बद्रीप्रसाद दाहाल ‘भस्मासुर’टिकट महात्म्य
यस्तो भ्रान्तिकारी अशान्तकारी दिशाविहीन महात्म्य कति दिने हुन्छ भन्ने बारेमा साम, दाम, दण्ड, भेदका मर्मज्ञहरूसमेत कुनै भविष्यवाणी गर्न नसक्ने कुरा आधुनिक नारदहरूलाई बताइरहेका छन् ।

यतिखेर देशव्यापी रुपमा खुराफाती टिकट महायज्ञको थालनी भरमारसित हुॅदैछ । दलहरू मार्फत माऊ नेताका निकट, विकट, फोकट सबै मनुवाहरू सिफारिसको लागि लामो समयपछि चिल्ला कारमा जिल्ला सवारी भएर भिल्लता प्रदर्शन गरी आफ्नो नाम आफै सिफारिस गरेर तमासा देखाउने कुकार्यले करिब करिब फाइनल रुप लिइसकेको छ भन्दा फरक पर्दैन । दर्जनौं प्रत्यासीहरू कुकुर बिरालो बनेर प्रत्यक्ष एवम् समानुपातिकमा आफ्नो औकातै बिर्सी आकाशे यात्रा भरेको देख्दा ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ उखान मजैले चरितार्थ भैरहेको छ ।
यो टिकट महायज्ञका कथित सिफारिसे कुपात्रहरू थरीथरीका विशेषताले भरिएका छन् । समावेशीको नाममा दर्ज भएका कुरङ्गकर्मीहरू हेर्दा भदौरे जात्राको भक्कूको झाँकीको संझना हुन्छ । सायद भदौ नै महिना परेर होला यसमा हजारौं लाखे, गाईजात्रा र हिलेजात्राका भद्रगोले जोक्कर, बुख्यॉचा अर्थात् कार्टूनहरूकै बिगबिगी मच्चिएको देख्दा मान्छे न्वारनदेखिकै बल झिकेर खित्का छोड्न पुगेका छन् । त्यसै गरी प्रत्यक्षतर्फ ओठ निचोर्दा दूध आउनेदेखि पिण्ड-तर्पण खाने बेलाका हजुराआमा र हजुर्बासम्म टिकट लिन टिमटिम परेर ठिमठिम हिंडेको अपची दृष्य आँखामा ठुङ मार्न आइपुगेका छन् । दलहरूले क्राइटेरियाको ढ्वाँस पछारेर फर्मान जारी गरेको देखाइए पनि ती सबै टिकिट्यॉस बन्न पुगेका छन् सिफारिस जात्राका छिचोलिन नसक्ने भीडलाई देखेर ।
मूलतः टिकटार्थीहरूमा आँटी, ढाँटी, खाँटी, क्वाँटी, ग्याँठी, बिग्रिएका र भत्किएका गणेश तथा हनुमान, ग्रामचरीदेखि नगरपरीसम्मका थरीथरी बिब्ल्यॉटा सावित्री सतीहरूको लर्को थामिसाध्यै छैन । क्षेत्रीय र जिल्ला कमिटिका टाउके, अरु लाउके, आउरे, बाउरे, धुपौरे र न्याउरेहरूले उमेद्वार छनोटमा उदारवादी भएको ढ्वाँङ रचेर सबै काउसो केन्द्रलाई पर्गलिदिएर आफू पानी माथिको ओभानो बन्ने चम्बू स्यालको जम्भू भूमिका मजैले निभाए । यसरी निणर्ायक बन्नुपर्ने दलीय संरचनाका हाँगाबिँगा अनावश्यक रुपमा लुला र खुकुला हुनु भनेको शक्ति विकेन्द्रीकरण सिद्धान्तलाई कुशपानी समाउनु हो । पराक्रममाभन्दा परिक्रमामा विश्वास गर्ने, कार्यकर्तारुपी गोडामाभन्दा नेतारुपी टाउकामा निश्वास फेर्ने, चाकरी र चाप्लुसीलाई प्रश्वास सम्झने, नातामा माथा अग्ल्याउने, अवैध लित्का र लुटको कान्छी नानी सुप्रिमोलाई चढाएर आफू टिकट लिई सङ्लिने, पाखुरा सुर्किई तिघ्रा ठटाएर बुथ कब्जा गर्ने यूथ छ भन्दै रन्कने, अनि कतिपय त प्रभुमातहत आकाशवाणी भित्र्याउने र सुप्रिमोलाई कुप्रिमो बनाउने धम्की पछारिरहेका रमिताले पनि उत्तिकै गति लिइरहेको छ ।
भर्खरै अर्को पार्टीबाट प्रवेश गरेका तात्ताता भ्रान्तिकारीहरू टिकट आफूले नपाएमा धुन्धुकारी चरितचर्या देखाउने चेतावनी दिएर सुप्रिमोको दरबारमा तरबार नाच देखाइरहेका छन् । उता डन-उपडन, चुल्ठे, कुण्डले र शुण्डमुसुण्डका बथान सकीनसकी अङ्ग फुलाएर नेताका मटानलाई रङ्गशालाको मैदान बनाएर त्राहिमाम्को परिवेश खडा गरिरहेका छन् टिकटकै लागि । अर्का थरी क्वॉटी व्यक्तित्वका हुल आफ्नो हातमा टिकट नथमाए जोइल जान सक्ने गम्भीर वार्निङ पस्किएर छेरुन्जेल भकुरी नेताले नटेरुन्जेल अनसन बसी भोक हडतालकै शर्म लुट्ने दमाहा बजाइरहेका छन् । अर्का थरी आफूलाई नेताका चरी र परी हूॅ भनी गर्व गर्ने मैयासाहेबहरू टिकट नपाएमा यौन दुराचारको मुद्दा प्रकाशमा ल्याउने थ्रेट पछारिरहेका छन् । लगत्तै आएका अन्य भीडमा विद्यार्थी नेता रौद्र रसमा कुर्लिएर भन्यो अब स्कुलदेखि विश्वविद्यालयसम्म बन्द हुन्छ हामीले टिकट नपाए । हस्याङफस्याङ गर्दै मजदुरको प्रतिनिधि बोल्यो अब देशभरका कलकारखाना बन्द हुन्छन् हाम्रो हातमा टिकट नथमाएमा ।
यसै गरी पत्रु पत्रकार, भाटगिरी कवि, टाटगिरी खाँटी कार्यकर्ता, चुच्चे, बुच्चे, फुच्चे, लुच्चे सबै टिकटे महाकुम्भ भर्न कान्तिपुरी नगरीको सुप्रिमो निवासलाई आवास बनाएर शीर्षस्थहरूको माथापच्ची गराई टिकट महात्म्यको यो विशाल भद्रगोले यज्ञमा कुकर्ता बनिरहेका छन् । यस्तो भ्रान्तिकारी अशान्तकारी दिशाविहीन महात्म्य कति दिने हुन्छ भन्ने बारेमा साम, दाम, दण्ड, भेदका मर्मज्ञहरूसमेत कुनै भविष्यवाणी गर्न नसक्ने कुरा आधुनिक नारदहरूलाई बताइरहेका छन् । टिकटको जोप्पाइमा कति दिन हाइफाइ गरेर हिंड्न पर्ने हो कुनै पनि माइकालाल ज्योतिषीले पनि अहिलेसम्म ठम्याउनै सकेको छैन । यस्तो अनिश्चयको भुँमरीमा टिकट महायज्ञको अनुष्ठान चलिरहेछ, चलिरहेछ । समाप्तम् ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































