शेषराज भट्टराईकुकुर कैरन
अर्को दल, अर्को विचारधारा भएकालाई देखि नसक्नेहरूलाई नै भन्ने गरिन्छ ‘कस्तो खिच्चा रहेछ ।’
अहिले हाम्रो समाजमा लोक्कल र आयातित गरी दुई प्रकारका कुकुरहरू देख्न पाइन्छ । कुकुर व्यवसायीले पनि विभिन्न प्रजातिका कुकुरहरूको कारोबार गर्ने गरेका छन् । कुकुरहरूको स्वभाव, गुणस्तर र चतुरोपनको आधारमा मूल्य निर्धारण गरिएको हुन्छ । कस्तो स्वभावको कुकुरहरू मनपर्छ छानी छानी खरिद गरेर घरको शोभा बढाउन सकिन्छ । कुकुरको प्रकृति र प्रवृति हेरेर मूल्यको पर्वाह नगरी अनेक चेहराका कुकुरहरू खरिद गर्न पाइन्छ । पहिला एउटा समय थियो लोकल पहाडिया कुकुर या भोटे कुकुर मात्र पाइन्थ्यो । अहिले सुधारिएको विभिन्न गुणस्तरका कुकुरले सहर बजार दुर्गन्धित बनाउनमा मद्दत गरिरहेछन् ।
मूल्यका हिसाबले चर्को लरतराले किन्नै नसक्ने कुकुरहरूको थुतुनु पनि हामीले देखेका छौ । यहाँ आयातीत र नयाँ अनुहारका अनुशासित कुकुरलाई असल र उच्च नश्लको मान्ने गरेका छन् । खानपान र अनुशासनको ख्याल नगर्ने छाडा लोकल कुकुरहरू कम गुणस्तरीय साबित भएका छन् । कमसल कुकुरमा अनुशासन प्रायः शून्य नै भने पनि हुन्छ भने अरू आयातित कुकुरमा अनुशासन वंशानुगत नै सल्किएर आएको हुन्छ । यस्ता कुकुरले नबाँधे पनि घर छोड्दैनन् र अनुशासन तोड्दैनन् । अनुशासनमा बसेका जनावरदेखि लिएर मान्छेलाई पनि असलै मानिन्छ । अनुशासनको सीमामा नअट्ने प्राणी असल कहलिन कठिन हुन्छ । मान्नुस् अनुशासन गुणस्तरको मापक पनि हो । गुणस्तरकै आधारमा कुकुरको वर्गीकरण र मूल्य तोकिएको हुन्छ ।
कुकुर चाहे जुनसुकै गुणस्तरको होस् उसले भुक्छ । हऊँ हऊँ गर्दै तिखा तिखा दाँत देखाएपछि दुनियाको सातो जान्छ । आवाजले मात्र पनि मान्छे कम्पायमान हुन्छ । दाँत गाडेर चोक्टा लुछिदिने हो कि भन्ने भयले गर्दा नै मान्छेहरू परपर भाग्छन् । डराउँछन् । घरमा कुकुर नभए पनि गेटमा कुकुरदेखि सावधान लेखेको देखेपछि मान्छे डराइहाल्छ । यो कुकुरको गतिविधि र वंशानुगत पावर, पाइन, अनि हिंस्रक रवैयाको छाप हाम्रो मानसपटलमा परिसकेका कारणले हामी सन्त्रासमय बन्छौ । कि चाहिँ मालिकलाई कुकुर बाधिदिन आग्रह गर्दछौ र ढुक्कले सास फेरेर कुकुर कम्पाउण्डभित्र प्रवेश गरिन्छ । परापूर्वकालदेखि नै कुकुरले एक थरीको रक्षा गर्छ भने अर्को थरिको खेदो खन्छ ।
यो कुकुरको धर्म हो । चित्त नपरेकालाई चिथोरेर चित् पार्नु, थुर्नु, चिथोर्नु र चित्त परेकाको घर कुर्नु, कुकुरको वंशानुगत धर्म हो । जुन राजनीति गर्ने नेताहरूको स्वभावसँग ठ्याक्क मेल खान्छ । अर्को दल, अर्को विचारधारा भएकालाई देखि नसक्नेहरूलाई नै भन्ने गरिन्छ ‘कस्तो खिच्चा रहेछ ।’ ‘खिच्चा’ कुकुरको अर्को उपनाम हो ।
मान्छेको आदेश पालक, खानपान र छिटो कुरा बुझ्ने, दिसापिसाब तर्काउने भएर नै कुकुर मान्छेको घरमा राख्न लायक प्राणी भएको हो । सुरक्षाका दृष्टिले बिना तलबको सुरक्षाकर्मी पनि भनिन्छ । लाइका भन्ने कुकुरले चन्द्रमा टेकेर फर्किएको हामीले सुनिसकेका छौ । कतिपय कुकुरका मालिकलाई अप्ठ्यारो परिस्थितिबाट बचाउने ह्याउ र दाउ पनि हुन्छ । घरमा डाका मार्न आएकालाई डंकालेखाएर हुन्छ कि मुखले चपाएर, नग्राएर वा चिथोरेर पनि आफ्नो वासस्थानलाई सुरक्षित राखेको इतिहासका कारणले नै कुकुर बफादारीमा दरिन सफल भएको मानिन्छ ।
भाले कुकुरले मान्छेले जस्तो जतिखेर पनि पोथीलाई सताउँदैन । निश्चित नियममा बसेर आफ्नो सृष्टि जारी राखेको हुन्छ । कुकुरको तुलनामा मान्छे धेरै छाडा छन् । मान्छेले मान्छेलाई बलत्कार गरेर मारेर मिल्काइदिएका धेरै घटनाहरू छन्् । पशु यति निर्दयी बन्न सक्दैन । आफ्नो धर्म र बासस्थान परिवर्तन गर्न रुचाउँदैनन् । तर मान्छेले धर्म बेचेर खाइसके । बासस्थान त्यागेर ठाउँ न ठहर बुढिको रहर गर्ने खालका भएका छन् । थात थलोलाई लात मारेर बहकिएका छन् । सन्तान दर सन्तानलाई बिचल्ली पारेर अर्कैसँग लहसिएका छन् । आकस्मिक आइलागेका गर्भलाई मन लाग्दी फालेर हर्दम रमाइलोका लागि मानवतालाई तिलाञ्जली दिइराखेका छन्् । सन्काहा स्वभावले मान्छे अमानुस बनिरहेछन् तर कुकुर कहिल्यै अकुकुर बन्न सक्दैन । राजनीतिमा कट्टर कार्यकर्ता भनेर यस्तैलाई भन्छन् क्यार ।
हिन्दु संस्कारमा यमपन्चकका बेला कुकुर तिहारका दिन कुकुरको पुजा गरिन्छ । यसलाई यमराजको दूत पनि मानिन्छ । अहिलेका तालिम प्राप्त कुकुरहरूले मान्छेले पत्ता लगाउन नसक्ने अपराधीहरू पत्ता लगाउँछ । सुँगेर गन्ध पत्ता लगाउने क्षमता कुकुर बराबर अरू कुनै प्राणीको हुँदैन । भनिन्छ कुकुरले दुई सय छपन्न प्रकारका गन्ध पत्ता लगाउन सक्छ । कुकुरका यावत क्रियाकलापबाट लोभिएर नै मान्छेले कुकुरको पालन पोषण र आफूले खान लागेको गाँस कटाएर पनि कुकुरलाई दिने गर्दछन् ।
हिजोआज सहर बजारमा कुकुर देखेपछि सिकसिको मान्ने र अँगालो हाल्ने बिच सितयुद्ध चलिरहेको छ । रातभरी शत्रुको शमन र दमन गर्ने कुकरलाई थान्कामा सौच गराउन नसक्दा मान्छे मान्छे नै कुकुर जसरी लडाभाँती गर्न विवश छन्् । यस मामलामा कुकुर मालिकको इज्जत कुकुरको जति पनि छैन । कुकुर पाल्ने र नपाल्नेले एक अर्काको मान मर्दन गरेर ठालुपनको खेतीमा रमेको देख्दा आफैलाई धिक्कार्न मन लाग्छ । मानवता रित्तिएपछि कसैको केही लाग्दैन । एउटा अर्काको दैला ठेलामा कुकुरलाई सौच गराउन नपाएर रिसाउने, कुकुरविहीनहरू आफ्नै भान्सामा आची गरायो भन्दै चिच्याउने । प्रातःकालीन र सायमकालीन समय ङार्रर ङुर्रर मै बित्छ नेपाली सहर बजारमा ।
कुकुरको अस्तित्व सबैले स्वीकार्छन् तर कुकुरको मलमूत्रसँग सबैको नफरत किन ? हामी सचेत प्राणीले कुकुरको शौच प्रक्रियालाई व्यवस्थित गर्न सक्नुपर्छ । जान्नुपर्छ । बुद्धिमान प्राणी भनेको त्यही त हो जुन सारो गारो अप्ठ्यारोमा पनि आफूलाई समायोजन र समाहित गर्न सक्छ । अनेक उपायको अवलम्बन गर्न सक्छ ।
हरेक प्राणीले शौच गर्नुपर्ने हुन्छ । हामीले हाम्रो हातै प्रयोग गरेर गाईभैँसीको गोबर सोहोरेर थान्कामा राख्छौँ । खाल्डो खनेर खाल्डामा थुपार्दै मल बनाउँछौँ । बाख्रा भेडाको बड्कुँला (जुतो) सोहोरेर त्यसलाई पनि व्यवस्थित तरिकाले मल बनाइन्छ । कुखुरा परेवाको सुली सोहोरेर पनि व्यवस्थित तरिकाले मल बनाइन्छ भने कुकुरको विष्टाको मल बनाउन किन नसक्ने ? सकिन्छ । मात्र इच्छाशक्तिमा भर पर्छ । कुकुरले शौच गरेपछि त्यसलाई पन्जा लगाएको हातले उठाएर प्लाष्टिकमा हालेर बाँध्ने र आफ्नै घर कम्पाउण्डमा खाल्डो खनेर व्यवस्थित तरिकाले विसर्जनको चाँजो मिलाउनु प्रयत्न र प्रयास गर्नु बुद्धिमानी र समयको माग होइन र ?
हाम्रो समाज गाउँघरमा कुकुरलाई छाडा छोडेर वा घिसार्दै लगेर बाटोघाटो वा अर्काको घर आँगन, भान्सा छेउछाउ दिसापिसाब गराएर काम फत्ते भएको ठानी छोड्दै हिँड्ने गरेका उदाहरण थुप्रै छन् । यो तरिका सचेत र सभ्य मानव सुहाउँदो छ त ? छैन भने हामी पुरानै तरिकामा अल्झिराख्नु बुद्धिमानी हो ? कुकुर पाल्नेले दस, पाँच रुपियाको प्लाष्टिक पन्जा र मलमुत्र राख्ने प्लाष्टिक थैलो साथमा लिएर मात्र कुकुर डुलाउन मानसिक रूपले तयार बनौँ । सर्वत्र विष्ट्याउने पुरानो तौर तरिका र शैली त्यागौँ । अबका पुस्ताले प्राचीन तौरतरिका र शैलीमा आमूल परिवर्तन गरेर कुकुर पालन, पोषण र शौच विधि प्रक्रियामा पनि सकारात्मक फड्को मार्न सकून् । अन्तरपुस्ता खाडलमा पनि क्रम भङ्गको सामना गर्नु नपरोस् । स्वच्छ सफा वातावरणका लागि हर उपाय अवलम्बन गरेर मात्र कुकुर पाल्नमा लाग्नु मानव समाज सुहाउँदो हुन्छ । अन्यथा खोटाङको दिक्तेल बजारमा झै पाल्तु कुकुरलाई फाल्तु घाँडो सम्झिँदै पिटी पिटी मार्ने मानवको अन्यत्र पनि उदय नहोला भन्न सकिन्न ।
फूलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































