
दिन्छ माला उनेर ?
रफ-गफ-कफ बोकी, नाच्न थाल्यो चुनाब । खल-कल बनियाँका, हातमा छन् मशाल ।।

चरम गरम जित्दै, भाउ आकाश चुम्छ ।
जमिन सिरू अँगेरी, झार हाँसेर फुल्छ ।।
दलहन तरकारी धान कोदो हरायो ।
कति दिन किनिखाने, भोक उग्रै करायो ।। १।।
लसुन सुनसरी भो, साग खागै समान ।
मितितिथि सकिएका, प्याक पुग्दैछ गाम ।।
भुटन र मसला वा, खाद्यका चीजबीज ।
सगरशिर चढेरै, पार्न थाले अधीर ।।२।।
सडक सकस खाल्टा, गन्दगी नाक फोर्ने ।
कति दिन महलाले, तुण्ड हाम्रा सुमर्ने ??
कसिगर सडकैमा, श्वानका शौच चल्छन् ।
सडक पसल बन्दा यात्रु धौ-धौ छिचोल्छन् ।। ३।।
कमिसन घुसखोरी, तस्करी चल्छ हौसी ।
जति पनि गबुवाले, खान्छ मासु र रौसी ।।
समय कति गए खै, छैन उद्योगशाला ।
मुलुक जन अँध्यारा, दीप्त मन्त्री र साला ।।४।।
रफ-गफ-कफ बोकी, नाच्न थाल्यो चुनाब ।
खल-कल बनियाँका, हातमा छन् मशाल ।।
नव युवक युवाका, जोसिला रक्त बेची ।
कति दिन भुँडी भर्ने, देश-अस्तित्व चेपी ।। ५।।
सुमधुर धुन छर्ने, घोषणा – पत्र खोक्रा ।
जनजन किन बाँड्छौ, धूर्त बोक्रा र छोक्रा ।।
दल विदल बनायौ, स्वार्थ गाँठो बुनेर ।
अब पनि जनताले दिन्छ माला उनेर ।।६।।
धादिङ