नै परिचयको खोजी
त्यस्तो कुनै बाँदर जन्मिएला जन्म्यो कदाचित् हनुमान् नहोला लङ्का जल्यो रावण फेरि उस्तै सीतापतिको छ दशा दुरुस्तै ।
हिमालकै तुल्य थिएँ जहाँ म
त्यै शीर्षझैं उच्च उठेँ कहाँ म ?
खै बाग्मतीको जलझैँ म पानी
पुर्खाहरुको म चिनो थिएँ खै ?
आफ्ना पखेटा किन लाग्छ सस्तो
फुर्का भिरेको पुतली म जस्तो
बेहोस बेहोस छु होस मानूँ
ऐना सधैँ हेर्छु म हैन क्यारे ।
सुक्दा पिना काग कराउँदै छ
जोगी यहाँ माग्न डराउँदै छ
बन्धुत्वको शाश्वत गीत छैन
सङ्गीतमा ताल हराउँदै छ ।
म अस्मिता खोज्छु लिलाममा गै
ब्यूँताउने भन्छु मलाममा गै
उल्टो घुमेको छ दिमाग मेरो
खोज्दै छु माटो टुँडिखेलमा गै ।
नेपालमा बस्दछु गाँस निस्तो
अमेरिका पस्दछु दासजस्तो
छन् वृद्ध रोगी घर कुर्न थोत्रो
भविष्यको दिग्भ्रम यात्रुजस्तो ।
त्यस्तो कुनै बाँदर जन्मिएला
जन्म्यो कदाचित् हनुमान् नहोला
लङ्का जल्यो रावण फेरि उस्तै
सीतापतिको छ दशा दुरुस्तै ।
म श्राद्ध मेरै किन गर्छु आमा
मै बन्चरो ठोक्दछु यी घुँडामा
ब्यूँझाइद्यौ ब्यूँझनु पर्छ मैले
लामो नशामा नसुतूँ म आमा ।
प्रद्युम्नको पेट बढ्यो कि छाम्नोस्
त्यो जन्मदा मुग्दल ता नजन्मोस्
फलाम ताछे हतियार बन्छ
विनाश होला यदुवंशजस्तो ।
नेपालजस्तो घर खै कहाँ छ
माटो स्वयं लेख्दछ सिर्जना छ
आमा पस्यो यो जगभित्र पानी
यो भत्किँदा ओत बसूँ कहाँ छ ?
सानेपा, ललितपुर