साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे मान्छेले जस्तै हजुर भन्छ

नसा र धमनी हुँदै मुटुसम्म पुगेको विकारयुक्त रगत सफा गरी यस भित्र मान्छेको रगत भर्नु पर्छ । कङ्काल सग्लो छ । मान्छेका सत्त्वसँग मिल्ने मासु जोरेर कीलाकाँटा कस्नु पर्छ । मान्छेका बिचार र भावना भर्नु पर्छ ।

Nepal Telecom ad

भुवनहरि सिग्देल :

समाचार नसुनेको पनि चार वर्ष भएछ । अझै पत्रिका भनेपछि त पढ्नै मन नलाग्ने । बलजफत गरेर पढियो, सुनियो भने ता तुरून्तै पाकस्थलीमा गाण्डीव गाडिएर गोलीगाँठादेखि गर्दनसम्म चस्का दिन थालिहाल्ने । सुरुमा स्वास्नीसँग रिस उठ्ने, अनि परिवारलाई चिथोरौंझैं हुने, त्यसपछि त मुरमुरिएर आफ्नै कपाल लुछ्दालुछ्दा धरोधर्म अहिले त डढेलोले खाएका महाभारतका पाखामा ठुटाजस्ता दसबीसवटा रौँ बचेका होलान् । यसिमा सितरिङ्ने अब यो पीडा कसलाई भन्ने खोइ ? अब अर्को चर्को व्यथा सुरू भो भैरे ! रिँगटा चल्ने, वाकवाकी लागेर आउने, रुद्रघण्टीमा अमिलो पानी भरिएर हुलुकहुलुक हुने, आँखा धमिलो हुने, जीउ झमझमाउने गर्नथाल्यो ।

त्यसको लगत्तै गिलो फिलोमा पिलो निस्क्यो । ए बाबा ! यो के भुर्नहत्ते आइलाग्यो भनेर जानेबुझेसम्म ओखती खाइयो, डाक्टर वैद्यका गल्लीमा धाइयो, नुनतेल खाने पैसामा धमिरा लाइयो । ओखतीका पोका त डोकाभरि नै लदाए नि । जीउ मारेर मुख बारेर सिर्लिक्कै ओखती निलियो । बाबा ठाकुरे ! पिलो त पीपलटारे पिलन्धरेको नाति पिनासेले चुइगम चपाएर फुकेजस्तै गरी हुसुसु बढेर आयो । फेरि डाक्टरकै शरण, फेरि यो बगली हरण र त्यो बगली भरण सुरु भो । उसले त तारूबाँसको कीलो पिलोको बीचमै रोपेर थिलथिलो पार्‍यो । कोढीलाई उठे सुख न बसे सुख भयो । फिलो त कृष्णले गोबर्धन उचालेझैं पो उठ्यो सर्लक्कै ।

‘दुखपाइस मङ्गले आफ्नै ढङ्गले’— साथीले भन्यो ।
‘यो ता पक्का सरूवा रोग हो सरूवा । कुष्ठ अस्पताल जा बाबै’ ! अर्कोको सल्लाह थियो ।
दिदीको भविष्यलाई सोचेर सालोले भन्यो— ‘भिनाजु ! यो रोग पाकस्थली हँुदै गुदद्वारतर्फ देखापर्‍यो, अब छालामा सङ्क्रमित भएर अगाडि सर्छ । फेरि लुतोमा परिणत भएर जीउभरि फैल्यो भने दिदीले घरको काम गर्ने कि भिनाजुका अङ्ग कन्याएर बस्ने ? काटी साध्य हुने छैन । ठसठसी गनाउँछ भिनाजु गनाउँछ । कीरा पर्न थाल्छ । त्यसैले यसलाई काटिहालौँ, अर्को विकल्प छैन । एकजना पैसा नपर्ने डाक्टर छ मैले चिनेको, म ऊसँग सल्लाह गरेर आउँछु ।’

ऊ गयो र भोलिपल्टै आइपुग्यो । हतासिँदै एकै सासमा भन्यो— ‘हुँदैन रे भिनाजु नकाटी सुक्खै छैन रे । पाकस्थलीको विकार मलद्वारको बाटो गरी माटोमा टाटो बसाल्न हामफाल्दा निकास क्षेत्रमा आक्रमण गर्‍यो । अब त्यो क्षेत्रको धार्नी बिसौली मासु काटेर फाल्ने र त्यो खटप्वालमा हिंस्रक जन्तुमा हुँडार र त्यो भेट्न दुर्लभ भएमा कुकुर र सँुगुरको मासु मिलाएर असारमा सडक विभागले पिच टालेझैँ टाल्ने । यही मात्र एउटा उपाय छ रे ।’

‘रोग र शत्रु नपाल्नू भन्थे हाम्रा बाउले । तेरी दिदीपछि मलाई माया गर्ने तैँ होस् । जे गर्दा यो महारोग टर्छ सो गरेस् । अनि कुन डाक्टर ठीक छ ? सोधिनस् ?’

‘म लागेपछि कच्चा काम गरूँला त ? सोधे नि, रोग पनि डाक्टर अनुसार र डाक्टर पनि रोग अनुसार हुन्छन् रे । यो
रोगको लक्षण हेर्दा महिना दिनसम्म तपस्या गर्नुपर्ने भगवान्को शरणमा जानु पर्दैन रे । यसलाई त बिहान चार बजेदेखि विष्णुमतीको बगरमा जेमराजको वाहनलाई वैतरणी तार्ने खुबीवाला शल्यचिकित्सक भए राम्रो रे । जसले तीरलिङ्गीको कल्चौँडालाई तुर्लॅङ्गसमेत पारेर नगरवासीलाई राजखानी खुवाएकोले उनीहरू कृृतकृत्य छन् । चिकित्सकले श्रेय पाएकोपायै छ । जेमराजका वाहन पनि देश भित्रका त समाप्तै भइसके । मित्रराष्ट्रले उसको बाँझोमा काँजो कसेर जिन्दगी धसेर शेष हुन र विसर्जन गर्न आतुर महिषासुरलाई यता पठाउँदा एकातिर दाम भयो ।

अर्कोतिर सहयोगी मित्रमा नाम भयो । महिषासुरलाई समाधिस्थ गर्ने चिहानको बचत भयो । यताका मित्रले चिकित्सकको छललाई भालेको फल मानेर सेवन गरेको मासुले औसत आयु बढेको बढ्यै देखेर विश्व स्वास्थ्य सङ्गठनले आफ्नो अनुसन्धानमा हेरफेर र पुनर्विबिचार गरिरहेको छ रे ।’ बाघै मारेर आएझैँ सालो गजक्क फुल्यो । म भने त्यो परिभ्राट सम्झेर खस्रक्क परेँ । केही सिप लागेन मेरो । शल्यक्रिया गरियो । सफल भयो भनेर इष्टले बधाई पनि दिए, हात मिलाए । म ढुक्कसँग ओछ्यान परेँ । सङ्क्रमित मासुभित्रै अल्झिएछ क्यारे, व्यथा बल्झियो । मेरा पितापुर्खादेखिको जिन झर्दै र सर्दै बनेको मासु काटेर भेटेसम्म हँुडार र पुग नपुगमा कुकुर, सँुगुरको मासुले भ्वाङ टालिएको हो यो । चामल पैसा धामीलाई बेथा हामीलाई मात्र भयो । फिलामा त गलगाँडको थैलो पो झुन्डियो ।

सबैले एकै स्वरमा भने— ‘यो जिनै नमिलेको हो । बलरामले भैँसीको खाँटी दूधमा पानी मिसाएजस्तो ता मिल्दैन नि जिन भन्ने कुरो । ऐजेरू भो ऐंजेरू यो त ।’

फाइदामा स्वास्नीसम्म साट्ने युगमा सित्तैँमा बिना छुरा कुरा काट्न पाएपछि कसले बाँकी राख्थ्यो र ?—‘ए फलानालाई ता निको नहुने रोग पो सल्केजस्तो छ । निको हुन्न क्यारे । रहन्नहोला । यौटा निमित्त चाहिने हो । बिचराको यै निमित्त होला जस्तो छ ए ! घाउ पिल्लेर गिजगिजाउँदै जान्छ होला गजुरे ऊ ता !’ यो संवाद गजुरे र हजुरेका बीचमा भएको रे । सुनेछ उजुरेले । उसले तुरून्तै यता लायो भनूँ कि म छेउ गायो भनूँ ।

घाउ कचल्टिएर आयो । पिल्लियो । त्यसै गिजगिजाएर आउँने । पिचिक पिचिक पीप निस्किने । छरछरी रगत फुट्ने । हडिँदो पानी बग्ने । डुङडुङ्ती गनाउने । काला र नीला झिँगा कताबाट मौका पर्छ भनेर भन्किरहने । दुर्गन्धले हो वा सर्छ भन्ने डरले हो इष्टजनले फर्केरै नहेर्ने । आफैँ मन बुझाउनु पर्ने— ‘घरमूली फोहोरी र रोगी भएको घरमा कसको हैकम कसले मानोस् । त्यो कन्तबिजोग हेर्ने रहर कसलाई हुन्छ खोइ ?’

अहिले सङ्क्रमण झन् फैलिँदै छ, पेटमा, छातीमा, दिमाग र अनुहारमा । दुखेजस्तो, झमझमाए जस्तो, रगरगाएजस्तो, चेतनाहीन भएजस्तो, संवेदनाशून्य भएजस्तो, तागतको बेलुन खुस्केजस्तो, हडबडी र छटपटी बढेजस्तो छ— पूरै शरीरमा र छालाका रोमकूपहरू समेत सिरिङ्ग गर्दै छन् । म पूरा थलामा परेको छु । ओछ्यान परेको छु ।

चार वर्ष पुग नपुग भयो । चिकित्सकको शरणमा छु । अबभने तिनका बुद्धिले काम गर्न लागेजस्तो छ । तिनका कुरा सुनेँ— ‘मान्छे मांसाहारी जीव होइन । यो शान्त प्राणी हो । यसको रगत कुकुरसँग मिल्दैन । मासु मिल्दैन । बिचार मिल्दैन । स्वभाव मिल्दैन । हिंस्रक पशु र यसका मांसकोष मिल्दैनन् । मान्छेलाई मान्छेकै रगत देऊ ! मान्छेकै मासुसँग मिलाऊ ! यो बिरामीको पूरै मासु खुर्केर फाल्नुपर्छ । नसा र धमनी हुँदै मुटुसम्म पुगेको विकारयुक्त रगत सफा गरी यस भित्र मान्छेको रगत भर्नु पर्छ । कङ्काल सग्लो छ । मान्छेका सत्त्वसँग मिल्ने मासु जोरेर कीलाकाँटा कस्नु पर्छ । मान्छेका बिचार र भावना भर्नु पर्छ । इमान र नैतिकता यसभित्र छिराउनु पर्छ । यो मानिस ठीक हुन्छ आत्तिनु पर्दैन तर शल्यक्रियाका सामग्री तयार गर्न ढिला भयो ।

त्यसपछि यो मानिसलाई ‘ए मान्छे !’ भनेर बोलाउनु होस् ! यो बोल्छ । यसले पक्कै हजुर ! भन्छ ।

०००
सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
मेरो कहाँ देश छ ?

मेरो कहाँ देश छ...

भूवनहरि सिग्देल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x