मेरो कहाँ देश छ ?
कौवा भोज बनाउने चलन भो प्रज्ञाप्रतिष्ठानमा, पन्डा हो अब लेख्नु के म कविता तिम्रा अनुष्ठानमा ।
राजाले सपना छरे मुलुक यो बन्नेछ सिङ्गापुर
त्यो विश्वास गरी समर्पित भई जोत्यौँ घुँडामा शिर
अर्को वाद खडा गर्यौँ सडकमा ढुङ्गा लिई उर्लियौं
सालीको कति आस गर्नु र भिना बूढा भई थोत्रियौँ ।
ऐनामा मुख हेर्छु खै विगतको बैँसालु लाली गयो
बिस्तारै अनुहारमा बिफरका छ्याका भने देखियो
लाग्थ्यो आस खुराकमा रसभरी बाँड्लान् मठाधीशले
हामी काग कराउँछौँ तर पिना मात्रै सुक्यो घामले ।
हे प्यारा कविवर्य साधु कविता लेखूँ नलेखूँ भयो
हन्डी मात्र पचाउने मुलुक यो संघीयतामा गयो
कौवा भोज बनाउने चलन भो प्रज्ञाप्रतिष्ठानमा
पन्डा हो अब लेख्नु के म कविता तिम्रा अनुष्ठानमा ।
भ्रष्टाचार हुँदैन रे जुग फिर्यो हुन्नन् बलात्कार रे¤
कायाकल्प समस्त देशभर नै हुन्छन् चमत्कार रे ¤
ला लोप्पा सुनकाण्ड खोज नगरूँ श्रद्धाञ्जली निर्मला
यो संघीय समाज रे अहहहा भो हाँसिद्यौ निर्मला ¤
हाँस्यो त्यो इतिहासको मृतकथा पञ्चायती काल रे ¤
हाँस्यो राज्य जहानिया विगतको हाँस्यो प्रजातन्त्र रे ¤
राष्ट्राध्यक्ष समक्ष टेक्दछ घुँडा टीका दसैँको हरे
हे हे शासक फेरियो मुलुक यो तिम्रा चमत्कारले ।
सन्नाटा किन कानमा बजिरहे जङ्गे सिमाना ढले
कोही सुन्न तयार छैन कविका आक्रोश वाणी गले
हे साथी म लिलाममा चढिसकेँ के अस्मिता शेष छ ?
मेरा प्वाँख उखेलिए बिकिसके मेरो कहाँ देश छ ?
सानेपा, ललितपुर