कृष्ण प्रधाननासिकागर्जन
लु आउऩोस् न एकदिन मतोमिलाएर हामी दुई एउटै खाटमा सुतुँ । हेरौं न कसको नासिकागर्जन कस्तो र कतिको रहेछ । आफूलाई ता घुरे जस्तो लाग्दैन ब्यारे !

लु भन्नोस् ता कति प्रकारका गर्जन तपाईंले आजसम्म सुन्नुभएको छ ? नेतागर्जन, बाघगर्जन, सिंहगर्जन उत्ताल समुद्रगर्जन, बादलगर्जन ? नेतागर्जन सुन्नु अनि बेस्मारी थपड़ी बजाउनु कुनै जनसभामा हाजिर हुनुपर्यो । यसको निम्ति तपाईलाई अवश्यै पनि थपड़ीभत्ता जुर्ने नै हो । लु बादलगर्जन पनि बर्खाको समयमा बेलाबखत निःशुल्क सुन्नु पाइन्छ । तर समुद्रगर्जन, बाघ, सिंहगर्जन सुन्न तपाईले पैसा खर्च गर्नैपर्ने हुन्छ । बाघ-सिंहगर्जन सुन्न तपाईंले चिडियाखाना जानैपर्ने हुन्छ । त्यो सुन्न पनि गतिलै भाग्य चाहिन्छ । कथङ्कल चिडियाखानामा बाघ-सिंह देखिएन भने सर्वनाश । समुद्रगर्जन सुन्न कतै समुद्र छेउतिर जानैपर्यो । त्यसको निम्ति पनि दमड़ी नै चाहियो ।
तर म जुन गर्जनको कुरा झिक्दैछु त्यो गर्जन दमड़ीबिनै सुन्न पाइन्छ । एक कौड़ी फुर्मास नगरी घरैमा बसी गर्जन सुन्न सक्नुहुनेछ । बस्, सुनसान रात हुनुपर्छ…तपाई सुतेकै खाटमा थरी-थरीका गर्जन सुन्नुपाउनु हुनेछ । न दमड़ी खर्च, न अन्त कतै जानुपर्ने कष्ट । यति हो तपाईंको कानले त्यो गर्जनको डेसिबल थाम्न सक्नुपर्यो । घरभित्रै निःशुल्क गर्जन सुन्ने जिम्मा तपाईको कानको हो । बुझ्नुभो नै, मैले कुन गर्जनको कुरा गर्दैछु । ज्यू हजूरले ठिकै भन्नुभो, हजूरले नासिकागर्जनको कुरा गर्नुभा होइन ? हजूर ठिकै भन्नुभो, छतछती भन्नुभो । नाक नभए ता तपाईं साँच्चै चिनियाँकै देवता ।
नासिकागर्जन । नासिका शब्दको अर्थ हुन्छ घुर्ने काम वा घुराइ ।
मलाई पनि घरभित्रै नासिकागर्जनले राती सुत्नै नसक्ने बनाएकोले ईएनटी स्पेशलिष्ट (नाक-कान-गला) विशेषज्ञकहाँ गएर यसबारे सोधेको थिएँ । विशेषज्ञको भनाइमा अधिकांश क्षेत्रमा पैँतीस नाँघ्यो कि घरमा राती नासिकागर्जनको उपद्रो आरम्भ हुन्छ । तर ढुक्क के मा लागेको छ भने, यो नासिकागर्जन कुनै सरुवा रोग होइन न कि कुनै हेरिडिटि नै । जीवनहानीको समस्या नभए पनि मानहानीको सम्भावना भने सोह्रै आना ग्यारेण्टेड । यो नासिकगर्जन स्वास्नीमान्छेले भन्दा पनि लोग्नेमान्छेले नै धेर भोग्नुपर्ने हुन्छ ।
मेरो घर छिमेका रात-बिरातमा दुई लोग्नेस्वास्नीमाझ घमासान भनावैरी सुनिन्छ । कारण के हो बुझ्न सकेको छैन । रातको यस्तै एक वा डेढ़ बजेको हुँदो हो, म भाते निँद्रामा थिएँ । कोऩ’नि को कराएको कर्कश आवाज मेरो कानमा आएर थुरियो । हत्त न पत्त झ्यालको ढोका खोली हेरेको ता…पल्लोपट्टि फ्ल्याटकी मिसेस बूढ़ाथोकी रहिछन् । उनी उनको झ्यालबाट चिच्याइऩ्- सुन्नु भो सर…डिस्टर्ब गरेँ हुँला सरी…हेर्नोस् हाम्रो बिहे भएको तीस-पैँतिस वर्ष भइसक्यो… दस वर्षदेखि सहँदै आएकी छु…भयो…अब सक्तिनँ यो मान्छेसित एउटै खाटमा सुत्नु । यस्तो घुर्छन् …आमामामा…यस्तो तोप पड़ेकेकोजस्तो घुराइ मैले कहिल्यै सुनेकी थिइनँ । साँढ़े दस बज्यो कि घ्वारघ्वार शुरु हुन्छ यो मान्छेको । कति सहनु लु भन्नोस् ता सर ? यस्तो लाग्छ कि सर…यो मान्छेको नाक सनासोले कि चाहिँ लुगा सुकाउने क्लिपले चेपिदिउँ । त्यस रात मिष्टर बूढ़ाथोकीको नाक सनासोले वा क्लिपले चेपिन् कि चेपिनन् मलाई थाहा नभए पनि । तर यो कुरा मिष्टर बूढ़ाथोकीले मर्निङ वकमा जाँदा उनकी श्रीमतीको नासिकागर्जनबारे रामकहानी कति चोटि भनिसकेका छन्…छन् ।
हुन पनि हो मान्छे चाहे ऊ पुरुष होस् वा स्त्री… नासिक गर्जन किसिम-किसिमका हुन्छन् । किसिम-किसमिका नासिकागर्जन सुन्नु नै हुन्छ भने एकपल्ट रेलको लामो यात्रामा जानोस् । तीन दिन लागोस् गन्तव्यस्थलमा पुग्न । अचम्म-अचम्मको आवाज सुन्नुहुन्छ । कसैको नासिकागर्जन कन्सर्टजस्तो, कसैको ब्याण्डको म्यूजिकजस्तो । कसैको मृदु तर फुटेको काँसको थाल बजाएकोजस्तो । कतिको चाहिँ सिँह-सिँहनीको गर्जनजस्तो ।
हाम्रो गाउँमा कोपिला दिदी छिन् । साह्रै मोटी । उनको नासिकागर्जन सुन्नुभो भने गाउँका भुस्य़ाहा कुकुरहरूजति उनको दैला अघि आएर यति साह्रो भुक्छन् मलाई सुत्नु नै गाह्रो पर्छ । यो घरमा यस्तो डरलाग्दो आवाजमा कराउने कुन चाहिँ जङ्गली जनावर पस्यो होला भनी यी भूस्याहाहरू भन्दा हुन् ।
कुरै कुरामा कोपिला दिदीलाई उनको नासिकगर्जनबारे कुरा निकालेँ- एक राश हाँस्दै कोपिला दिदी बोलिन्- के कुरा गर्नुहुन्छ सर ? मेरो अथवा नारीको मात्र नासिकागर्जन डरैलाग्दो हुन्छ भन्ने छैन । के तपाईंका दाज्यू राति नासिकागर्जन गर्दैनन् । जति दोश मलाई वा नारीलाई नै ? भन्नोस् ता नारी पुरुष बराबरी होइनन् ? आजका नारीहरू माउण्ट एभेरेष्टसम्म पुगिसकेका छन्, स्पेश सटलमा बसी महाकाश विचरण गरिसकेकी छन् । नारीहरूले पनि पुरुषझैं नै समान अधिकार पाउऩुपर्छ भन्ने तपाईहरूनै हइन ? यसकारण पुरुषहरूसित हामी नारीहरूले नासिकगर्जन गर्न पाउँदैनन् ? त्यस्तो ता कहाँ हुन्छ हौ सर ?
केही दिन अघि मुम्बई जाँदाको कुरा । दुईदिने लम्बेतान पट्यारलाग्दो यात्रा । दस बजीदेखि उता किसिम-किसिमका नासिकागर्जन सुन्ने थालेँ । मानौ…रेलको डब्बाभित्र अन्तर्राष्ट्रिय नासिकगर्जन प्रतिद्वन्द्विता भइरहेछ । म आफू एकजना साधारण श्रोता । मेरो कम्पार्टमा सुतिदिने महोदयको नासिकागर्जन शुरु । उनको नासिकगर्जनलाई वज्रनिनाद नै भन्नु मन लाग्यो । वज्रकै आवाज काटीकुटी । अन्य़ कम्पार्टतिर सुरिलो, कसैको बेसुरा । कोही चाहिँ रेल गुड़ेको छन्दसित ताल मिलाउँदै नासिकागर्जन । मलाई निँद्रा परेको छैन…किताब पढ़्दै थिएँ.. अर्का सहयात्री पनि यी नासिकगर्जनको समवेत ध्वनिले सुत्न सकेन रहेछन् । मेरो सामु आएर खैनी मोल्दै उनको विद्रोह वमन गर्न थाले- हेर्नोस् ता यी मान्छेहरू घुरेका… यी मोराहरूको नासिकागर्जनले तपाई मलाई रातभरि सुत्न नदिने ? यो ता भएन है सर । आर्मीको अलग्गै कम्पार्टमेण्ट, नारीको अलग्गै कम्पार्टमेण्ट, प्रतिबन्दीहरूका निमित्त आरक्षण भएजस्तै यी घुर्नेहरूलाई रेलले किन अलग्गै कम्पार्टमेण्ट बनाउँदैन हँ ?
उनको तर्कसित म सहमत नभए पनि उनलाई सान्त्वना दिन पनि भनिदिएँ, होइन कम्पार्टमेण्टमा नाइन टि नाइन पर्सेण्ट घुर्छन् । सायद यसमा तपाई र म पनि सामेल छौं कि ! नासिकगर्जवालहरूका निम्ति त्यसो गर्न नसके पनि एउटा कुरा चाहिँ हुनुपर्यो..त्यो के भने तपाई-हाम्रो सबैको नाक फोल्डिङवाला हुनुपर्ने । ट्रेन, बस, हावाजहाजमा चढ़्ने बेलामा फोल्डिङवाला नाकजति खोलेर बुझाइदिनुपर्ने..। ओर्लियो अन्त फेरि फिट गरेर लायो ।
उनी मरिमरि हाँसे मात्र ।
नासिकागर्जनको परिणाम कति डरलाग्दो र भयानक हुन्छ सोबारे निम्न घटना यहाँ राख्दा मात्र खुलस्त होला । मेरा एकजना अति मिलनसार बन्धुकी छोरी जस्ती मुडी छिन्…साह्रै छुच्ची पनि छिन् । बिहे गर्ने उमेर भए पनि बिहे भनेपछि उनलाई एलर्जी हुन्छ । तर घरको लिँड़ेढिपीमा फकाएर फुस्लाएर उनलाई बिहे गराउने कुरो मिल्यो । तर त्यो पनि शर्तसापेक्षमा । उनको निम्ति रुप, गुण, गह्रौ पाकिट भएको लोग्ने चाहियो । व्यवस्था भयो । भव्य रुपमा शुभ बेही सम्पन्न भयो । त्यसपछि सोही प्रतिक्षित मधुरमिलनको मिठाइलो अनि टेसिलो रात । बिहेमा खेल-ठट्टा, नाच-गान, मद-मदिराको छेलोखेलो । सबै निम्तारुहरू प्रस्थान भएपछि सुताइ । बेहुला बेहुली राति आफ्नो कोठामा सुत्न गए । पति महोदय रेँ-रेँ घुर्न थाले । कहिले वा डिजेल, कहिले स्टिम इञ्जिन फेरि कहिले ट्राफिक पुलिसको सिटीजस्तो वा कहिले फेरि प्रेशर कुकरको सिटी बजेजस्तो आवाज नाकबाट निस्केरहेछ अनवरत् । बस त्यसै ता मान्छे एनाकोण्डभन्दा आगर । यस्तो नासिका गर्जन सहन नसकी भोलिपल्ट बिहानै चरा पिञ्जड़ाबाट सुइत्तै ।
नासिकागर्जनले कतिको घर भत्केको छ । कतिले डिभोर्स फाइल समेत दर्ता भएको छ ।
जब रात पर्छ । लोग्नेस्वास्नी खाटमा पुग्छन्…एकक्षणपछि दुवैको नासिकाविवर अथवा नाके टोड़्की वा नाके ओड़ारबाट सङ्गीतको काष्टिङ म्यूजिक आरम्भ हुन थाल्छ । दैवजना भाते निँद्रामा सुतेका बेला उनीहरूका नासिकागर्जन आरम्भ भएरो बन्द कोठाभरि रुमलिन थाल्छ । दुवै जनाको नासिकगर्जनको डरलाग्दो आवाज तैँछाड़्-मैछाड़् गर्न थाल्छ । एक्लो सुनसान रातमा ता यो नासिका गर्जनले घरको छानु नै उड़ाउँलाजस्तो सुनिन्छ ।
नासिकाविवर (नाकको टोड़्का वा नाकको ओड़ार) सानो हुनेको सानो नासिकागर्जन ठूलो हुनेको ठूलो नासिका गर्जन हुन्छ भने छैन । नासिकाविवर वा नाकको टोड़्का वा नाकको ओड़ार सानो हुनेको पनि नासिका गर्जन खतरनाक हुन्छ । उस्ते डिकुरी मूसाहरू ता त्यो नासिका गर्जनले हार्ट एटेक हुन पनि बेर लाउँदैन ।
एकदिन एउटा घरमा बास बस्न गएको थिएँ । भोजनपछि रात बास भयो । म ओल्लोपट्टिको कोठमा । घरपति बाबै र घरपति आमै पल्लो कोठामा । यसै पनि मधेसका मान्छे म…राती अबेर गरेर सुत्ने मान्छे । नयाँ ठाउँमा हत्तपत्त निद्रा पनि पर्दैन । यस्तै रातको दस बजेको हुँदो हो । ल्यापटपमा म केही कम्पोज गर्दै थिए । पल्लोपट्टिबाट घार-घार र घुरघुर आरम्भ । यसो राम्ररी सुनेको थिएँ दम्पत्तिद्वय नासिकागर्जन तिर पो रहेछन् । एउटा स्याँ…स्याँ…सु….सु…अर्का घ्वार…घ्वार । कहिले बिनायो बजेको जस्तो नासिकागर्जन कहिले ओसिएको ढ्याङरो बजाकोजस्तो नासिका गर्जन । यस्तै अवस्थामा पनि कति बेला निदाएछु..थाहै भएन । बिहान तर्सेर उठेँ अचानक । दम्पत्तिद्वय लाप्पा पर्दैरहेछन् । एकजना भन्छन् तेरा नाक चैँ कुन दिन सिलौटोको लोहोरोले काचाककुचुक पारिदिन्छ । अर्की, तेरो ढोढ़े नाकमा हेर् न सुक्खा खोरसानी डराएर घुरेको बेला घुसारिदिन्छु । के साह्रो पनि घुरेकी । तँ चाहिँ नि घुर्दैनस् होला…मान्छे भने फिष्टाजस्ती, सुगी नाकले कस्तो कानैमा घुरेकी । मेरो नाकको मेरो खुसी । सोँचे यो घुराइले दिनमा कति प्रतिशत लोग्ने स्वास्नी लाप्पा पर्लान् ।
मेरो पनि नासिकगर्जन छैन भन्न सक्दिन न कि तपाईं नै पनि । लु आउऩोस् न एकदिन मतोमिलाएर हामी दुई एउटै खाटमा सुतुँ । हेरौं न कसको नासिकागर्जन कस्तो र कतिको रहेछ । आफूलाई ता घुरे जस्तो लाग्दैन ब्यारे !
०००
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest





































