सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वासुदेव

मेरो दिमाग रन्थनियो । जागिरमा पठाउने सन्काहा भन्छ, तेरा नैतिक गुण र चरित्रको कामै छैन । जागिर दिने सिल्ली भन्छ, घरको आँगन भत्काइदे । मनमनै पक्का गरेँ, यी दुवै नमुना पागल हुन्, सर्वोत्कृष्ट छँटाहा ।

Nepal Telecom ad

समयले खनेको खोरियाजस्तो मुडुल्लो तालु । पहिरोले माटो बगाएपछि बचेका ढुङ्गाजस्ता उडिल्ला कन्चट । बज्यैले खुर्सानी राख्ने खोपाजस्ता गाला । ओढारजस्तै थोतो मुख । लौराजस्तै सिर्लिक्क नलिहाड । वणर् गहुँगोरो र अग्लो ज्यान । युगका तुसारोले मुना झारेको पोथ्रोजस्तै काया । बर्सौंअघि उनले घरमै तान चलाए । बाँचुन्जेल लगाउन पुग्ने गरी घरबुना, खेसका कपडा बुने । त्यसैको लाम्बाहुले कमिजसुरmवाल लगाएका । झलक्क हेर्दा भाटोमा डोको उनेजस्तो । मैले पहिलोपटक देखेका उनै हुन् सबैका माड्साब ! वासुदेव ।

म काठमाडौँको काँठमा जन्मेको मानिस । थानकोटपारि, दहचोक हो मेरो गाउँ । बाबाले नै खनेको पखेरो र अलिकति धानखेत । बाबा बितेपछि भाइ फुटे । जमिन घट्यो तर पेट बढे । आय घट्यो । अभावका लस्कर थपिए ।
घरसँगै छ सानो गोठ । दुइटा गाई पालिएको । बिहान ओछ्यान छाड्न नपाई तिनका डाँ-डुँ चल्छ । भोक कराएको । श्रीमती घुर्की लगाउँछिन्, ‘यिनको चाकरी गर्दा मेरो ज्यान सकिने भो ।’ म सुनाउँछु, ‘दशै बजे अफिस नपुगे हाजिर बन्द हुन्छ ।’ छोरो भन्छ, ‘पर्सि स्कुलले पिकनिक लाने रे, दुई सय आजै बुझाउनुपर्छ ।’ विवशता र आवश्यकताका आवाज ।

सकिएन । पच्चिस वर्ष जागिरको खलियोमा पाक्दा पनि सहज निकास देखिएन । हेमन्तको बइँसको रूखजस्तो मेरो काया । घोडाको पट्टीजस्तै जागिरको मुखुन्डो कसेको मानस । प्रपञ्च देखेर पनि नबुझेको सांसारी । त्यही जागिर पनि असामयिक चट भएर कुहिरोको कागझैँ रmमलिएको मानिस थिएँ म ।

अनायास वासुदेवको कोठामा पुगेँ । दश एघारजना मानिस भुइँको दरीमा बसेका । तिनका अगाडि भुइँखाटमा बसेका वासुदेव । उनकोे धारावाहिक प्रवचन चलिरहेको । बसेका श्रोताको निःशब्द श्रवण । विषय थियो, जङ्गबहादुरका रानी र रखेल कहाँ कति थिए ?

उनको प्रवचनले मलाई मुहुनी लगायो । बेलुका पाँच बज्यो । तीनजना मानिस उठे । प्रवचन चलिरहेकै थियो । म पनि बाहिर निस्केँ । त्यहाँको विशेषता बुझियो, प्रवेशमा प्रणाम र निस्किँदा सलाम गर्न नपर्ने । इच्छा लागेसम्म बस्ने । मन नलागे खुरुक्क उठेर जाने ।

मैले समय बिताउने ठाउँ पाएँ । भोलिपल्ट एघार बजे म पुग्दा वासुदेवको प्रवचन सुरm भइसकेको थियो । विषय, राजा त्रिभुवन दरबारका बन्दी । त्यहाँको अर्को विशेषता, प्रत्येक दिनका विषय फरक हुने । समाज, राजनीति, राजनेता, इतिहास, साहित्य वा साहित्यकार ।

मलाई सात दिन बितेको पत्तै भएन । त्यो दिन चन्द्रशम्सेरकी कान्छी छोरी बाबा महारानीको दुखद कथा चालु थियो । साँझ परिसकेछ । कोठाका सबै मानिस निस्किसकेछन् । म उनको कथामा एकाग्र थिएँ । उनको प्रवचन टक्कै रोकियो । गुच्चाजस्ता आँखा मतिर तानेर सोधे, ‘ए, तिमी को हौ ? हिजोअस्ति पनि देखेजस्तो लाग्यो ।’
मैले आफ्नोे परिचय दिएँ ।

उनले भने, ‘संसारमा विनापरिचय कोही आउँदैन । तिम्रो परिचय हुँदै जाला । भन, तिमी के काम गर्छौ ?’
मैले निहुरिएर भनेँ, ‘मेरो जागिर थियो । दोस्रो श्रेणीको अधिकृत थिएँ । देशमा लोकतन्त्र आयो । त्यसैले अफिस र जागिर क्वाप्पै खायो । अहिले कुनै काम छैन । यसो कविता लेख्छु ।’

उनको मुद्रा सहज भएन । चोर औँला उठाएर भने, ‘सडकमा बर्बराउँदै हिँड्ने मात्र पागल हैनन् । उद्देश्यहीन जिन्दगी बाँच्ने पनि छँटाहा हुन् । तिमी पूरै सन्किसक्यौ या आधा बहुलायौ । अब छिट्टै मर्छौ । भन, यो देशमा लेखेर को बाँच्यो ? केश पकाइसकेछौ । कति वर्ष खायौ ?’

म केही डराएँ । यिनको स्वभाव ठाडो र उदण्ड लाग्यो । बिस्तारै यत्ति भनेँ, ‘म पचास वर्षको भएँ ।’
‘छोराछोरी कति छन् ?’
‘तीनजना ।’
‘तिनको बिहेदान सक्यौ ?’
‘छैन हजुर, पढ्दै छन् ।’
‘पुरानो जागिरबाट अवकाश हुँदा कति रकम कुम्ल्यायौ ?’
‘तीन लाख सत्तरी हजार । पेन्सन, उपदान, पच्चिस वर्ष ज्यान घोटेको ज्याला, सेवा गरेको क्षतिपूर्ति । जे भने पनि त्यत्ति हो ।’

उनले हात नचाएर भने, ‘ए काण्ड पुग्यो । अब तिमीले बाउको छाला बेच्ने दिन छिट्टै आउँछ । धन्दा नमान । बाउले सराद्धे गरेर जोडेको माटीकोरेको माटो कति नै होला र ?’

उनले उपहासको बतासमा मलाई उडाए । म कका नमिलेको चङ्गाजस्तै ढलपलाएँ । मेरो ग्लानि बोल्यो, ‘होला त्यस्तै चार पाँच रोपनी पाखो ।’
‘तिमी भोलि नै जागिर खान जाऊ !’ उनका कुरा अचम्म लाग्दा थिए ।

म पक्क परेर उनको अनुहारमा हेर्दै थिएँ । सोचेँ, मानौँ असी हिउँदले खारिएका यी वृद्धको आफ्नै अड्डा छ । भोलि नै जागिर खान जाऊ रे ! त्यति सजिलो कहाँ छ जागिर ? तैपनि मुख खोलेँ, ‘त्यति सजिलै जागिर कसले देला र हजुर ?’
उनी थोतो मुख हाँसे । भने, ‘तिम्रा परिचय अब मलाई चाहिन्न । तिम्रो नाम भाइसाब । भाइसाब, तिमीले जागिर पाउँछौ । भोलिदेखि नै पाउँछौ । जसले तिमीलाई जागिर दिन्छ, म उसलाई चिन्दिनँ । मैले खबर पठाएपछि तिमीलाई जागिर भने अवश्य दिन्छ । ऊ यहाँ आउन चाहन्छ तर यो घरको ढोका उसको लागि बन्द छ ।’

उदेक मानेँ मैले । यस्तो पनि सम्बन्ध हुन्छ र ? सोचेँ, यी बूढाको दिमाग विक्षिप्त छ । थप प्रश्न गर्ने आँटै आएन ।
उनले झन् आश्चर्यजनक प्रश्न गरे, ‘हेर भाइसाब, अब म केही प्रश्न सोध्छु । ‘छ’ या ‘छैन’ मा उत्तर देऊ । के तिमीसँग इमानदारी छ ?’
‘छ ।’
‘पहिलेको अफिसमा अधिकृत रहेछौ । त्यसको गर्व छ कि ?’
‘छ ।’
‘सच्चचरित्र छ नि ?’
‘छ ।’
‘के तिमी सत्य बोल्छौ ?’
‘जाने बुझेसम्म सत्य बोल्छु ।’
‘तिमी कामको पूजा गर्छौ कि दामको ?’
‘हजुर, म कामको पूजा गर्छु ।’
‘साथीभाइसँग आँत खोलेर कुरा गर्छौ हैन ?’
‘हो हजुर, त्यसै गर्छुु ।’
‘तिमीसँग स्वाभिमान भन्ने कुतत्व पनि होला नि ?’
‘छ त्यो पनि ।’

उनले हात नचाउँदै भने, ‘काम छैन । कामै छैन । तिम्रा लागि यी गुण गहना होलान् तर बजारमा तिनको मान्यता छैन । मेरा कुरा ध्यान दिएर सुन है । भोलि बिहान नौ बजे खाना खाइसक । आफ्नो कोठामा जाऊ । अहिले जे जति गुण आफूसित छ भन्यौ नि, तिमी धनी मान्छे । तर, त्यो धन बजारमा चल्दैन, खोटो । तिनलाई यसरी फुकाल जसरी श्रीमान् मरेको दिन श्रीमतीले अङ्गका गहना फुकाल्छन् । के तिम्रो बगलीमा रूमाल छ ?’
उनी झन् अनौठा र असान्दर्भिक जस्ता प्रश्न गर्न लागे ।
मैले भनेँ, ‘छ हजुर, मेरो बगलीमा रूमाल पनि छ ।’
‘हो, त्यो रूमाल भुइँमा फिँज । तिम्रा गहना त्यही रूमालमा हाल । मुर्दालाई जस्तै टन्टनी कसेर गाँठो पार । के तिम्रो घरमा खोपो छ ?’
यो के बेतुकको प्रश्न हो ? मैले कुनै भेउ सोच्न सकिनँ । यत्ति भनेँ, ‘छ हजुर, मेरो घरमा खोपो पनि छ ।’
‘ल ठीक छ । त्यो रूमालको पोको त्यही खोपोमा फाल । बेलुका जब घरमा पुग्छौ, त्यसको गाँठो फुकाऊ । तिम्रा गहना फेरि भिर है त !’

उनले अफिसको नाम बताए । भोलिपल्ट म उनले बताएको अफिसमा गएँ । ६०, ६५ वर्षको त्यहाँको मालिकलाई भेटेँ । उसले अर्को आश्चर्य गर्‍यो ।
त्यो दिन साहुले मसँग अनौठो अन्तर्वार्ता लियो,
म टेबुल अगाडिको मेचमा बसेको थिएँ । साहुले पियनलाई अह्रायो, ‘ए भाइ, दुई कप चिया ल्याऊ त ।’
मतिर हेर्‍यो र भन्यो, ‘अघि भर्खरै एकजना मानिस आएर भनेको । वासुदेवको मानिस दश बजे यहाँ आउँछ । उसलाई जागिर दिनू रे । के त्यो मान्छे तपाईं नै हो ?’
‘हो, मै हुँ ।’
‘ए ए, तपाईंको घर कता फर्केको छ ?’ यो प्रश्न सुनेर मेरो मन हाँस्यो । कस्तो अन्तर्वार्ता यो ? तैपनि भनेँ, ‘पूर्वतिर ।’
‘ठीक । मूलढोका कहाँ छ ?’
‘उत्तर र दक्षिणतर्फ दुइटा मूलढोका छन् ।’
‘बन्द गरिदिनोस् दक्षिणको ढोका । कामै छैन । आँगनको पानी कतातिर बग्छ ?’
‘दक्षिणतिर बग्छ ।’

साहुले आँखीभौँ उचालेर भन्यो, ‘भयानक गल्ती, भयानक । भोलि नै त्यो आँगन भत्काउनुहोस् । पानी पूर्व या उत्तरतिर बग्नुपर्छ ।’
मेरो दिमाग रन्थनियो । जागिरमा पठाउने सन्काहा भन्छ, तेरा नैतिक गुण र चरित्रको कामै छैन । जागिर दिने सिल्ली भन्छ, घरको आँगन भत्काइदे । मनमनै पक्का गरेँ, यी दुवै नमुना पागल हुन्, सर्वोत्कृष्ट छँटाहा ।
म भित्रको खुलदुलीलाई दबाएर भनेँ, ‘हुन्छ हजुर भत्काइदिन्छु ।’
‘भेरी गुड ! स्याबास ! धारो या इनार कतातिर छ नि ?’
पूर्वतर्फ छ हजुर ।’
नाइस, घरवरिपरि केका बिरूवा छन् ?’
‘म अलिमाथि लेकमा जन्मेको । लेकबेसी गर्न गाह्रो भयो । मैले नै फेदीमा यो घर बनाएको । घरवरिपरि कागती, निबुवा, ज्यामिरका बोट रोपेँ । सबै फल्न थालेका छन् । सुनकागती राम्रो फल्छ । रसिला पनि उस्तै ।’
‘ओहो भयङकर दोष ! ती बोटमा काँडा छन् नि ?’
‘अँ, काँडा छन् ।’
‘हत् ! काण्ड पुग्यो । तुरmन्तै, तत्कालै ती बोट काटेर आगो लगाइदिनू ।’

मेरो मानसले हाहाकार गर्‍यो, हे पाजी साहु ! मेरा साना दुःखले हुर्काएका बिरmवा हैनन् ती । काट्न त सजिलो छ । हुर्काएर हेर, सिर्जना गर्न कति गाह्रो हुन्छ । मैले निकास खोज्दै प्रश्न गरेँ, ‘किन हजुर ?’
‘किन, कसो भन्दा पनि त्यसको कामै छैन । काटिदिनू ।’
‘तैपनि केही कारण थाहा पाऊँ हजुर ।’
उसले भन्यो, ‘उत्तर केरा दक्षिण बाँस, वरिपरि सिँउडी र काँडा सत्यानास । ल सकियो यो कुरा । भान्छा कहाँ छ ?’
‘ईशान कोणमा ।’
‘ल खत्तम । तुरmन्तै भत्काउनू । आग्नेय कोणमा बनाउनू । सुत्ने कोठा कहाँ छ ?’
‘नैऋत्य कोणमा ।’
‘उत्तम । पलङको सिरान नि ?’
‘पूर्वतिर छ ।’
‘गज्जब । बिहे गर्न बाँकी बूढीकन्या घरमा छन् कि ?’
‘छैनन् हजुर । भए के गर्ने ?’
‘तिनको कोठा वायव्य कोणमा बनाइदिने । वायव्य भनेको हावा । हावामा उड्छन् भुरूरू, खेलै खतम । अनि, तलामाथि चढ्ने भर्‍याङ कता फर्केको छ ?’
‘पश्चिमतिर फर्केको छ ।’
‘राम्रो । पूजाकोठा कहाँ छ ?’
‘पूर्वतर्फ ।’
‘भएन । उत्तरपूर्वमा सार्नू । घरमा कुकुर बिराला पालेको छ कि ?’
‘छ हजुर । कुकुरबिरालाको मिल्ती गराएर पालेको छु ।’
‘लखेटिहाल्ने । नङ्ग्रा र दाह्रा हुनेको विश्वास हुन्न । घरमा नराख्ने । अनि पक्कै तपाईंको घरका आइमाईको स्वास्थ्यमा समस्या छ ।’
‘श्रीमतीको जिउ फुल्ने समस्या छ ।’
‘जलदोष हो । आँगन खनिहाल्ने । बेथा चट । अनि जागिर खाने हो त ?’
‘हो हजुर ।’
‘तपाईंको जन्मराशि के हो ?’
‘राशि वृष, नक्षत्र रोहिणी ।’
‘धेरै असल । तलब कति लिने ?’
‘थाहा छैन ।’
‘कुन पदको जागिर खाने ?’
‘खोइ, थाहा छैन ।’
‘थाहा छैन रे । केही पनि थाहा छैन । सुट, टाई लाउनुपर्छ ।’
‘बानी छैन । सिक्नुपर्ला ।’

साहु जुरmक्क उठ्यो । मलाई कोठाको ईशान कोणमा लग्यो । त्यहाँ साना टेबुल, मेच थिए । पछाडिपट्टि लहरै तीनवटा दराज । मतर्फ हेरेर मुसुक्क हाँस्यो । भन्यो, ‘यी तपाईंका मेच, टेबुल । दराजमा टन्नै फाइलहरू छन् । सबै फाइल पढिसक्न दुई महिनाजति लाग्ला । डायरी, कलम म दिउँला । प्रत्येक फाइलका जिस्ट निकालेर मलाई दिने । ल, सुरू भयो तपाईंको जागिर ।’

साहु आफ्नो टेबुलतिर गयो । एकजना कर्मचारीलाई बोलायो, ‘ए कार्की बाबु, सुन्नोस् त । आजदेखि यहाँ नयाँ कर्मचारीको नियुक्ति गरियो । उहाँको स्वागत भोज आजै गर्ने । दिउँसो एक बजे सबै कर्मचारीलाई फाइभ स्टार होटलमा लन्च बोलाउने ।’

मेरा कानमा झ्याउँकिरी कराए । वासुदेवले पठाएको त्यो अफिसमा मैले झन्डै दश वर्ष जागिर गरेँ ।

०००
सानेपा, ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
मेरो कहाँ देश छ ?

मेरो कहाँ देश छ...

भूवनहरि सिग्देल
राजनीति

राजनीति

भूवनहरि सिग्देल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे