भूवनहरि सिग्देलनेपाल आउन्नँ म
छैनन् बालन रोइला मरिसके चुड्का सुनाउन्नँ म, खोक्रो देश भजाउने भजनका सड्डीत गाउन्नँ म ।

सिङ्गाे देश चिनाउने मन गरेँ टुक्रेर साझा भयो
जङ्गे पिल्लर खै कता दशगजा खुल्ला छ खाजा भयो
खोजेँ जागिर योग्यता पनि थियो रे जात यो बाहुन
ऐले बस्छु अमेरिका सहरमा नेपाल आउन्नँ म ।
रे आह्वान छ भन्दथे कविहरू नेपाल आओस् भनी
रित्ता छन् घरगोठ योग्य करले आवास छाओस् भनी
पुर्खाका गलखेतमा बहरले बाँझो फुटाउन्नँ म
रित्तो कोख छ डम्म पेट नभरी नेपाल आउन्नँ म ।
सारङ्गी कति रेट्नु खै करङको कर्खा बनाईकन
कैले बाल्नु चुलो सधैँ नयनले बर्खा चलाईकन
भन्लान् मालिक दास के हुनगयो जेजे भनुन् सुन्दिनँ
माटोको अपमान गाउन फिरी नेपाल आउन्नँ म ।
हाँसेको अनुभूतिमा धरधरी रोए यहाँ बेस हो
खाएको अनुमान केवल भुँडी खोक्रै कसे बेस हो
छैनन् बालन रोइला मरिसके चुड्का सुनाउन्नँ म
खोक्रो देश भजाउने भजनका सङ्गीत गाउन्नँ म ।
बाआमा अति वृद्ध छन् म कसरी फिर्ता जवानी गरूँ
भाका नाघिसके निकै ऋण थियो चुक्ता म-कैले गरूँ
साथी छिन् सहचारिणी घरबिदा मागेर पाउन्नँ म
खैरीबाट बिछोडपत्र नलिई नेपाल आउन्नँ म ।
सानेपा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest






































