साइबर अपराध सम्बन्धी सचेतना सामग्री

…छँदैछु नि !

खासै कुरा भन्नु हो भने, ‘...छँदैछु नि !’ भन्ने अपूरो वाक्य अब हामीले हाम्रा जिब्राले उच्चारण गर्नु पूरै बन्द गर्नुपर्छ । कसैले पनि अब उसो ‘...छँदैछु नि !’ तपाई-हामीलाई भन्छ भने भन्नेको जिब्रो थुतेर धुरी कटाउनुपर्छ ।

Nepal Telecom ad

बड़ो अजब र गजब़को स्वाभाव हुन्छ यी मान्छे नामक दुईखुट्टे जनावरको । एउटै समाजमा बसोबास गरे पनि कोही गम्भीर देखिन्छ भने कोही छटपटे । कोही चतुर; कोही लाटा । कसैलाई आफ्नो समाजप्रति सोह्रै आना समर्पित देखिन्छ भने कसैलाई उनी बसेको समाजप्रति लुतो न कन्याइ केही नभएको पनि देखिन्छ ।

एउटा समाजमा थरि-थरिका मान्छे नाउँका जनावरहरू देखिन्छन् । कोही प्यार्-प्यार्, ट्याउँ-ट्याउँ गरेर मुखमात्र बजाउँछ । समाजको निम्ति केही गर्नुपऱ्यो भने पहिल्यै पन्छिन्छ । कोही चाहिँ ‘म यस्तो गर्न सक्छु’; ‘उस्तो गर्न सक्छु’ भनी हाँक लाउँछ तर गर्ने बेलामा टाप । समाजका निम्ति केही गर्नेहरूले केही नभनी, केही नबोली, कुनै हाँक नलगाई, फ्वाँक नदेखाई नै समाजमा गर्नुपर्ने काम गरेर समाजको सर्वाङ्गीण विकासको निम्ति हुट्हुटिएको देखिन्छ ।

तर बिनासित्थी मुख बजाउने टपर्टुइय्याँहरूकै भने समाजमा बोलाबाला, हाँकडाँक, चुरीफुरी धेर देखिन्छ । त्यस्ता टपर्टुइयाँहरूका घुर्की, धाक कम्ति हुँदैन । कुनै साहित्यिक, सामाजिक वा सांस्कृतिक कार्यक्रममा वरको सिन्का पर नसार्ने खैराते, ढाँटहरू पनि देखिन्छन् । यस्ता लोतिखोरे साहित्य-संस्कृतिप्रेमीहरू चक्षुलज्जाको डरले मात्र गाउँ-घरतिर देखिन्छ । केही सानो कामको भार दिइयो कि “…छँदैछु नि !” भनी हल्ला गर्ने कम्ति हुँदैन । तर यी “…छँदैछु नि !”-का भक्तहरूले वरको सिन्का पर सारेको देखिन्न ।

समाजमा सामान्य प्रतिष्ठित, हुने खाने कतिपय तथाकथित समाजप्रेमीहरूकहाँ चन्दा सङ्ग्र्रह गर्न जाँदा प्रायः रित्तो हात नै फर्किनुपर्छ । यस्ता तथाकथित समाजसेवक भनाउँदाहरूले चन्दा दिन सोझै अस्वीकार नगरे पनि ‘भाइहरूको लागि छँदैछु नि !’ भनेर टकटकाउँछन् ।

भाषा-साहित्यप्रति अच्चकाली मोह भएको नाताले बेला-बखत साहित्यिक कार्यक्रम संयोजन गर्ने मान्छे म । समाजमा प्रतिष्ठित व्यक्तित्वहरूबाट सामान्य चन्दा सङ्ग्र्रह नगरी यस्तो कार्यक्रम संयोजन गर्न हम्मेहम्मे पर्छ । यस काममा मलाई धेरैले सघाउ पुऱ्याए पनि “हाम्रो साहित्य-संस्कृतिको संरक्षण-संवर्द्धन हुनुपर्छ… भाइले गर्नुपर्छ, मबाट सबै तहको सहयोग हुन्छ” भनी मुखैले मात्रै ठिक्क पार्ने एकाध ढाँट साहित्य-संस्कृतिप्रेमि भनाउँदाले ‘…छँदैछु नि !’ भनी मलाई धेरैपल्ट भड़खालामा हालिसकेका कुरा किन लुकाउनु ?

हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, यो ‘…छँदैछु नि !’ भन्ने अपूणर् वाक्यले मलाई गतिलै वज्राघात गरेको छ । यसकारण मलाई ता लाग्छ, हाम्रो नेपाली भाषामा ‘…छँदैछु नि !’ भन्ने चारवटा वणर् किन मिलेर भाँड़्भैलो मच्चारहेछ ? म सोंच्न पनि सक्तिनँ । “…छँदैछु नि !” भन्ने अपूणर् अधूरो वाक्यमा नकारात्मक वा टकटकाउने वा टाटो मार्ने भाव पाइन्छ । अप्रत्यक्ष रुपमा कसैलाई टार्नु वा टकटकाउनु वा टाटो मार्नु हो भने, ‘तपाईहरू गर्दै गर्नोस् न… छँदैछु नि !” भनि दिएपछि काम फत्ते । कति सजिलो अनि मिठाइलो बहना । साँप पनि ढ्याङ, लट्ठी पनि जस्ताको त्यस्तै ।

हाम्रो नपाली भाषामा ‘…छँदैछु नि !’ भन्ने वाक्य नै नहुनुपर्ने भन्ने मेरो दावी मात्र होइन यो ‘…छँदैछु नि !’ शब्दसित गतिलो घृणा पनि छ । आफू जोगिन, पन्छिनु, टाढि़नुलाई हाँसी-हाँसी ‘…छँदैछु नि !’ भन्यो; सकियो । कति सजिलो वाक्य ‘…छँदैछु नि !’ हई !
नेताहरूको ओँठैमा तुर्लङ्ग-तुर्लुङ्ग झुण्डिएको हुन्छ यो ‘…छँदैछु नि !’ चुनाउको मुखमा बाह्र-बत्तीसका कुरा फलाक्दै भन्छन्- “यसपाली भोट दिएर मलाई विजयी बनाउनुहोस्… तपाईंहरूका लागि ‘…छँदैछु नि’ !” बस…चुनाउपछि ‘….छँदैछु नि !’” भट्याउने नेताहरूको अनुहार देख्न पाए ता के । फेरि पाँच वर्षको निम्ति आश्वासनको भँड़ारमा ओथ्रा बस्छन् ।

सामान्य नाम चलेका साहित्यकारहरूलाई आफूले प्रकाशन गर्न लागेको पत्रिकाको निम्ति रचना माग्दा “भाइहरूले रचना बटुल्दै गर्ने ‘… छँदैछु नि’ भनी रित्तो हात फर्काएका कुरा ढाँट अवश्यै होइन । साहित्यप्रति चासो राख्नेहरूकहाँ जानोस् कुरा ता उही ‘…छँदैछु नि !’ कै आउँछ ।

युद्धभूमिमा ‘…छँदैछु नि !’ ठ्याम्मै चल्दैन । सेनापति आफू ढुक्कैले बसेर तिनका सेनाहरूलाई “तिमीहरू शत्रुलाई फायर गर्दै गर…‘…छँदैछु नि !’ कदाचित् भन्दैनन् । युद्धभूमिमा कि ‘कि मर ; कि मार’ भन्ने कुरा आउँछ । दण़्डी अभियानमा महात्मा गान्धीले हजारौं-हजारौं आन्दोलनकारीलाई चम्काएर “तिमीहरू दण्डी अभियानमा हिँड़्दै गर…म ता छँदैछु नि !” भनी आफू बाख्राको दूध मुख मिठाउँदै खाइरहेनन् । तर गान्धी स्वयम् दण्डी अभियानमा अग्रिम पङ्क्तिमा अंशग्रहण गरेर फिरङ्गीहरूलाई आछु-आछु मात्र पारेनन् तर दण्डी अभियान सफल पारी छाड़े । त्यसरी नै खलङ्गाको युद्धमा फिरङ्गी विरुद्ध युद्ध गर्ने गोर्खा नर-नारी योद्धाहरूलाई चम्काएर वीर बलभद्रले “तिमीहरू फिरङ्गी विरुद्ध युद्ध गर्दै गर…म ता छँदैछु नि !” भनेर टाटो मार्ने काम गरेनन् ठ्याम्मै । आफू पनि युद्धभूमिमा होमिएर वीर गोर्खा सेनापतिको परिचय दिएको इतिहास साक्षी छ ।

खासै कुरा भन्नु हो भने, गाउँ-समाज-देश-भाषा- साहित्य-संस्कृतिप्रति साँच्चै भुतुक्कै र हुरुक्कै हुनेहरूको शब्दकोशमा ‘…छँदैछु नि !’ जस्तो घिनलाग्दो, नकारात्मक वाक्यले पटक्कै वास पाएको देखिँदैन ।

‘नदिने बज्यै आइतबार बार्छिन्’ भनेजस्तो ‘…छँदैछु नि !’ वाक्य उच्चारण गर्नु नै उम्किने बहना मात्र हो भन्ने स्पष्टै बुझिन्छ । हाम्रो समाजमा हाम्रो साहित्य, संस्कृति तथा सङ्गीतले भनेजस्तो उन्नति र प्रगति गर्न नसकेको मुख्य कारण पनि यही ‘…छँदैछु नि !’ नै हो भन्ने मलाई लाग्छ । ‘…छँदैछु नि !’ वाक्य भट्याउने टपर्टुइयाँ, बगम्फुसे समाजसेवक भनाउँदाहरूले नै यो ‘…छँदैछु नि !’ शब्दलाई बदनाम पारेका छन् ।

‘…छँदैछु नि !’ -को ढाँट, बगम्फुसे आश्वासनले हाम्रो जातिलाई भीरको चिण्डो उँधो न उँभो भनेजस्तै बनाएको इतिहास बखानिरहने आवश्यक्ता देख्तिनँ म । ‘…छँदैछु नि !’ को हतियार प्रयोग गरी हाम्रो आइडेण्टिटीको भाग्यमाथि बुर्कुसी मारेर रजाइँ गर्नेहरू पनि हामीले हाकाहाकी देख्यौं । ’…छँदैछु नि !’ भनी डङ्का पिटी तपाई-हामी सोझा-सिधालाई लोप्पा ख्वाएर आफू मौन बसी हाम्रो रणनीतिलाई भकिम्लोको काठजस्तै बनाइदिने छली, ढाँट, ठगार पनि हामीले नदेखेका होइनौं ।

खासै कुरा भन्नु हो भने, ‘…छँदैछु नि !’ भन्ने अपूरो वाक्य अब हामीले हाम्रा जिब्राले उच्चारण गर्नु पूरै बन्द गर्नुपर्छ । कसैले पनि अब उसो ‘…छँदैछु नि !’ तपाई-हामीलाई भन्छ भने भन्नेको जिब्रो थुतेर धुरी कटाउनुपर्छ ।

‘…छँदैछु नि !’ शब्द हाम्रो जातिको निम्ति अत्यन्तै घातक हो भन्ने कुरा आज अहिल्यै नै सार्वजनिक गर्नुपर्छ । नत्र “जत्ति नै गरे पनि बराज्यू गेड़ा ता बाहिरै” भनेजस्तो मात्र हुन्छ ।

’…छँदैछु नि !’- नाश होओस् !
’…छँदैछु नि !’- स्वाहा होओस् !!

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x