साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुङ्ग्रै बङ्ग्याउनेहरू

अर्का एक मास्टरजी छन् जसलाई काममा भन्दा कुरा गर्नमा बढी रस छ । कुरा गर्न थाले पछि घण्टी लागेको र घण्टी बितेको थाहासुद्धि रहन्न ।

Nepal Telecom ad

केटाकेटी उमेरमा दूध-कुराउनी खान खुब मनपथ्र्यो । तर, घाँस काट्न भने कहिलेकाहीँ साह्रै अल्छी लाग्थ्यो । मेरो आलसीपन देखेर पिताजी उखानमार्फत् कटाक्ष गर्नुहुन्थ्यो-“अल्छे तिघ्रो स्वादे जिव्रो !” ऊ बेला पिताजीले कटाक्ष गर्दाको उखान आज आफ्नै स्कूलमा चरितार्थ भैरहेको छ ।

एकजना मास्टरजी छन्, जो हमेशा स्कुलमा गयल पर्छन् । स्कुल आएको दिनपनि आफ्नो ड्यूटीप्रति त्यति ठूलो दिलचस्पी हुँदैन । करले कक्षाकोठामा पस्छन् । अलिलि पढाए जस्तो गर्छन्, फेरि पन्द्रवीस मिनेट अगाडि नै कक्षाकोठाबाट निस्किन्छन् । अलिक रोगीपनि छन् । हमेशा औषधी खाइरहनुपर्छ । अफिसमा कक्षाकोठामा जहाँ भएपनि ढुसुढुसु उङिरहेका हुन्छन् । बच्चाको पढाइ-लेखाइमा सारै खेलाँची गरे भनेर पहिले एक दुईचोटि अरु विद्यालयमा सरुवापनि गरिएको हो । चाकरी, चाप्लुसी र नेताहरूको दौराको फेर समातेर फेरि आफ्नै घरपायक स्कुलमा आइपुगिहाले । हेडमास्टरले अलिक कडाइँ गर्‍यो भने खिस्स हाँसेर टारिदिन्छन् । अब त भनेरपनि केही हुनेवाला छैन । उनलाई कुनैपनि वचनले छुँदापनि छुँदैन । सहेरै पचाइदिन्छन् । हदभन्दा माथि थेत्तरो भैसकेका छन् ।

पेश्की तलब थाप्ने-माग्ने मामिलामा चाहिँ उनी सबभन्दा अग्रणी छन् । तलब खाने बेलामा उनले अलिकति रोढ्याइँ र झगडा गर्नैपर्छ । झगडा यसकारण पर्छ, अगाडि नै केही रकम पेश्की लिएका हुन्छन्, या अन्य सहकर्मीसित सापट चलाएका हुन्छन् । त्यो रकम सितिमित उनको हातबाट फिर्ता हुन मुस्किल हुन्छ । त्यसलाई कटाइ दिदाँ उनले पाउने रकम स्वभाविक रुपले घटी हुन्छ । त्यसै विषयमा उनको नाराजीपन प्रकट हुन्छ । यही विन्दुमा आएर सानो छदाँ पिताजीले भनेको उखान सार्थक भएको पाउँछु । पैसा थाप्न जति हतार र स्वाद मान्छन्, ड्यूटी गर्न चाहिँ त्यति नै अल्छी गर्छन् ।

अलिकति मात्रामा घटिवढी मात्रै हो, यस्ता कामचोर प्रवृत्तिका अनेक मास्टरजीका बहुरुपी लिलासित म जानकार छु । यस्ता मास्टरजीहरू करैले कक्षामा पस्छन् । कक्षामा पसेरपनि एउटा आँखो कक्षाकोठामा विद्यार्थीहरूतिर हुन्छ अर्को आँखा हेडमास्टर कहाँ छ, त्यसकै चियोचर्चोमा चियाइरहेको हुन्छ । यदि उसको आँखोबाट हेडमास्टर ओल्टोकोल्टो लगेको छ, ओझेल परेको छ भने तुरुन्तै कक्षाकोठाबाट निस्केर गफको गुड्डी दिनुपर्ने कि फोनमा सत्रथरि बतासे बातवीरसित हाइ हेल्लो जोड्नु पर्ने हो; त्यसमा लागिहाल्छन् ।

उनीहरूको चित्त एक जब्बर धारणाले स्थान जमाएको हुन्छ, मानौँ यो ड्यूटी उसको आफ्नोलागि गरिएको ड्यूटी होइन । कलिला नानीहरूको भाग्य र भविष्य बनाउन गरिएको ड्यूटी होइन । आफूले खाएको तनखा र रोजीरोटी बापतको ड्यूटी होइन । यो त हेडमास्टरको लागि गरिएको ड्यूटी हो । हेडमास्टर या स्कुल अध्यक्षको निजी काम गरिरहेको छु भन्ने बोध छ । उनीहरूलाई । सित्तैमा यिनीहरूको मेलोमा खटिराखेको छु भन्ने बोध छ । यस बोधले उनीहरूलाई यस्तो सोचमा पुर्‍याएको छ- जसरी भएपनि मैले ठग्नै पर्छ । जसरी हुन्छ मैले कामबाट भाग्नैपर्छ ।

यस्ता शिक्षकलाई हेडमास्टर स्कुल नआएको दिन सारै खुँदो पर्छ । किनकि यसदिन अरुदिन भन्दा सजिलै ठग्न पाइन्छ । त्यसदिन उनीहरूको अनुहारमा एक उज्यालो आभा छाउँछ । राजाको काम कहिले जाला घाम भन्ने मान्छेले कामतिर नजर लाउँदैन, उसका नजर हमेसा घामतिर मोडिएका हुन्छन् । शिक्षकको मूलकर्म नानीहरूलाई ज्ञान, सीप र धारणा सिकाउनु नै हो, त्यसवाहेकका अरु कुरा त तपसिलका विषयहरू हुन् । सिकाउन नै अल्छी गरेपछि नानीहरूको प्रतिभा कसरी विकसित हुनसक्ला ? भरसक कक्षाकोठामै पस्न अल्छी गर्ने, करले कक्षामा पसेपनि सिकाउन अल्छी गर्ने, अलिअलि सिकाउन थालेपनि निर्धारित समय अगाडि नै कक्षाकोठा छोडिदिएपछि कसरी सिकाइको अभिष्ट पूरा हुन्छ ?

स्कुलको कम्पाउड भित्र दिनको सरदर दश घण्टा समय मेरो त्यहाँ व्यतित हुन्छ । कामचोर प्रवृत्तिका मान्छेदेखि सबभन्दा बढी दिग्दार लाग्छ । जुन कामले आफ्नो घरपरिवारको मुखमा माड हालिदिएको छ । जुन कामले घरको चुहुने छानो टालिदिएको छ । जुन कामले बालबच्चाको आङमा बश्त्र लाइदिएको छ । जुन कामले अन्न र ओखतीको जोगाड लाइदिएको छ । त्यही कामप्रति ठगीको भावना राख्नु, त्यही कामप्रति निष्ठा र इमानको भाव नहुनु कति लाजमर्दो कुरा छ ।

आफ्नो काम र पेसाप्रति इमान्दार हुन नसक्ने मान्छे शिक्षण पेशामा छिर्नु नै वेकार छ । बच्चालाई सिकाउने र पढाउने कार्य अति संवेदनशील कार्य हो । यस कार्यमा ख्यालख्याल खेलाँचीको कुनै गुन्जयास नहुनु पर्ने हो । यो कर्म अति जिम्मेवारीपूणर् कर्मपनि हो । यसमा कुनै शिक्षकलाई गैर जिम्मेवार बन्न छुट छैन । तथापि हामी मास्टरै गैरजिम्मेवार बनेर सामुदायिक स्कुलको शिक्षालाई दिनपरदिन स्वहा बनाउँदैछाँै ।

शिक्षण कर्ममा अतिरिक्त आनन्द नभेट्ने व्यक्तिलाई अस्तित्वले किन मास्टर बनायो होला ? मास्टरका स्वभावबाट दिग्दार हुँदाको घडी यस प्रश्नले मलाई बेस्सरी चिमोट्ने गर्छ । अर्का एक मास्टरजी छन्; जो समयमा कहिल्यै स्कुलको गेटबाट छिर्दैनन् । नियतवश उनी पहिलो घण्टी लागेपछि नै छिर्नपर्छ । दशबजे अगाडि नै स्कुल छिर्‍यो भने झारेझुरे शिक्षकभित्र परिहालियो नि । उनलाई अरुभन्दा आफूलाई बिशेष हुँ, ठूलो हुँ भन्ने अहम्वोधले किचेको छ । समयको कुरा ख्याल गरायो भने झगडा गर्नमा रुचि र रस छ यिनलाई । ढिलो आउनु र छिटो निस्किनु यिनको सनातनी विशेषता हो । आफ्नो आचारसंहिताको कहिल्यै ख्याल नगर्ने शिक्षकबाट पनि विद्यालय पीडित छ ।

हमेशा ढिलो आउनु, ढिलो कक्षाकोठामा पस्नु, कक्षामा पाँच मिनेट समय पढाएको छैन, मोवाइल कानमा टाँसेर बाहिर निस्किनु यस्ता शिक्षकको सनातनी शैली हो । वर्षभरि पढाउनु पर्ने विषयवस्तु र घण्टीको कार्यतालिका अफिसमा राखिदिएको छ । तरपनि घण्टी बजेपछिपनि आफ्नो कक्षा जान विर्सिन्छन् र दिनै तपाईको घण्टी फलानो कक्षामा छ भनेर सम्झाइदिए पछि- ए हो ! भन्दै कक्षा जान सुरसार गर्ने शिक्षकहरूपनि छन् । यी शिक्षक हाजिर गर्न औधी सिपालु छन् । आफू गयल परेको दिन कथम्कदाचित हेडमास्टरले विदा जनाउन बाँकी छ भन्ने हाजिरी रजिस्टरमा सही धस्काइ दिइहाल्छन् । तपाईले त नआएको दिनपनि हाजिर गर्नुभएछ नि भन्यो भने ए हो ! लु विर्सेछु टिपेक्स लाइदिनुहोला भनेर पन्छिन्छन् ।

यी शिक्षक प्रायः पन्ध्र मिनेट ढिलो कक्षाकोठामा छिर्छन् । घण्टी लगेपछि पानी खान, खैनी खान, चर्पी जानमा दश पन्ध्र मिनेट सहजै खर्च गरिदिन्छन् । त्यसपछि अल्याङमल्याङ गर्दै बल्लबल्ल कक्षा पुग्छन् । पन्ध्र मिनेट पढाए पछि लु आफँै पढ भनेर खल्तीबाट मोवाइल निकालेर ख्याचख्याच थिच्न थाल्छन् । दश देखि पन्ध्र मिनेट अगावै कक्षा छोडिहाल्छन् । कोठामा पैँतातीस मिनेट विताउनु भनेको शरीरमा काउछो दलेतुल्य हुन्छ, मानौँ पैँतालीस मिनेट उनका लागि पैँतालीस वर्ष सरह हन्छ । त्यसैले घटीमा दशदेखि पन्ध्रमिनेट अगावै कक्षा छोडिहाल्छन् । यिनलाई यो मेरो आफ्नो डयूटी हो, मैले राज्यबाट दानापानी खाएवापत यति समय चैँ मैले इमान्दारीका साथ बच्चाहरूलाई सिकाउनु पर्छ भन्ने ज्ञान कहिल्यै आएन । उनको खेलाँचीपनलाई हेडमास्टरले स्मरण गराउँदा रौद्ररुप धारण गरेर दुर्वासा पल्टिन्छन् र आफूले तीसवर्ष पढाएर जुँगा फुलाएको धाक जमाउँछन् । हजारौँ अब्बल चेलाचेली निकालेको कथा सुनाउँछन् ।

अर्का एक मास्टरजी छन् जो बाहनाबाजीमा नम्वर एक हुन् । थरिथरिको वाहानावाजी गर्न आउँछ यिनलाई । कहिले पढाउँदा पढाउँदैको घण्टी छोडेर अफिस आउँछन् र भन्छन् – मेरो त फूपू सासु खस्नु भएछ जानुपर्ने भो, कहिले कसको विहे, कहिले कसको जन्ती, कहिले कसको पास्नी छेवर, कहिले अदालतमा तारिख त, कहिले हस्पिटलमा चोकजाँच, कहिले बैंक त कहिले विमा, कहिल्यै प्रार्थना त कहिले पाहुना लाग्नुपर्ने काम हजारहजार बाहनाबाजीमा निपुण छन् यी शिक्षक । यिनका सयकडा पच्चीस सत्य हुन्छन् । पचहत्तर प्रतिशत ढाँटेर ठगेर झुटो बोलेरै बाँचेका छन् ।

स्कुल आउँदापनि हतारमा कक्षामा पस्यो । पढ पढको राग अलाप्यो, बाहनावाजी मिलाएर वीचका घण्टी चल्दाचल्दै स्कुलबाट सुँइकुच्चा ठोक्यो । यसैगरी बितिराखेकोछ यिनको मास्टरी जीवन । लाग्छ मानौँ उनी तलबको लागि महिना मार्नको लागिमात्र कक्षा पसी टोपल्छन् । आफ्नो कर्मबाट कसरी छलिने हो, त्यसकै बाहनावाजी बुन्नमा खप्पिस छन् । भित्री हृदयको अन्तरप्रेरणाले जागेर पढाएको कहिल्यै देखेको छुइन ।

अर्का एक मास्टरजी छन् जसलाई काममा भन्दा कुरा गर्नमा बढी रस छ । कुरा गर्न थाले पछि घण्टी लागेको र घण्टी बितेको थाहासुद्धि रहन्न । पोचा पाङ्दुरे गफले मान्छे रन्नभुल्ल पार्नु यिनको विशेषता हो । उनलाई सात गाउँदेखि सात समुद्र पारको घटना विवरण र खवर थाहा हुन्छ । को कोसित पोइल जाँदैछ ? देखि लिएर कसको कोसित लभ परेकोछ ? सम्मका अनेकन उत्पट्याङ्ग किस्सा र घटना विवरण यिनलाई थाहा हुन्छ ।

यिनले मलामीपनि संसारकै जानुपर्छ । कक्षाकोठामा पढाइ राखेका छन् । झ्यालबाट शङ्ख बजेको सुने र रोडमा मलामीको लर्को देखे भने मलामी कुदिहाल्छन् । आफ्ना आफन्त, इष्टमित्र, नातेदार छरछिमेकमा मान्छे मरेका हो भने त मलामी जानु स्वभाविक कुरापनि हो । साइनो न सपनापे केहीले नछुने मान्छेको मलामी जान किन उन्मुक रहन्छन् भने यिनलाई पनि स्कुल छोड्ने एक वाहना चाहिएको हुन्छ । कसरी आफ्नो ड्यूटीबाट छलिने हो ? हमेसा त्यही उपक्रम हुन्छन् ?

स्कुलले अनेकचोटि अराजक, छाडा र लापरवाही गर्ने शिक्षकहरूलाई सत्मार्गमा हिँडाउनका निम्ति अचारसंहिता बनाउँछ, नियम विनियम तयार गर्छ, छलफल चलाउँछ, बैठक बसाउँछ, निणर्य गराउँछ । कार्यान्वयनमा जाँदा सत्तरी प्रतिशत शिक्षकले अक्षरश पालना गर्छन् । फेरि तिनै तीस प्रतिशत शिक्षकको लापरवाही उसरी नै दोहोरिन थाल्दछ । साँचो साँचोको लागि भने जस्तो नियम र आचारसंहिता त पालना गर्नेको लागि न रहेछ, त्यसलाई धोती लगाइदिने उपर के गर्न सकिएको छ र ? पावर र पँहुचकै कुरा गर्दा भनेजस्तो भएन भने एउटा प्रा.वि.को शिक्षकले जिशिअको सरुवा गराइदिन्छ । फेरि हाम्रो शिक्षा प्रशासनसित त्यस्ता शिक्षक उपर कारवाही गर्ने, नसिहत दिने कुनै व्यवस्थित मूल्याङ्कन प्रणाली नै छैन ।

राजनीतिक नेतृत्वसित, पार्टीसित, प्रशासनसित, शिक्षाका सरोकारवाला कार्यालयसित तिनै दुई नम्बरी पाङ्दुरे कामचोर शिक्षकहरूको सिधासिधा सम्बन्ध छ । उनीहरूकै पकडमा छन् नियामक निकायहरू । चाहेर पनि यिनलाई केही गर्न नसकिने स्थिति छ । यस्ता शिक्षकहरूको जमातलाई मैले ढुङ्ग्रो बङ्ग्याउने शिक्षकको उपमा दिएको छु । नेपालीमा एउटा उखान छ बाह्रवर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै ।

कुकुरको पुच्छर बाङ्गो भो भनेर सोझ्याउनका लागि त्यस पुच्छरलाई बाह्रवर्षसम्म ढुङ्ग्रोमा राखेर बाँधियो । बाह्रवर्षमा अब त पुच्छर सोझियो होला भनेर ढुङ्ग्रोबाट निकालियो । निकाल्दा पनि उस्ताको उस्तै अर्थात् चिज अलिकतिपनि सोझो भएको छैन । कहिल्यै नचेत्ने, कहिल्यै नसुध्रिने, कहिल्यै आफ्नो खराव बानीबेहोरा छोड्न नसक्ने मान्छेलाई इंगित गर्न यो उखान बनाए होलान् हाम्रा पूर्खाले ।

यस उखानबाट एकस्टेप अगाडि गैसकेका छन् हाम्रा कामठगुवा शिक्षकहरू । अव त कुकुरका पुच्छर यति जब्बर र शक्तिशाली बनिसके । आफू सोझो हुने कुरा त कल्पनै नगरुँ । बाह्र वर्षसमम ढुङ्ग्रोमा राख्दा उल्टै ढुङ्ग्रो बंग्याइदिन्छन् ।

ढुङ्ग्रोलाई नै कुकुरको पुच्छर जस्तो बाङ्गो बनाइदिन्छन् । ढुङ्ग्रै बग्याइदिने कुकुरका पुच्छरदेखि आज आजित छन् स्कुल । आफूलाई रुपान्तरण गर्ने कुरा पर छोडूँ । तर, आफ्नै गति, मति र स्वभावका कारण संस्थालाई बाङ्गो बनाउने ताकत छ उनीहरूमा; यही कुराचाहिँ डरलाग्दो र घातक कुरा हो ।

ढुङ्ग्रोले पुच्छर होइन, पुच्छरले ढुङ्ग्रो बंग्याइदिएपछि यिनको तागत कति छ ? सहजै अनुमान गर्न सकिन्छ । यिनैले हो सुनलाई पित्तल बनाइरहेका छन् । स्कुलका बच्चाको हृदय र मस्तिष्कमा स्वाणर्िम संभावनाका अनन्त विजहरू छिपेका छन् । बच्चा भनेका चौवीस क्यारेटका सुन हुन् । सुनका यी अनमोल ढुन्काहरूलाई कामचोर गुरुजीहरूबाट पित्तलमा परिणत गरिँदै छ ।

आफैंभित्रको बल्दो आन्तरिक प्रेरणाले धप्प बलेर शिक्षक कक्षाकोठामा फटाफट जानुपर्ने हो । ठिक समयमा कोठाभित्र छिरेर पूरा समय सिकाइमा समर्पण गर्नुपर्ने हो । अर्काको डयूटी सम्झेर करले होइन, यो मेरो आफ्नो ड्यूटी हो, यी मेरा बालबच्चा हुन् । यिनलाई सिकाइमा कन्जुस्याइँ गरेँ भने मलाई साँच्चै, अपराध लाग्छ भन्ठानेर सिकाउनु पर्ने हो । यस पवित्र कर्ममा आफूलाई भुलेर पूरै सिकाइमा डुब्नुपर्ने हो । तर कामचोर वृत्तिका अध्यापकहरूले डुब्ने कला जानिरहेका छैनन् ।

शिक्षक त कक्षाकोठासम्म फटाफट हिँडेर पुग्नुपर्ने हो । तर, यस्ता शिक्षकहरू हिंडिरहेका छैनन्, घस्रिरहेका छन् । शिक्षक बडा मुस्किलले घस्रेर स्कुल आउँछ । घस्रेरै हाजिर बजाउँछ । घस्रेरै कक्षाकोठामा पुग्छ । घस्रेरै पढाउँछ । घस्रेरै कपी काट्छ । तलब खानेवेलामा चाहिँ उफ्रेर तलब खान्छ । सुविधा लिने बेलामा बाह्र हात उफ्रिन्छ । कर्म गर्ने बेलामा लम्पसार सुत्छ र आहिस्ता आस्तिा घस्रेर कर्म गर्छ । पढाउने बेलामा सुस्त लाटो बनेको जिव्रो गफ हान्ने बेलामा वाक्पटू बन्छ ।
अधिकार खोज्ने बेलामा वाचाल बन्छ । सिकाइको वखत एउटा जिव्रो चलाउनपनि अल्छी गर्ने मानिस हक अधिकार खोज्न, विरोध बोल्न हजार ज्रिबाको शेषनाग बन्छ । अधिकार थाहा छ कामचोर जमातलाई तर कर्तव्यको क थाहा छैन ।

आफ्नो कर्तव्य वहन गर्नुमा कायरता ठान्छ, ठग्नुमा छलकपट गर्नुमा पराक्रम देख्छ । बच्चालाई पढाउने पाठ भन्दा पार्टी ठूलो छ । संगठन ठूलो छ । आफ्नो शिक्षण कर्मलाई एक आराधनाको रुपमा लिएकै छैन उसले । एक पूजाको रुपमा ग्रहण गरेकै छैन । अरुले कोच्याइदिएको करको गाँस ठानेको छ । आफ्नो कर्मपथबाट कसरी बँचू, कसरी ठगूँ, स्कुलको आँगनबाट आँखा छलेर कसरी लापत्ता बनूँ भन्ने सोचमा केन्द्रित रहेको मास्तिष्कले कसरी नानीहरूमा दिमागमा दिव्य ज्ञान रोप्न सक्ला ? जड र भुुत्ते चिन्तन बोकेको शिक्षकले कसरी नानीका आँखामा नवीन ज्ञानका पियूष धारा बर्साउन सक्ला ? ज्ञानका रोशनीको कुनै ताउती छैन । कुनै हुटहुटी छैन । कुनै अभिप्रेरणा र अध्ययन छैन । साधना र सिद्धी छैन । आफ्नै विधा र विषयमा साधना र सिद्धि नभएका हामी जस्ता कामचोर जमातबाट स्कुल कुरुप बन्दैछन् । ज्ञानका केन्द्रहरू मरुभूमिकरण हुँदैछन् । प्रज्ञाको हराभरा हरियाली सुक्तैगएको छ ।

कति हृदयहीन शिक्षकहरूको हातमा कलिला नानीहरूको भविष्य अडिएको छ ? कति विवेकहीन गुरुहरूका जिम्मामा छन् अवोध वच्चाहरूको जीवन । यिनका सुकोमल भविष्यलाई चक्कुले आलुको भुजुरी काटेजस्तो चकनचुर पारिँदै गरको दृश्यपनि देख्न सकिन्छ । आफ्नै आँखा अगाडि भोलि फुल्ने कोपिलो असमयमै ढिंगुरिएको देख्ता हृदयमा अनन्त पीडाका घाउहरू पाक्छ । दिनदिनै म गजगजी पाक्तै गएको छु । कोपिला मुर्झाएको दृश्यले घाउ लागेको छ । नानीहरूको समय बहुत बहुमूल्य छ । उनीहरूमा ज्ञानको अंकुरण टुसाउने समय हो यो । त्यो विरुवा लहलहाउने, कोपिलो लाग्ने र फुल्ने याम हो यो । तर विरुवा गोड्ने माली अल्छे, पाँमर र कामचोर छ । जसले गर्दा बच्चाले ज्ञानको मलजल जति पाउनु पर्ने हो, त्यसबाट बंचित भैरहेको छ । फुल्ने याममा कोपिलोमा किरो पस्तै छ । स्वयम् कामचोर गुरुवर्गले विरुवामाथि असिना, पानी र तुषारो खसाउँदैछन् र विरुवालाइृ क्षतविक्षत पारिरहेका छन् । नानीहरूको ऊर्वर र तीक्ष्ण समयलाई बोधो विकम्मा तुल्याइरहेछन् । पङ्गु पुङमाङ पारिरहेछन् ।

सुन्दर भविष्यको क्षितिज खोलिदिनु भन्दा पनि बच्चालाई सडाउनुमा उनीहरूको भूमिका जब्बर बन्दैछ । बच्चाको मगजमा ज्ञानले जुन आकार लिनुपर्ने हो । बच्चाको हृदयमा बोध र वुद्धिले जुन आवृत्ति छुनुपर्ने हो, त्यता अभिमुख नगरी दस वर्षसम्मको ऊर्वर कोमल उमेर लक्ष्यहीन तवरबाट हल्लाउँदा हल्लाउँदै एक झत्ते थाङनो बनाएर निकालिरहेका छन् । स्कुलको काम एउटा नयाँ कोरा कपडाको थानलाई थाङ्नो बनाउनु मात्र हो त ? कलिलो खोयोमा दाना भर्नु भन्दापनि कालिपोके उत्पादनमा हामी गुरुवर्गको हात छिपेको छ । फूल उठ्ने मकैका दानालाई ठेटना बनाउने, अँगार बनाउने काममा कामचोर जमातीको मूल भुमिका देखिरहेको छु ।

सिक्काको अर्को पाटोपनि छ । के तमाम शिक्षालयहरूमा कामचोर जमातीका हुलमात्रै छन् त ? छैनन् अत्यन्त काविल, कामयायी, योग्य र निष्ठावान शिक्षकहरूको जमातपनि छ । आफ्नो कर्मलाई पूजा ठान्ने, प्रार्थना ठान्ने, साधना र आराधना ठान्ने शिक्षकहरू पनि छन् । अरुको आदेश र निर्देशले होहन अन्तरआत्माको पुकारले कर्म गर्ने शिक्षकपनि छन् । उनीहरू हरेक ठाउँमा साधनारत छन् । तर उनीहरू ओझेलमा छन् । मूल प्रवाहमा आएर नेतृत्व दिन सकिरहेका छैनन् ।

उनीहरूकै अखण्ड बलावुतामा टिकिरहेका छन् विद्यालयहरू । उनीहरूमै रगत पसिनाको बलमा उभिइरहेका छन् विद्यालय, महाविद्यालय र विश्व विद्यालयहरू । उनीहरूको शिक्षण-कर्म प्रतिको समर्पणलाई साधुवाद छ । उनीहरूको त्याग र मिहेनतलाई नमन छ । वन्दना छ । उनीहरूको शिक्षणप्रतिको निष्ठा र इमानलाई कोटिकोटि अभिनन्दन छ । तर यो संख्या हरेक शिक्षालयमा चालिस देखि साठी प्रतिशतमा खुम्चिएको छ । दुःखको कुरा कामचोर जमातीले कतै यी कर्मशील जमातीलाई थिचोमिचो गर्दै अल्पमतमा पार्लन् कि भन्ने डर छ ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x